सरकारले सकेन इमरानलाई पक्रन, बीस घण्टादेखि प्रयास जारी
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
956
Shares
तस्बिर – फाइल ।
इस्लामबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानलाई पक्राउ गर्ने सरकारको प्रयास जारी रहेको छ । उनलाई गिरफ्तार गर्न इस्लामावाद प्रहरी लाहोरस्थित खाननिवास पुगे पनि प्रहरी पक्राउ गर्न सफल भएको छैन ।
बीस घण्टादेखि जारी प्रयासलाई खानका समर्थकले विफल पारिरहेका छन् । प्रहरी र खानका समर्थकबीच झडप भएको छ। खाननिवास बाहिर जम्मा भएका हजारौँ समर्थकले खानलाई पक्राउ गरिए पाकिस्तानमा दंगा भड्किने चेतावनीसमेत दिएका छन् ।
भ्रष्टाचार र आतंकवादसम्बन्धी मुद्दामा, एक र्यालीलाई सम्बोधन गर्ने क्रममा महिला न्यायाधीशलाई धम्की दिएको, प्रधानमन्त्री रहेका बेला राज्यका नाममा प्राप्त भएका उपहार बेचेर आर्थिक अपचलन गरेको लगायतका अभियोगमा उनलाई गिरफ्तार गर्न लागिएको इस्लामावाद प्रहरीका अधिकारीहरूले बताएका छन्।
गत अप्रिलमा संसदमा विश्वासको मत नपाएका खानले सत्ताच्युत भएपछि आमचुनावको माग गर्दै आएको बेला खानलाई पक्राउ गर्ने प्रयास गरिएको हो ।