arrow

धादिङ दूर्घटना : मृत्यु हुनेमा १० पुरूष र ४ महिला, उद्दारको लागि गृहसँग हेलिकप्टर मागियो

logo
प्रकाशित २०७३ असोज ११ मंगलबार
Dhading-hamrakura.jpg.jpeg
काठमाडौं । धादिङ जिल्ला सदरमुकाम धादिङवेशीवाट किन्ताङफेदी जाँदै गर्दा भएको बस दूर्घटनामा १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । कार्यालयका प्रमुख शनद खत्रीले दिएको जानकारी अनुसार १० जना पुरुष र ४ जना महिलाको घटनास्थलमा नै मृत्यु भईसकेको छ ।  
 
उता, जिल्ला प्रशासन कार्यालय धादिङले दूर्घटनामा परेका घाईतेलाई हेलिकप्टरबाट उद्दार गर्नको लागि गृहमन्त्रालयसमक्ष हेलिकप्टर माग गरेको छ । धादिङ जिल्ला प्रशासन कार्यालयका अधिकृत तोरण पराजुलीले दिएको जानकारी अनुसार दूर्घटना लगत्तै मन्त्रालयमा हेलिकप्टरको माग गरेर पत्र पठाईसकिएको छ । 
 
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले दिएको जानकारी अनुसार सदरमुकामबाट झण्डै ५ घण्टाको बाटोमा रहेको उक्त स्थानमा पुग्न ढिलो हुने भएकोले हेलिकप्टरबाट उद्दार गर्ने तयारी भईरहेको हो । 
 
अहिले सदरमुकामबाट डिएसपी दीपेन्द्र पंजियारको नेतृत्वमा प्रहरीको थप उद्दार टोली घटनास्थलतर्फ हिँडिसकेको छ । ना ४ ख ३३१८ नक्बरको बसमा ३० जना भन्दा बढी व्यक्ति सवार थिए । घटनास्थल पुगेका सञ्चारकर्मीहरूले उक्त सवारीको चलानीमा ३१ जनाको नाम भेटिएपनि उनीहरूको नाम स्पष्टसँग बुझ्न सकिने अवस्था नरहेको बताएका छन् ।  
 
पहिरो झरेको बाटोबाट बस पल्टिएर करिब २०० मिटर तल आँखु खोलामा खसेको बताइएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भएको छैन । पहिरो पार गर्न लाग्दा बस पल्टिएर खसेको थियो । बसमा सरकारले भूकम्प पीडिका लागि उपलब्ध गराएको रकम लिएर घर फर्कदै गरेका यात्रु सवार रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ