arrow

‘बर्न वार्ड’ थाल्दै वीर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
NAMS-bir-hospital.jpg
तस्बिर – फाइल ।

काठमाडौं । वीर अस्पतालले ‘बर्न वार्ड’ शुरु गर्ने भएको छ । नेपालको सबैभन्दा पुरानो अस्पतालका रुपमा रहेको अस्पतालको नयाँ भवनमा छिट्टै बर्न वार्ड सञ्चालन हुने अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए । सबैभन्दा पुरानो भए पनि अहिलेसम्म वीरमा बर्न वार्ड थिएन । 

सबैभन्दा धेरै बिरामी आउने भए पनि वीर प्रशासनले यस  विषयमा सोच्न सकेको थिएन । सिमुलेशन ल्याबसहित अन्य सेवामा विस्तार गर्ने गरी छ तलामा निर्माण भएको उक्त भवनको भुइँ तलामा  रेडियोलोजी सेवा, ब्लड बैंक, फार्मेसी, पहिलो तलामा कोभिड नियन्त्रण सेवा र दोस्रो तलामा सर्जिकल वार्ड र कोभिड नियन्त्रण सेवा सञ्चालनमा रहेका छन् ।

त्यस्तै, तेस्रो तलामा सर्जिकल वार्ड र क्याबिन, चौथो तलामा १८ शय्यासहितको आईसीयू सेवा, एचडीयू (उच्च निर्भरता एकाइ), पोस्ट अपरेटिभ वार्ड र क्याबिन रहेका छन् । 

पाँचौँ तलाामा शल्यक्रिया कक्ष र फार्मेसी तथा छैटौैँ तलामा सिमुलेशन ल्याब र कार्यालय सञ्चालनमा रहेका छन् । 

गत वर्ष चैतमा सञ्चालनमा रहेको उक्त उच्चस्तरको सिमुलेशन ल्याब चिकित्सकको सीप विकास गर्न तथा परीक्षण गर्न वीर हस्पिटलको नयाँ भवनमा सञ्चालनमा आएको छ । विश्व स्वास्थ्य सङ्गठनको सहायतामा हरेक प्रदेशको स्वास्थ्य तालिम केन्द्रमा पनि यस्तै सिमुलेशन ल्याब बनाउने योजना रहेको छ । 

प्रादेशिकस्तरका ल्याबमा सिमुलेशन सञ्चालनको लागि वीर हस्पिटलले तालिम प्रदान गर्ने हस्पिटलका प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट प्रा डा रविराम श्रेष्ठले जानकारी दिए । 

उनले भने, “सिमुलेशन ल्याब एक खालको अस्पताल सेटअप नै हो । यो बिरामीलाई जाँच गर्नुभन्दा अगावै गर्ने एउटा परीक्षण गर्ने विधि हो । बिरामीलाई जाँच्दा चाहिने उपकरणका सामान आवश्यकता पर्छ । चिकित्सक नर्स पनि उही हुनेछन् । मात्र बिरामीको सट्टा डमीको विस्तारित रुप हुनेछ ।” सिमुलेशन परीक्षणबाट धेरै हदसम्म चिकित्सकका कमजोरीलाई न्यूनीकरण गर्नमा सघाउ पुर्याउने डा श्रेष्ठले बताए । 

उक्त ल्याबमा चिकित्सकले एउटै रोगलाई पटक–पटक परीक्षण गर्न सकिने हुँदा परीक्षणको क्रममा आफ्ना कमीकमजोरी देखाउने र उक्त डमीमा सफ्टवेयर जडान हुने हुनाले बिरामीमा पर्न जाने पीडालाई पनि महसुस गर्न सकिने हुँदा सिकाइको लागि यो विधि अति उत्तम हुने सह प्रा डा ऋतु प्रधानको भनाइ छ । 

चिकित्सको आफ्नो सीप परीक्षण गरी आफ्नो आत्मविश्वासलाई अभिवृद्धि गर्न मद्दत पुर्याइ बिरामीमाथि पर्न जाने चिकित्सकको कमजोरीलाई न्यूनीकरण र स्वास्थ्य सङ्कट देखा पर्दा त्यसलाई व्यवस्थित गर्नमा समूहमा परीक्षण गरी उपयुक्त तरिकाले जाँच गर्नमा ठूलो सघाउ पुर्याउनमा महत्वपूर्ण योगदान गर्नेमा उनको भनाइ छ । 

विकसित मुलुकमा अस्पतालको भवन नै सिमुलेशन ल्याबको व्यवस्था भए पनि वीर अस्पतालमा भने नर्सिङ साइड (डेलिभरि सेवा) र मेडिकल साइड गरी दुई सिमुलेशन ल्याब सेवा सञ्चालनमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ