arrow

मौरीपालनमा रमाउँदै सुरज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
bee.jpg
फाइल तस्वीर

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-१ नयाँगाउँका ३२ वर्षीय सुरज वाग्लेलाई कहिल्यै विदेश जान मन लागेन । विदेशमा गर्ने दुःख स्वदेशमै गरे पर्याप्त आम्दानी हुने र सन्तुष्टि मिल्नेमा उनी विश्वस्त छन् । 

त्यसैले विदेश जानुको साटो वाग्लेले तीन वर्षअघि मौरीपालन व्यवसाय थालेका छन् । मौरीपालनबाट उनले मनग्य आम्दानी गर्दै आएका छन् । 

“विदेशमा गर्ने दुःख स्वदेशमा नै गर्दा आत्मसन्तुष्टिसँगै आम्दानी पनि मिल्छ”, उनले भने, “मलाई विदेश जाने सोच कहिल्यै आएन, स्वदेशमै केही उद्यम गरौँ भन्ने पहिल्यैदेखि लागिरहन्थ्यो ।”

वाग्लेले गत वर्ष मह बिक्री गरेर रू छ लाख आम्दानी गरे । यस वर्ष मङ्सिरमा मात्रै रू तीन लाखको मह बिक्री भएको उनले बताए । 

फूलको रसबाट बनेको मह प्रतिकिलो रू दुई हजार र कटुसको कात्तिके मह प्रतिकिलो रू दुई हजार पाँच सयमा बिक्री हुँदै आएको छ । मह बिक्रीका लागि बजारको समस्या छैन । “मह किन्न घरमै आउँछन्”, वाग्लेले भने ।

वाग्लेले हाल ८० घारमा मौरीपालन गर्दै आएका छन् । जेठ र मङ्सिर मह बिक्री हुने समय हो । मौरीका लागि वनजङ्गलमा पर्याप्त फूल रहेकाले व्यक्तिगत फूल लगाउन नपरेको उनी बताउछन् । 

“मौरीलाई चरनको समस्या छैन”, वाग्लेले भने । उनले महका साथै मौरीसहितको घार पनि बिक्री गर्दै आएका छन् । केही दिनमा एक सय ५० मौरीसहितको घार बिक्री गर्ने तयारीमा वाग्ले छन् ।

“प्रतिघार रू १० हजारमा बिक्री हुन्छ”, उनले भने । कृषि ज्ञान केन्द्रले मौरीसहितको घार खरिद गर्न लागेको हो । 

कृषि ज्ञानकेन्द्रले पाँच सय मौरीसहितको घार माग गरेको वाग्लेको भनाइ छ । फागुनदेखि वैशाखसम्म माउ मौरी बिक्री गरिन्छ । वाग्लेले मौरीपालनका साथै बाख्रापालन पनि गरेका छन् । उनको फार्ममा हाल २४ बाख्रा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ