arrow

पीडादायी कथा 

logo
शीतल गिरी, 
प्रकाशित २०८० फागुन ५ शनिबार
sheetal-giri-2080-11-05.jpg

वास्तवमा नेपालमा रहेका थुप्रै अल्पसंख्यक जातिहरू मध्येको एक हो— बादी । जसले अन्य अल्पसंख्यक जातिहरूले जस्तो स्वच्छन्दपूर्वक प्रकृतिको काखमा लुट्पुटिएर आफ्नो जातिय पहिचान बचाएको पाइँदैन । यिनीहरूको अस्मितासँग सस्तो मूल्यमा जो कसैले पनि खेल्न सक्छ । हरेक उद्धेश्यका मानिसहरू बादी जाति रहेको बस्तीमा पुग्ने गर्छन् । 

साहित्यकारहरूको लागि बादीले थुप्रै सामग्री पस्केको छ । खोजी पत्रकारको नजरबाट पनि यिनीहरू बच्न सकेका छैनन् । उपन्यासकारहरू–कथाकारहरूले बादी युवतीहरूको प्रणय–गाथाहरूका पुस्तक लेखेर प्रकाशकहरूको खल्ती र आफूले नाम कमाउन पछि परेका छैनन् । मानवशास्त्रीहरूले बादीको मुहार, रहन–सहन, नाता–गोता, जन्मदेखि मृत्युसम्मका संस्कार सम्बन्धी शोध ग्रन्थ लेखेर आफ्नो विद्धताले समाजशास्त्री–संसारलाई झस्काएका छन् । 

बादी युवतीहरू त सबको लागि साझा मनोरञ्जनका साधन बनेकै छन् । राम्रा नराम्रा सबै किसिमका मानिसहरूको नजर बादीमाथि परेकै छ । राजा रजौटाको समयमा कुन राजा र भारदारहरूका बैठकमा बादी युवतीहरूको नृत्य भएन होला । बादी पुरुषहरूले बनाएको उम्दा मादल मध्यपश्चिमी नेपालको कुन जातिको लोकगीतमा घन्केन होला । तिनै नृत्य कुशल बादी युवतीहरू, उम्दा मादल बनाउने बादीहरूको अस्तित्व नै आज संकटमा छ । जमिन्दारहरू, ठूला जाति, पुलिसहरूको ज्यादती सहेर पनि तिनीहरू बाँच्नको लागि शरीर बेच्ने पेशालाई हिजो आज खुलेआम रुपमा अँगालेको पाइन्छ ।
    
बुद्धिजीवीहरूले बादीहरूका बाहिरको छाला देखेका छन् र त्यसैको बारेमा लेख्ने गरेका छन् । त्यो छाला तल पनि थुप्रै पत्र छ–मासु छ–रगत छ–आत्मा छ । मात्र नाच, गान, मोज, मस्ती छैन । एउटा बादीको छाप्रो कसरी भत्किन्थ्यो ? उसले पारेको रक्सी कसरी पुलिस र जमिन्दारहरूले लुटेर खाइदिन्थे ? उसकी छोरीको इज्जत कति सहजसँग लुटिन्थ्यो ? बादी युवतीहरू अझ जीवनभरीको लागि विकसित यान्त्रिकी सभ्यतामा हुर्केका बाबुसाहेबहरूको शारीरिक भोकशान्त पार्ने— बजारको बस्तु— बन्न पुग्छ ।
 
यस्तो किन ? के यो सबै पहिलेदेखि यसैगरी हुँदै आएको छ ? विकासको त्यो कुन प्रक्रिया हो जसले सरल सोझा गरिब बादीहरूलाई ‘शरीर बेच्ने संस्कृति’ मा रुपान्तरण गरिदियो ? र, नाचगानमा रम्ने बादीहरूलाई रेडियो, टीभी, सिनेमा, अडियो–भिडियो सेन्टरको नजिक पुग्न दिएन । अल्पसंख्यक बादीहरूका जातिय पेशा बाजा बजाउनु, बनाउनु र नाच्नु थियो मुगलकालसम्म भारत र नेपालमा । 

मुगल सल्तनतमा बाजा बजाउन, नाच्न निपुणहरूका लागि ठूलो इज्जत थियो । मुगल शासकहरूको ठूलो इज्जत थियो । मुगल शासकहरूका नजिक रहन, जागिर प्राप्त गर्न अन्य जातिका मानिसहरूबीच बाद्य बादन र नृत्य सिक्ने होड चल्यो । सो होडमा मध्यम वर्गीय र उच्च वर्गीयले बाजी जित्न सके । 

संगीतको मूच्र्छनाको सही ज्ञाानको लागि ओस्ताद कहाँ जान अथवा ओस्तादलाई घरमा ल्याएर राख्न यिनीहरू (बादीहरू) को गच्छेले नपुग्दा पुर्ख्यौली पेशा परित्याग गर्न बाध्य भए । अहिले भारतमा पाइने बादी महिलाहरू गोदना गोदने (हात र शरीरका अंगहरूमा टाटु, बुट्टा बनाउने) गर्छन् भने पुरुषहरू चाहिँ बाटो ढुकेर यात्रुहरूलाई लुट्ने, दुलो खनेर घर चोर्ने, डकैती जस्ता पेशा अपनाएको कुरा भारतीय पत्रपत्रिकाहरूबाट थाहा हुन आएको छ । यिनीहरू भारतको मध्यप्रदेशको मङ्गरी, देवरी, बिरमकेला, कपाट बहरी, ललितपुर, गिरहुल इत्यादि पहाडी गाउँहरूमा छन् ।
    
पाल्पाका सेनबंशी राजाहरू शूर–वीर–लडाकुका साथै नाचगानका शौकिन र मोजमस्ती गर्ने भएको इतिहासबाट थाहा हुन आएको छ । नाच्न गाउनको लागि पाल्पाली राजाहरूले हिन्दुस्तानका हिन्दू धर्म मान्ने पहाडमा रम्ने यी बादीहरूलाई— मध्यप्रदेशको बिरमकेलाबाट— आफ्नो दरबारमा भित्र्याएको विश्वास गरिन्छ । नेपाल एकीकरण अघिसम्म यिनीहरू कतै न कतै कुनै न कुनै राजघरानाको आश्रयमा आफ्नो पुर्ख्र्याली पेशालाई बचाइआएका थिए । 

राज्य रजौटा उन्मूलन अघिसम्म पनि ठूलाबडाका आश्रयमा आफूलाई सुरक्षित नै ठान्दथे । पहिले राजा र भारदारहरूको सेवा गरी तिनीहरूबाट मात्र बादीहरूका अस्मिता लुटिदै आएकोमा, राज्य रजौटा उन्मुलनपछि बादीहरू बाँच्नको लागि पुरुषहरू मादल बजाउने र महिलाहरू घरघरमा गइ नाच्ने र पाएको सामलले बाँच्दै आएका थिए । 

बादी महिलाहरू त्यतिखेरसम्म जमिन्दारको काखसम्म पुगिसकेका थिए । मध्यपश्चिमी पहाडको एउटा ठकुरीको घरमा चालीसको दशकमा भएको घटना हो यो । पाहुना आएको हुँदा नाँच्नको लागि बादी महिलालाई डाकियो । केहीबेरको नृत्यपछि क्यासेट (टेपरिकर्डर) को तालमा नचाउने भनेर बाजा बजाउने पुरुष बादीहरुलाई फर्काइयो ।
 
बैठक कोठाको ढोका थुनेर क्यासेट घन्काएर बादी महिलाको साथमा पाहुनासहित रक्सीको तालमा उफ्रिए । 
    “सुन, आज तँ घर नजा । राति यही बस्नू ।”
    “किन राजासाब् ? घरमा बच्चा रुनेछ ।”
    “यही बस् । छोरा हो के काम लाग्छ र मर्न दे ।”
    “मेरो लोग्ने ?”
    “त्यो सालेले के गर्छ । त्यो त मेरै मान्छे हो ।”
    “हुन्न, राजासाब्, मलाई जान दिनुस् । रात परिसक्यो । हात जोड्छु । गोडा समात्छु ।”
    “हुन्न, तैले बस्नु पर्छ ।”
    “मलाई छोडि दिनुस् राजासाब् मेरो लोग्ने छ, बच्चा छ ।”
    “के भयो त । यस्तो त पहिलो चोटि होइन । बिर्सिस्, पोहरसाल मेरो सालो आएको बेला । बक्सिस् पनि त भेट्टाएकी थिइस् नि ।”
    “हुन्न राजासाब्— नाइँ, अब अरु नाइँ ।”
    “धेरै नखरा गरिस् भने निकालिदिन्छु गाउँबाट । भोकै मर्छेस् । छिटो लुगा फुकाल् । तँमाथि त मेरो पूरा हकलाग्छ, जसरी चाहन्छु जहिले चाहन्छु तब गर्छु ।”
    
विज्ञाानको प्रगतिले पहाडका कुना कन्दरामा पनि सडक, सिनेमा हल, टेलिभिजन, भिडियो पुग्यो । सस्तोमा मनोरञ्जन पाइन थालेपछि जमिन्दारहरूले एक युवतीको लागि बादीका परिवारलाई पाल्न छाड्यो । बाध्य भएर पुख्र्यौली ठाउँ र पेशा त्यागेर यी बादीहरू राजमार्ग छेउँछाउँका बजारमा छाप्रो हाली खासगरी दाङको देउखुरी, बाँकेको गगनगञ्ज, बर्दियाको राजापुर र कैलालीको टीकापुरमा बसी प्रारम्भमा रक्सी पारेर बेच्ने, चिया नास्ता बेच्ने गर्न थालेको जानकारी यस पंक्तिकारलाई चिसापानी (कर्णाली पुल) का ५४ वर्षका अमर हुँडकेधिताल नाम बताउने बादीले बताएका थिए । 

उनका अनुसार गगनगञ्जमा बादीका राम्री युवतीहरूलाई ठूल्ठूला हाकिम, जमिन्दार, राजासाब्, धनीहरूले एक एक हप्ताको लागि गोरखपुर, पोखरा जस्ता शहरहरूमा लगी निचोर्दथे । 

बादीहरूलाई पुलिसले रक्सी बेचेर, चिया बेचेर बाँच्न दिएन । पुलिसले कतिसम्म ज्यादती गथ्र्यो भने उदाहरणको लागि २०–२५ वर्षअघि गगनगञ्जको एउटा घटना—
    “आज, तलाई हामी छोड्दैनौं । हिँड् रण्डी हामीसँग ।”
    “मलाई छोडिदिनुस् । ममाथि दया गर्नुस् । मेरो काखमा बच्चा छ ।”
    “हुन्न, केही हुन्न । हामी घर नगएको वर्षदिन भैसक्यो । तेरो गाला, तेरो ओठ, तेरो छाती, तेरो कपाल, तेरो कति कसिएको छ । तलाई हेर्ने बित्तिकै स्वास्नीको सम्झना आयो । अब उम्ल्या पानी त फाल्नै पर्यो ।”
    “म हात जोड्छु, गोडा समाउँछु ।”
    “हुन्न रण्डी । अरुसँग चाहिँ खुरुक्क सुत्छेस् । अहिले नखरा देखाउँछेस् । खुरुक्क हामीसँग हिड्छस् कि तेरो लोग्नेलाई लगेर जाकौँ ? आज चौकीमा तीन जना मात्रै छौँ ? मासु पाकेको छ । चलानी चाख्लिस् । हेर, रण्डी छाउरोलाई यहीँ फाल् । त्यहाँ रोला ।”

लोग्नेकै अगाडि स्वास्नीलाई कपडा खोल्न लगाएर पुलिसले दुःख दिन थालेपछि— सित्तैमा शरीर नोचाउनु भन्दा त बाँच्नको लागि पैसा लिएर शरीर बेच्नु नै श्रेय ठानेर यो पेशा अँगालेको ती वृद्ध अमर नाम गरेका बादीले बताएका थिए । 

शुरुमा सीमित ठाउँमा शरीर बेच्दै आएका यी बादीहरू गगनगञ्जबाट हट्न बाध्य भएपछि यिनीहरू १५–२० जनाको समूहमा सिंगै मध्यपश्चिमको राजमार्ग छेउँको बजारमा फैलिएका छन् र खुलेयाम रुपमा शरीर बिक्री गर्दै आइरहेका थिए र छन् ।

अल्पसंख्यक रुपमा रहेका हिन्दू धर्मले अछुत भनिएको र राज्यले दलित समुदायमा राखेको १.दास, २.राना, ३.बादी, ४.भाँड, ५.हुँडकेधिताल, ६. राजयोगी, ७. छिलाल, ८.शिह, ९.वैश्य, १०. नगर्ची, ११. खाती, १२.छिन्त्याल, १३. वसेल, १४. गौतम, १५. नेपाल, १६. लेकाली, १७. मगर, १८. वाण्ध्यकार, १९.बाठा, २०. नेपाली, २१. छिनाल, २२.वाह्य, २३.कालीयान, २४.बैकार, २५.पौडेल, २६. दुमार्की, २७.पोखरेल, २८. सिमाल, २९.जुम्लेली, ३०.हरिथङगा, ३१.केसरी, ३२.खनौटे र ३३.वोरेसाहाँ थरहरूमा बादी जाती पाइन्छन्, यी बादी वर्तमानमा जसको पेशा शरीर बेच्ने पर्याय बनिसकेको छ— यिनीहरूका जातिलाई बचाउन सरकारले कुनै ठोस योजना बनाएर लागु गरेको पाइएको छैन । 

झारा टार्नको लागि कहिलेकाहिँ सभा सेमिनार र गोष्ठीमात्र गर्ने गरेको पाइएको छ । उमा (नाम परिवर्तन) ले यस पंक्तिकारलाई बताए अनुसार ‘शरीर बेच्ने पेशा त्याग्नुस् भनी सम्झाउन आउने सङ्घ संस्थाका कार्यकर्ता कर्मचारीहरू मध्येका धेरैजसो चाहिँ दायाँबायाँ पुलुक्क हेरी लुसुक्क आएर दाम बुझाएर हामीसँग सुत्छन् ।’ 

ती युवतीका अनुसार ‘हामी बादी समाजकै कोढ भए पनि सीमित ठाउँमा थियौं’— नेपालगञ्जको गगनगञ्जबाट विस्थापित भएका बादीहरू सिधैै मध्यपश्चिम र सुदूरपश्चिमभरि फिँजिए । 

अल्पसंख्यक जातिलाई उत्थान गर्ने ठोस नीति राज्यले अहिलेसम्म बनाउन नसकेको हुँदा बादीहरूले शरीर बेच्ने कार्यमा अरु जातिका गरिब महिलाहरूलाई पनि आकर्षित गने थालेको पाइएको छ । 

यिनीहरूसँगको क्षणिक सम्पर्कबाट थाहा भए अनुसार— यिनीहरूले तुच्छ कामलाई जीविकोपार्जनको पेशा बनाए पनि कहिल्यै सुखले सास फेर्न पाएका छैनन् साथै सुखसाथ दुई छाक भात खान पाएका छैनन् । 

बिहान खायो त साँझको चिन्ता । कोदो, मकै र चामलको बनाएको रक्सी पनि पुलिस र सो भेगका राजासाब, बाउसाब भनाउँदाहरूले सित्तैमा खान्थे र मोज गर्नबाट पनि चुक्तैनथे । 

यिनीहरूका छाप्रामा रक्सी पार्ने भाँडो, माटोको ध्याम्पो र गाग्री, खाना पकाउँने डेक्ची, कराई, थालहरू, गिलास यस्तै अपर्याप्त पाएँ । उमा नगर्चीका अनुसार, “हजुर ! जीउ बेच्न त पुलिसले नै सिकाएको हो । हामीले पारेको रक्सी सित्तैमा धोकेर हाम्रै छाप्रोमा लोग्ने, दाइ, बाउलाई कुटेर लखेटी हामीलाई सुत्न लगाउँथे । पहाडबाट कहिलेकाहिँ आउने पाहुना (नन्द, बहिनी, भतिजी) लाई पनि छोड्दैनथे ।” 

उमासँग यस पंक्तिकारको भेट २०५७ मंसिर २६ गते कर्णाली पुल चिसापानीमा भएको थियो । उमाका अनुसार— “शासन र समाजले अलिकति पनि सकारात्मक हेराई हेरेमा हामीहरूको निधारमा टाँसिएको कलङ्कको टीका पक्कै पनि मेट्न सक्छौँ । हो हामी निरक्षर छौँ तर पनि वर्तमान पेशा हाम्रो बाध्यता भएको हामीले महसुस गरेका छौँ ।” यो शब्द अहिले पनि कानमा गुञ्जिरहेकै छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ