arrow

कांग्रेसभित्र मन्त्री बन्न तँछाड–मछाड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
congress-nc-party-office-hq.jpg

काठमाडौं । नेपाली कांग्रेसले आइतबार सरकारमा सहभागी हुने निर्णय गर्यो । संसद भवनमा बनेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज विश्वासको मत दिँदै सरकारमा जाने निर्णय गरेको हो । 

उक्त निर्णयपछि भने मन्त्री बन्नका लागि तँडाड–मछाड नै बढेको छ । हुनत नेकपा एमाले सरकारबाट बाहिरिएपछि कांग्रेसको पहुँच सरकारसम्म पुगेको थियो । अब कांग्रेसले सरकारमा जाने बाटो कुरिरहेको छ ।

त्यसयता राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले बाजी मारेको छ ।अब पालो सरकारमा जाने हो । आज प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेसको सरकारमा जाने ढोका पनि खुल्नेछ । 

कांग्रेसले त्यसका लागि मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलत दृष्टिगत गरेर चयन गर्ने निर्णय गरेको छ । 

अहिलेसम्म कांग्रेसले कतिवटा मन्त्रालय पाउने र के के मन्त्रालय पाउने भन्ने पनि टुंगो भएको छैन । कांग्रेसका केही नेताहरु पहिले मन्त्रालयको टुंगो लगाउनु पर्नेमा छन् । 

यसबारे न त सभापति शेरबहादुर देउवाले केही बताएका छन् न त प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै केही बोलेका छन् । 

विभिन्न सूत्रका अनुसार गृहमन्त्रालयमै माओवादी, कांग्रेस र नेकपा एकीकृत समाजवादीको हानथाप रहेको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिइएपछि प्रचण्डले पार्टीभित्रै आलोचना खेपेका थिए । 

कांग्रेस गृह आफूले नै लिन चाहन्छ भने अहिलेको गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल आफ्नै दलले गृह सम्हाल्न पाउनु पर्ने अडान राखेका छन् । 

पछिल्लो स्रोतका अनुसार कांग्रेसले गृहप्रति त्यति वास्ता देखाएको छैन । कांग्रेसले अर्थ मन्त्रालयमा चासो राखेको छ । माओवादीका पूर्व अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय आफूले पाउनु पर्ने विषयलाई माओवादीको आफ्नो सर्कलमा वृहत पारेका छन् । 

तर गठबन्धनमा धेरै दल भएकाले शर्माको त्यो अभिलाषा पूरा हुने देखिन्न । अर्कातर्फ सबैभन्दा ठूलो दल भएको नाताले गृह र अर्थ आफूले नै लिनुपर्नेमा कांग्रेस नेताहरुको जोड रहेको छ । 

त्यति हुँदाहुँदै पनि सभापति देउवा र उनकी पत्नी सांसद एवं केन्द्रीय सदस्य आरजू राणा देउवा जे चाहन्छिन् त्यही हुने संस्थापन निकट स्रोत बताउँछ । अहिलेसम्म कांग्रेसले कुनै पनि सांसदलाई मन्त्री बन्ने कोटामा राखिनसकेको बुझिन्छ । भित्रभित्र भने सबै सेटिङ भइसकेको बताइन्छ । 

कांग्रेसले सरकारमा जाने आधार तय गरेर मन्त्री बन्ने रहरलाई थप साँघुरो पारेको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत यिनै आधारलाई केन्द्रमा राखेर नेतृत्वले सरकारमा जाने सदस्यहरुको नाम तय गर्ने बताउँछन् । 

उनी धेरै कुरा खोल्न चाहँदैनन् । नेतृत्वको ‘किचन क्याबिनेट’ मा भए पनि उनले सन्तुलन मिलाउने बहानामा आफूलाई सबै अनभिज्ञ राख्दै आएका छन् । 

उनकै नेतृत्वमा कांग्रेस सरकारमा जान सक्ने सम्भावना पनि उत्तिकै देखिन्छ । यद्यपि उनी नेतृत्वकै जिम्मामा यो विषयलाई छाड्छन् । 

सभापति शेरबहादुर देउवाले आफ्नो गुटकालाई अर्थमन्त्री दिन चाहिरहेका छन् । जसका लागि डा. महत उपयुक्त पात्र हुन सक्छन् । त्यसो त यसअघि नै अर्थमन्त्री भइसकेका ज्ञानेन्द्रबहादुर कार्की पनि लाइन नै छन् । उनी पनि देउवा पक्षकै हुन् । त्यतिमात्र हैन पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणा र विनोद चौधरी पनि अर्थमन्त्रीको लाइनमा छन् । 

अझ रमाइलो पक्ष त के भने नेतृत्वले चाहँदा नचाहँदा पनि नेपाली कांग्रेसका युवाहरुको एक तप्का भने महामन्त्री गगनकुमार थापालाई अर्थमन्त्री दिनुपर्छ भन्दैछ । युवाहरु गगन थापा सरकारमा जानुपर्छ र अस्तव्यस्त अर्थतन्त्र सम्हाल्नुपर्छ भन्दैछ । 

युवाहरुले गगनसँग सबैभन्दा ठूलो नेटवर्कको टिम भएको, प्रोजेक्ट गभर्मेन्टमार्फत गरेको कामलाई मूर्त रुप दिने सन्दर्भमा अन्तर्राष्ट्रिय नेटवर्कसमेत भएको, विश्व बैंकसँग जोडिने क्रममा लामो समयदेखि सांसदहरुको बोर्डमा रहेको, ओपन माइन्डेड– ज्ञानको हिसाबले पनि खुला रहेको, समाजको सबै कुरालाई सुन्न सक्ने, र पटक पटक देशको अर्थतन्त्र कसरी सुधार गर्न सकिन्छ भनेर अर्थका विज्ञ समूहसँगै रहेर काम गरेको उनीसँग अनुभव भएको बताउने गरेका छन् । 

महामन्त्री बन्दा लोकप्रिय मत पाएकाले पनि कुनै गुट नभनी गगनलाई अर्थमन्त्रीको जिम्मा दिनुपर्नेमा कांग्रेसी युवाहरुको मत छ । उनले छोटो समय स्वास्थ्य तथा जनसंख्या मन्त्री हुँदा बनाएका योजनाहरु सफल भएकाले पनि गगनले पाउने जिम्मा पूर्णरुपले निभाउन सक्छन् भन्ने युवाहरुलाई विश्वास छ । 

यद्यपि नेतृत्वले नचाहँदासम्म गगन मन्त्री नबन्ने तीतो यथार्थ छलङ्ग छ । त्यसो त स्वयं गगनले पनि नयाँ अनुहारलाई अवसर दिनुपर्ने लबिङ गरिरहेका छन् । सो क्रममा आफू मन्त्री नबन्ने बताइसकेका छन् । 

तर परिस्थिति उनलाई खोज्यो भने उनी कुनै पनि हालतमा पछि पर्ने छैनन् भन्ने उनको भनाइले पनि संकेत गर्छ । 

गगनले नयाँ अनुहार कांग्रेसबाट सरकारमा जानुपर्छ भनिरहँदा पुराना र पटक पटक मन्त्री भइसकेका प्रकाशमान सिंह, विललेन्द्र निधी, अर्जुननरसिंह केसी लगायतका नेताहरु आफ्नो अन्तिम समय हो भन्दै सरकारमा जान चाहेको बुझिएको छ । 

गगन अहिले कांग्रेसका मन्त्रीले दैनिक १८ घण्टा खटिनु पर्ने बताउँदै आएका छन् । उनी सरकारमा गएको पहिलो दिनदेखि नै दिनगन्ती शुरु हुने भन्दै आफूलाई निरन्तर खटेर अब्बल देखाउन सक्नेमात्र सरकारमा जानुपर्नेमा उनको राय छ । 

अहिले संस्थापन र संस्थापन इतर गरी दुई समूहबीच केही बार्गेनिङ पनि चलिरहेको छ । डा. शेखर कोइराला आफ्नो पक्षलाई आधा मन्त्रालय दिनुपर्ने भन्ने पक्षमा छन् । 

अर्कातिर अहिले पक्ष र गुट भन्दा एकल रुपमा मन्त्री बन्ने अभिलाषा राख्दा फाइदा हुने विश्वासमा पनि रहेका छन् । 

डा. कोइराला आफू पनि नेतृत्व गरेर सरकारमा जान पाए तयार छन् । यद्यपि कुनै पनि नेताले खुलेर भन्न भने सकेका छैनन् । देउवा निवास धुम्बाराहीमा मन्त्री बन्नका लागि जानेहरुको लर्को छ । कोही बाहिरै देउवाका किचन क्याबिनेट फकाउन व्यस्त छन् भने किचन क्याबिनेटभित्र पनि तँछाड–मछाड रहेको बुझिन्छ । 

देउवाको बागडोर सम्हाल्दै आएका उपसभापति पूर्णबहादुर खड्कासमेत आफूले नेतृत्व गरेर जान पाए हुन्थ्यो भनेर सक्रिय रहेको बुझिन्छ । 

खड्काले नेतृत्व गरेर जाने सम्भावना पनि रहेको छ । एकातिर शेखर कोइराला आफ्नो समूहलाई तोकेरै दिनुपर्छ भनिरहेका छन् भने अर्कातिर देउवा पक्षले व्यक्तिगत रुपमा बोलाएर शेखर पक्षका नेताहरुलाई मन्त्री बनाएर आफ्नो समूहमा पार्न खोजेकोसमेत बुझिन्छ । 

देउवा पक्षबाट देउवा पत्नी आरजू परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी जान लागेको बताइन्छ । यो मन्त्रालयमा शेखरले पनि आँखा लगाएका छन् । तीव्र इच्छा डा. शशांक कोइरालाको पनि रहेको बुझिन्छ । 

कांग्रेसले अहिलेको यही मन्त्रिमण्डलको अवस्थामा आठ वटा मन्त्रालयभन्दा बढी पाउने अवस्था देखिँदैन । र पनि आकांक्षी भने बढी नै छन् । 

आरजू र प्रकाशशरणसँगै पूर्णबहादुर, एनपी साउद, रमेश लेखक, उदय शमशेर, प्रकाशमान र सीता गुरुङ सम्भावित नाम हुन् । 

शेखर समूहबाट स्वयं शेखरसँगै धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, संजय गौतम, राजेन्द्र बजगाई, डिगबहादुर लिम्बू, सरिता प्रसाई (संस्थापन इतर भए पनि संस्थापनले समेत रुचाउने) हुन सक्ने सम्भावना छ । त्यस्तै शेखरले नेतृत्व गरेर जाँदा तेजुलाल चौधरी पनि मन्त्री बन्न सक्छन् । 

त्यस्तै भारतमा उपचाररत डा. चन्द्र भण्डारीसमेत मन्त्री बन्न सक्ने लिष्टमा छन् । यद्यपि उनी उपचाररत भएकाले त्यो अवसर अहिले पाउने सम्भावना कम भएकोसमेत बुझिन्छ । 

मन्त्रिपरिषदमा २१ मध्ये ५ जनामात्रै मन्त्री छन् । १६ मन्त्रालयको भारी बोकेर प्रचण्ड अगाडि हिँडिरहेका छन् । उनले आज विश्वासको मत लिनासाथ सरकारमा सहभागी गराउने टिम तयार गर्नेछन् । 

प्रचण्डले विश्वासको मत लिनुअघि नै कम्तीमा मन्त्रालयको भागबण्डाको टुंगो लगाइसक्नुपर्ने तर्क कांग्रेसको छ । प्रचण्ड भने केही तलमाथि होला भनेर पन्छिरहेका छन् । 

यद्यपि ठूलो दलको नाताले कांग्रेसले रोज्ने अवसर पाउनु पर्ने नेताहरुको बुझाइ छ । यसअघि एमालेले पाएका मन्त्रालयमात्रै भए पनि पाउँदा पनि पुग्ने स्थिति छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ