arrow

समय, संभोग र सान्दर्भिकता

logo
कृष्ण शर्मा, 
प्रकाशित २०८० भदौ २ शनिबार
article-krishna-sharma-2080.jpg

केही दिन अघिमात्र विश्व रंगमंचमा हलचल मच्याएको क्रिष्टोफर नोलानद्वारा निर्देशित 'ओपनहाइमर' नामक बायोपिक अष्ट्रेलियाको सिड्नीस्थित 'इभेन्ट भि-म्याक्स' को बडेमानको पर्दामा हेरेर बाहिर निस्कँदासाथ मैले सँगै बसेर हेरेको मेरो क्रिश्चियन लेखक मित्रलाई सोधेँ –हामीले भर्खर मात्रै हेरेको सिनेमामा कलाकार फ्लोरेन्स पुः ले जीँ ट्याट्लकको भूमिका निभाउँदै गर्दा गीताको बदलामा बाइबल हातमा लिएर संभोग प्रकृयामा सामेल भइरहेको दृष्य देख्नु परेको भए तिमीले कस्तो महसुस गर्थ्यौ ?

उसलाई पनि त्यो घोर असान्दर्भिकता मन परेको रहेनछ। आफ्नो संशय बडो गम्भीर भएर ब्यक्त गर्यो, “शायद मलाई सिनेमा हेर्दा हेर्दै बान्ता पो आउँथ्यो कि!”

कथाको सान्दर्भिक माग बिना हिन्दूहरुको पवित्र ग्रन्थ गीतालाई हातमा लिएर मैथुन कार्यमा संलग्न भएको दृश्य देखेपछि बान्ता नै नआए पनि मलाई एकदमै नमीठो महसुस भएको थियो । 

अप्ठेरो प्रकारको दिक्क भावले मलाई हल बाहिर निस्कनको लागि पछाडिबाट ठेलिरहेको थियो। मैले पहिलो पटक आफ्नो अब्यक्त आस्थासँग साक्षात्कार गरेँ त्यसबेला। 

सरल भाषामा भन्नुपर्दा म हिन्दू धर्मसँग सबैभन्दा नजि छु भन्ने तथ्य पुष्टिएको थियो त्यतिबेला म हिन्दू नभएको भए शायद त्यति विचलित हुन्थिन जति भइरहेको थिएँ ।

कुनै पनि धर्म ब्यवस्था मानवताको रक्षक एवम् सभ्य जीवनशैलीको मापक हुनुपर्छ भन्ने मत राख्ने मानिस हुँ म ज्ञान आर्जनको लागि श्रीमदभागवद् गीता पाठ गर्छु। 

तर म कट्टर धर्मान्ध कहिल्यै भइन र मलाई लाग्छ म कहिल्यै हुँदिन पनि ।

अब प्रसंगमा फर्कौं।
त्यो साँझ हेरेको काइ बर्ड तथा मार्टिन जे शेरविनद्वारा लिखित २००५ को पुलित्जर पुरस्कारबाट सम्मानित एटम बमका आविश्कारक रबर्ट जे ओपनहाइमरको जीवनमा आधारित फिल्मले धेरै सन्देशहरू दिएको हुनाले मेरो सानो दिमाग बासस्थानमा फर्कंदासम्म मात्र होइन फर्केको धेरै घण्टा अथवा भनौँ रातका तीन प्रहरहरु बित्दासम्म पनि गिजोलिइरह्यो ।

दोस्रो विश्व युद्ध भन्दा पहिलेको विश्व, दोस्रो विश्व युद्धताकाको विश्व र त्यसपछिको विश्व ब्यवस्था जे जस्तो थियो र छ त्यसलाई परिभाषित गर्न एटम बमको आविष्कारले के भूमिका खेल्यो; हामी विश्व संहारको कति नजिक छौँ; नागासाकीमा बम खसाल्नु आवश्यक थियो कि थिएन भन्ने जस्ता गहन विषयको बारेमा पछि लेखाजोखा गरौँला ।

यतिखेर म गिजोलिइरहन पर्नुका धेरैमध्ये दुई साना कारणमा केन्द्रीत हुन चाहेँ ।

श्रीमद्भागवद् गीता ग्रन्थको प्रसंग बिनाको असान्दर्भिक अवस्थामा प्रयोग, अनि गीताको ११ औँ अध्यायमा रहेको ३२ औँ अनुच्छेदको अपूर्ण अनुवाद।

त्यस रात निद्रा नलागेपछि विस्ताराबाट उठेर मैले हातमुख शुद्द गरी 'गीता'पल्टाएँ । किनकि आफ्नो तर्क प्रस्तुत गर्नु भन्दा अघि पुनश्चः गीताको ११ औँ अध्याय अनि त्यसको ३२औँ अनुच्छेदमा भनिएको कुरा र ओपनहाइमरले भनेको कुरामा कति सत्यता छ भन्ने कुरामा म निश्चित हुन चाहन्थेँ । 

अनुच्छेदमा के लेखिएको छ र त्यसलाई मैले किन अपूर्ण अनुवाद भएको मान्छु भन्ने कुरामा मैले तल विस्तार गर्छु  ।

अहिले मलाई ग्रन्थको असान्दर्भिक एवं अनुचित अवस्थामा प्रयोग भएको भनेको के हो त्यसबारे केही कुरा छोटकरीमा प्रस्तुत गर्न चाहन्छु ।

अपवाद एवं कुतर्कलाई छोड्ने हो भने हामी सुत्नको लागि प्रायः शयन कक्षमा जान्छौँ । 

खाना खानको लागि भान्छाकोठामा जान्छौँ । शिक्षादीक्षाको लागि गुरुका चेला बन्छौँ  । अनि पाठशाला वा विश्वविद्यालय जान्छौँ । भगवानको दर्शन, ध्यान एवं सत्संग गर्नको लागि मन्दिर, मश्जिद वा चर्चमा जान्छौँ ।

वस्तुहरू उत्पादन गर्न उद्योग  तथा कलकारखानामा जान्छौँ । यी सबै गर्नुको एकमात्र कारण के हो भने ती कार्यहरु त्यही राम्रोसँग घटित वा सम्पन्न हुन्छन् ।

त्यसैगरी माथिका लगायत अरु धेरै कामहरु सम्पन्न गर्नको लागि हामीले निश्चित मापदण्डहरुको पनि पालना गर्छौं । जस्तैः बाटो काट्नको लागि जेब्राक्रसमा पुग्छौँ  र हरियो बत्तीको प्रतिक्षा गर्छौं ।

समाचार सुन्न वा हेर्नको लागि रेडियो वा टेलिभिजन खोल्छौँ र तोकिएको समयको प्रतिक्षा गर्छौँ । त्यस्तै विभिन्न क्षेत्र, समुदाय, सम्प्रदाय एवम संस्कृतिअनुसार हामीले कर्मको स्वरूप अनुसार त्यसलाई सम्पन्न गर्न निश्चित समय रोजेका हुन्छौँ । 

हामीले समाज र विज्ञानले उचित अनुचित जे मानेको छ त्यसै अनुसार हाम्रा ब्यवहारहरुलाई अगाडि बढाउँछौँ । उदाहरणको लागि गोठमा आराम गरिरहेका गाईबस्तु आदि पाल्तुपशुलाई हामीले साँझमा चराउनको लागि जंगल लैजान्नौँ । 

सबैभन्दा महत्वपूर्ण कुरा त हामी सभ्य नागरिक हौँ भने अरुले राम्रो मानेर संस्कारको रुपमा विकास गरेका प्रचलनहरुको सम्मान गर्छौं । 

त्यसैले हामीलाई ओपनहाइमर नामक फिल्ममा रती क्रियामा संलग्न रहँदै गर्दा गीताको प्रयोग जुन तरीकाले बिना प्रसंग एवं बिना सन्दर्भ गरिएको छ त्यो जुनसुकै कोणबाट हेरे पनि गलत प्रयोग गरेको महसुस हुन्छ। 

कुतर्क नै गर्ने हो भने त जे भने पनि भयो । तर यौनिक कार्यमा सरिक हुँदै गर्दा कुनै पनि धर्मावलम्बीहरुले आ-आफ्ना पवित्र धार्मिक ग्रन्थहरुलाई हातमा लिँदैनन् । 

अब अर्को विषयमा प्रवेश गरौँ । जापानी साहित्यकार हिरोमि कावाकामीले भाषा अनुवादको अपूर्णताको बारेमा 'ग्रान्टा' नामक विश्व प्रसिद्ध साहित्यिक पत्रिकामा लेख्छिन्, "सबै अनुवाद अपूर्ण-अनुवाद हुन् चाहे ती एउटै भाषा अन्तरगतको भाषिकामै भएको अनुवाद किन नहोस् ।"

ओपनहाइमरले उक्त फिल्ममा भागवत् गीताको एक श्लोकको अनुवादित अंशलाई दुई पटक दुइ फरक समयमा गर्छन् ।

पहिले श्रीमदभागवद् गीतामा जाउँ ।
गीताको एघारौँ अध्यायको ३२ औँ अनुच्छेदमा यस्तो लेखिएको छः
कालोऽस्मि लोकक्षयकृत्प्रवृद्धो
लोकान्समाहर्तुमिह प्रवृत्त: ।
ऋतेऽपि त्वां न भविष्यन्ति सर्वे
येऽवस्थिता: प्रत्यनीकेषु योधा: ।।३२।।
यसको अर्थ हुन्छ, “म लोकनाशक समय हुँ। यति बेला म लोकको संहार गर्न लागिपरेको छु। तिमी सहभागी नभए पनि तिम्रा प्रतिपक्षी जो यतिबेला युद्दमा छन् उनीहरू पनि रहँदैनन् ।”

नोलानले ओपनहाइमरले भनेकै संस्कृत भाषाको "काल" अर्थात् समय शब्दलाई "मृत्यु" को रुपमा अनुवाद गरेर जुन संवादको सृजना गरेका छन त्यो आफैँमा अपूर्ण एवम् विवादास्पद छ । 

मलाइ लाग्छ रबर्ट जे ओपनहाइमरले महाभारत नामक महाकाब्यलाई पूरा नपढी त्यसभित्रको खण्डकाब्य श्रीमदभागवद् गीताको मात्र अध्ययन गरेर, त्यो पनि आर्थर डब्ल्यू राइडरको अनुवादलाई पढेर 'काल' लाई मृत्युको रूपमा मात्र बुझेकाले यो संशय जन्मेको हो । 

विवादास्पद यसर्थमा पनि छ कि मानिस स्वयं मर्न सक्छ वा कसैको मृत्युको कारण बन्न सक्छ । तर स्वयम् मृत्यु हुन सक्दैन। गीतामा म काल हुँ (Now I am become death)
भनिएको छैन। 

म समय हुँ भनिएको छ। मेरो मान्यता के छ भने महाभारतको सप्रसंग बिना गीताको धेयको अध्ययन अपूरो हुनसक्छ। आफूले आविश्कार गरेको आणविक बमले जापानको हिरोशिमा र नागासाकिमा गरेको मानव संहार मात्र होइन समस्त प्रकृतिको विध्वंशले प्रताडित भएर अनि ढिलै भए पनि आएको आत्मग्लानिबोधले पीडित भएर ओपनहाइमरले आफूलाई नै मृत्यु भन्नुमा शायद जनसंचारका विश्लेषक मार्शल म्याकलुहानको 'माध्यम नै सन्देश हो'( Medium is the message) भन्ने उक्तिलाई चरितार्थ गर्न खोजेको पनि हुनसक्छ । 

तर जसरी निर्देशक नोलानलाई असीको दशकमा स्टिगंको प्रसिद्ध “रसियन्स” नामक गीति एल्बमले ओपनहाइमरको कथासँग नजिक तुल्याएको थियो उसैगरी महाभारतसहित गीताको गहन अध्ययन गरेको भए माथि उल्लेखित सन्दर्भहरूमा उनी खरो उत्रन सक्थे कि । 

नत्र भने यस्तो “युनिभर्सल अपील” का बावजुद भारत उपमहाद्वीपका लागि गीताको प्रयोग गरिएको असान्दर्भिक दृष्यलाई हटाएर नोलानलाई ओपनहाइमरको  छुट्टै संस्करण किन ल्याउनु पर्थ्यो ?

विश्वको भूराजनीतिक विषम परिस्थितिमा गुज्रिरहेको अहिलेको अवस्थामा यो अत्यन्त मर्मभेदी विषय ओपनहाइमर फिल्ममार्फत उठान गरेकोमा नोलानलाई धन्यवादको पात्र मात्र होइन निःसन्देह अस्कर पुरस्कारका लागि सिफारिश गर्न कोही हिच्किचाउँदैन ।

किनकि उनले माथिका संवेदनशील कुरामा अलिक गम्भीरता नदेखाएको बाहेक अरू तथ्यमा खरो उत्रिएर हामीलाई धेरै न्याय गरेका छन् ।



नयाँ