arrow

नाथ सम्प्रदाय र हठयोग

logo
शीतल गिरी,
प्रकाशित २०७९ चैत ११ शनिबार
shital-giri-hatyog-2079-12-11.jpg

धार्मिक सम्प्रदायहरू कुनै एक स्थानमा मात्र सीमित नरही विश्वको कुनाकुनामा छरिएर रहेका छन् । यस्ता धार्मिक सम्प्रदायाहरूले मानवको इहलौकिक तथा पारलौकिक उन्नति गर्ने कुरा निर्विवाद सिद्ध भएको छ । मानव समुदायको पथपदर्शकको रूपमा काम गरेको धार्मिक मतहरूको जन्म हुनु नै राष्ट्रको लागि गौरवको विषय हो । राष्ट्रलाई समुन्नत अवस्थामा पुर्याउने एकमात्र माध्यम संस्कृति हो ।     

सांस्कृतिक अन्तर सम्बन्धको कारणले गर्दा राष्ट्र–राष्ट्र बीच भावनात्मक एकता कायम गराउने विचारकहरूमा कन्फ्युसियस, गौतम बुद्ध आदिलाई उदाहरणको रूपमा लिन सकिन्छ । त्यसै प्रसङ्गमा नाथ सम्प्रदायको उर्वर भूमिका रूपमा भारत तथा नेपाल पर्दछन् । नाथ सम्प्रदायसँग सम्बद्ध स्थानहरू नेपाल तथा भारतमा छन् । काठमाडौंको दक्षिणतिर पर्ने चोभारको चुलीमा नाथ सम्प्रदायका प्रवर्तक आदिनाथको मन्दिर छ ।     

नाथ शब्दको सर्वप्रथम प्रयोग अथर्ववेद र तैत्तरीयब्राह्मणमा शरणदाताको रूपमा प्रयोग भएको पाइन्छ । परवर्तीकालमा योगपरक पाशुपत शैवमतको विकास नाथ सम्प्रदायको रूपमा भई नाथ शब्दले शिवलाई बुझाउन थाल्यो । 
    
नाथ सम्प्रदायको उत्पत्ति हुनु भन्दा अगाडि आठौं शताब्दीको अन्त्यतिर नयाँ धार्मिक अभियानको रूपमा प्रादुर्भाव भएको बौद्धमत अन्तर्गत बज्रयान सम्प्रदायले नेपाल र भारतलाई ढाकेर वरपरका देशहरूलाईसमेत गहिरोसँग प्रभावित पार्न सफल भयो । खासगरी पूर्वी बङ्गालका सिद्धहरूप्रति मानव समुदाय आकर्षित थिएनन् । किनभने सिद्धहरूको मध, मांसप्रति झुकाव रहेको थियो ।     

पूर्वी बङ्गालका सिद्धहरूले मन्त्र, मैथुन, योग र मद्य जस्ता तत्वलाई साधनाको प्रमुख माध्यम बनाउने गर्दथे । चौरासी सिद्धहरूमध्ये तेस्रो सिद्ध विरूपा हुन्, जो पहिले नालन्दा महाविहारमा प्रव्रजित भएर पढेका थिए ।   

हरप्रसाद शास्त्रीले गोरखनाथको बज्रयानी नाम रमणवज्र मानेका छन् (द्विवेदी, हजारी प्रसाद “१०५० इ.” नाथ सम्प्रदाय, इलाहावाद ः हिन्दूस्तान एकेडेमी, पृष्ठ ४०) । अलाउदिनका समकालीन (इ.१३५८) सन्त ज्ञानदेवले बनाएको गोरखनाथका शिष्य परम्परामा समेत मत्स्येन्द्रनाथलाई गोरखनाथका गुरु मानिएको छ । नाथ परम्पराअनुसार मत्स्येन्द्रनाथका गुरु जालन्धरनाथ मानिएको छ ।     

हठयोगमा योगीको परम कर्तव्य नै यौगिक क्रियाबाट इडा र पिङ्गलाको बीचमा रहेको सुषुम्नाको द्वार खोल्नु हो । यही द्वारको सहाराबाट प्राणवायुको उध्र्वगति क्रिया अर्थात् प्राणवायुलाई माथि लैजाने काम योगीको परम लक्ष्य हो । मुख्यतः गोरखनाथी बाह्रपन्थीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । ती बाह्र पन्थमा सतनाथ, धर्मनाथ, पाउ, पागल, रावल, राम, आइपन्थी, कपलानी, नरेश्वरी, दरयानाथी, मन्नाथी र गंगानाथी पर्दछन् । 

प्रत्येक पन्थको आफ्नै विशेष महत्व छ । जसलाई यिनीहरूले आफ्नो पुण्यक्षेत्र मान्दछन् । जनश्रुतिअनुसार शिवले बाह्रपन्थ चलाएका थिए । बाह्र पन्थीको बारेमा प्रचलनमा आएका विभिन्न आख्यानमा बेग्लाबेग्लै ढङ्गका सन्दर्भहरू भएतापनि बाह्रपन्थीको निर्माण गर्ने महासिद्धमा गोरखनाथ नै रहेका छन् । 
    
नाथ सम्प्रदायका प्रणेता गोरखनाथले भारत वर्षलाई नै आफ्नो प्रधान थलो बनाएका थिए । गोरखनाथले योगमार्गको शक्तिशाली आन्दोलनको शुभारम्भ गरेका थिए । गोरखनाथ सम्बन्धी प्रचलित आख्यान तथा जनश्रुति नेपाल तथा भारतमा आ–आफ्नै ढङ्गबाट प्रचलित भएको देखिन्छन् । नेपालमा विद्यमान रहेका मत्स्येन्द्रनाथको कथामा गोरखनाथको उत्पत्तिको वर्णन पाइन्छ ।

उक्त वर्णनअनुसार गौड प्रदेशको एक देशमा महाधन नामक वैश्यले मत्स्येन्द्रनाथको वरदानबाट पुत्र प्राप्त गरे । महाजनकी पत्नीले पुत्र जन्मिएपछि नजाने किन हो गोवरको थुप्रोमा मिल्काइदिएकी उक्त बालकलाई फकिरका भेषमा आएका मत्स्येन्द्रनाथले आफ्नै साथमा लिएर गए । उक्त बालकलाई मत्स्येन्द्रनाथले उचित शिक्षा दीक्षा दिएपछि योग्य भएर फकिरकै रूपमागोरखनाथले शिवधामको खोजी गर्दै नेपालको विभिन्न स्थानमा भ्रमण गर्न थालेका थिए ।     

बुङ्गघोको कथाबाट मत्स्येन्द्रनाथले गोरखनाथलाई शिक्षा दिई योगको प्रचार गर्न पठाएको भाव देखा पर्दछ । जनकलाल शर्माले गोरखनाथको वंशको सम्बन्धमा आजसम्म टुङ्गोमा पुग्न सकिएको छैन भन्ने भाव व्यक्त गरेका छन् ।   

एकथरि विद्वानहरूले गोरखनाथलाई ब्राह्मण कुलमा जन्म भएको अभिव्यक्ति दिएका छन् । अन्वेषकहरूले गोरखनाथको समय भिन्न भिन्न ढङ्गले प्रस्तुत गरेका छन् । नेपालमा प्रचलित वंशावलीहरूबाट सातौं शताब्दीतिरका राजा नरेन्द्रदेवको समयमा नाथ सम्प्रदायले राजकीय सम्मान प्राप्त गरेको बुझिन्छ । 

तर यस्ता साहित्यको वर्णनमा मात्र भर नपरी पुरातात्त्विक श्रोतको पनि सहयोग लिनुपर्ने हुन्छ । एउटा लिच्छविकालीन अभिलेखमा उल्लेखित नाथेश्वर शब्दको आधारबाट लिच्छविकालमै नाथ सम्प्रदायको प्रचार भएको देखिन्छ तापनि यसको लोकप्रियता चाहिँ मध्यकालमा बढी थियो । जयस्थिति मल्लको पालामा ने.सं.४९९को ताम्रपत्रको प्रारम्भमै देवगोरक्षको उल्लेख छ । काठमाडौंको फर्पिङ दक्षिणकालीको क्षेत्रमा पनि गोरखनाथ सम्प्रदायको अखाडा छ ।     

काष्ठमण्डपको अभिलेखबाट नाथ सम्प्रदायको दर्शन सम्बन्धी जानकारी प्राप्त गर्न सहयोग पुगेको छ । यसबाट प्राचीनकालदेखि नै काष्ठमण्डप नाथपन्थी योगीहरूको महत्त्वपूर्ण केन्द्रको रूपमा स्थापित भएको बुझिन्छ । काष्ठमण्डपमा गोरखनाथको पद्मासनमा बसेको मूर्तिले गौरब अझैं बढाएको छ । 

इतिहास शिरोमणि वाबुराम आचार्यले काष्ठमाडौंलाई काठमाडौं उपत्यकामा विद्यमान पुराना स्मारकहरूमध्ये सबभन्दा पुरानो मानेका छन् । कुसुलेहरूलाई चौरासी सिद्धमध्ये पैंतीसौं सिद्ध कहलिएका कुसुलिपाका अनुयायीहरूका सन्ताज होलान् भनेर अनुमान गर्न सकिन्छ भनेर लेखेका छन् । कुसुलेहरूले गोरखनाथको मन्दिरको संरक्षण गर्ने र व्यवस्थित राख्ने जिम्मेवारी पाएका थिए । यसरी कुसुलेहरूले नेपालमा नाथ सम्प्रदायको प्रतिनिधित्व गरेको बुझिन्छ । काठमाडौं उपत्यकामा साहित्यिक स्रोत तथा अभिलेखीय प्रमाणका अतिरिक्त पुरातात्त्विक प्रमाणहरूले पनि नाथ सम्प्रदायको लोकप्रियतारहेको देखाएको छ ।     

काठमाडौं उपत्यकामा मात्र नाथ सम्प्रदायको लोकप्रियता नरही अधिराज्यका विभिन्न भू–भागमा नाथपन्थको प्रचार–प्रसार भएको बुझिन्छ । नाथ सम्प्रदायप्रति तत्कालीन जनमानसमा श्रद्धा भक्ति भएको बुझिन्छ ।     

दाङ जिल्लाको चौघेरामा अवस्थित सिद्ध रतननाथको मठ नाथ सम्प्रदायको आकर्षणको केन्द्रको रूपमा रहेको छ । यस मठको स्थापना गर्ने रत्न परीक्षकले गोरखनाथबाट दीक्षा लिई अमरपात्र प्राप्त गरी रतननाथ योगीको रूपमा प्रसिद्धि कमाएका थिए ।     
नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको समयमा नाथ सम्प्रदायका योगीहरूले ठूलो सम्मान प्राप्त गरेका थिए । अग्रपंक्तिमा रहेका भगवन्तनाथ सल्यानका सिद्ध थिए भन्ने कुरा ऐतिहासिक कागजपत्रले सङ्केत गरेको छ ।

गोरखा दरबार मुन्तिरको गुफाले गोरखनाथगुफाको रूपमा प्रसिद्धि कमाएको छ । जनविश्वास अनुसार यस गुफामा गोरखनाथले साधना गरेको भनिन्छ ।     

अभिलेख अनुसार शाहवंशले विभिन्न समयमा नाथ सम्प्रदायलाई राजकीय सम्मान प्रदान गरेको थाहा हुन्छ । नेपाली परम्पराअनुसार नाथ सम्प्रदायको इतिहास राजा नरेन्द्रदेवको समयदेखि भएको कुरा साहित्यिक श्रोतबाट थाहा हुन्छ । नाथ सम्प्रदायको इतिहास अध्ययन गर्न अभिलेख तथा गोरखनाथका मूर्तिहरू काठमाडौं उपत्यकामा प्राप्त हुनु एउटा सुखद पक्ष हो । 
 



नयाँ