arrow

वार्षिक पूण्यतिथि

सम्झनामा सादगी र सात्विक पं गोविन्दप्रसाद पोखरेल

logo
तुलसी पन्थी, 
प्रकाशित २०८० माघ २१ आइतबार
tulasi-panthi-2080-10-21.jpg

गुल्मी, धर्कोट, अरौँदीका गौरीशंकरको नाति, ईश्वरीको माहिला छोराको रूपमा पंडित एवं शिक्षाविद् गोविन्दप्रसाद पोखरेलको जन्म भएको हो । उहाँ नातामा मामा, सरकारी सेवामा सहकर्मी साथी र व्यवहारमा मेरो अविभावक हुनुहुन्थ्यो । हाम्रा ठूलो बुबा लोकनाथ पन्थीको उहाँकी जेठी दिदी लीलादेवीसँग विवाह भएपछि हाम्रो परिवार र गोविन्द पोखरेलको परिवारबीच नाता सम्बन्ध जोडिएको थियो ।

गोविन्द पोखरेलले चण्डि, रुद्री र वेद सम्बन्धी प्रारम्भिक शिक्षा घरमै लिई थप शिक्षा आर्जनको लागि अर्घाखाँची खिदिमस्थित हरिहर संस्कृत पाठशालामा भर्ना भई अध्ययन गर्नुभयो । उहाँले मध्यमा भारतको वाराणसीबाट र संस्कृत साहित्यमा शास्त्रीको अध्ययन बाल्मिकीबाट गर्नुभयो । यद्यपि शास्त्रीको प्रमाणपत्र नेपालबाट नभई वाराणसीबाटै लिनुपर्ने भएकाले परीक्षा दिन वाराणसी नै जानुपर्दथ्यो । 

उहाँ निजामती सेवा अन्तर्गत अर्घाखाँची वाङ्लास्थित श्री जीवनोद्वार भाषा पाठशालाको शिक्षकमा नियुक्त भई लामो समयसम्म त्यहाँ अध्यापन कार्य गर्नुभयो । २०३१ सालमा गुल्मी र अर्घाखाँचीमा नयाँ शिक्षा योजना लागु हुँदा उहाँलाई सरकारले जिल्ला शिक्षा कार्यालय गुल्मीको प्राथमिक विद्यालय निरीक्षकमा पदस्थापना गरेपछि उहाँ कहिले गुल्मी, कहिले अर्घाखाँचीमा सोही पदमा कार्यरत रही २०४९ सालमा अनिवार्य अवकाश भई सेवा निवृत्त हुनु भएको थियो ।

म सानो छँदा गोविन्दप्रसाद पोखरेल वाङ्लामा कार्यरत हुनुहुन्थ्यो । उहाँ दिदी भिनाजुलाई भेट गर्न ठूलो बुबाको घरमा गएको समयमा हाम्रो बुबा आमासँग पनि भेट गर्दा म पनि उहाँसँग नजिक हुन पुगेँ । उहाँको सरल व्यवहार मीठो बोलीले गर्दा सबैले उहाँको प्रशंसा गर्नुहुन्थ्यो । उहाँको घरमा हुने यज्ञ, विवाह, व्रतबन्ध आदि कार्यमा हामीलाई निमन्त्रणा हुन्थ्यो भने हाम्रो घरमा पनि त्यस्ता कार्यक्रममा उहाँलाई निमन्त्रणा दिँदा उहाँ उत्साहका साथ उपस्थित हुनुहुन्थ्यो । यी सबै आपसी व्यवहारले हामी निकट थियौँ ।
    
२०३२ सालको परीक्षामा म एसएलसी पास हुँदा उहाँ जिल्ला शिक्षा कार्यालय गुल्मीमा कार्यरत हुनुहुन्थ्यो । उहाँकै सल्लाह र सहयोगमा श्री सिर्सेनी प्रावि सिर्सेनीको शिक्षकमा म नियुक्त भएको थिएँ । समय क्रममा २०३६ सालमा म निजामती सेवामा प्रवेश गरेपछि सात वर्ष अर्घाखाँचीमा विभिन्न कार्यालयमा कार्यरत रहँदा गोविन्दप्रसाद पोखरेल पनि जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीमा कार्यरत हुँदा हाम्रो भेटघाट भइनै रहन्थ्यो । उहाँले मलाई भानिज भनेर आदर गर्नुहुन्थ्यो भने मैले पनि उहाँलाई मामा भनेर सम्मान गर्दथेँ । 

यसरी हाम्रो सम्बन्ध गहिरो बनेको थियो । लामो समयसम्म वाङ्लामा पढाउनु भएको, धर्मशास्त्रको ज्ञाता, सादगी जीवन र सरल व्यवहारका कारण उहाँ त्यस क्षेत्रमा गोविन्द गुरुबाट प्रख्यात हुनुहुन्थ्यो । अर्घाखाँचीमा कार्यरत रहेको समयमा मेरो पनि राम्रै जनसम्पर्क भएको र मेरो कार्यशैली र ब्यवहार उहाँलाई जानकारी हुँदा हाम्रो भेटमा मलाई स्याबास भानिज भन्ने गर्नुहुन्थ्यो ।
        
२०४७ सालमा मेरो सरुवा जिल्ला शिक्षा कार्यालय गुल्मीमा भयो । गोविन्दप्रसाद पोखरेल र नरहरि पोखरेल त्यहीँ कार्यरत हुनुहुन्थ्यो । उहाँ र नरहरि पोखरेल गुल्मीको सदरमुकाम तमघास सुर्केपाटाको लामो घरमा डेरा गरी बस्नुभएको थियो । उहाँहरूकै सल्लाहमा मैले पनि त्यसै घरमा डेराको ब्यवस्था मिलाई भतिजाहरू तीर्थ, हिरण्य र राजेन्द्र अध्ययन गर्न मसँगै बस्ने ब्यबस्था मिलाइयो । 

कार्यालय एउटै भएकाले हामी आपसमा सहकर्मी साथी पनि भयौँ । उहाँ विद्यालय निरीक्षण र अन्य कार्यक्रम संचालन गर्न धेरै फिल्डमा खटिनु हुन्थ्यो । म कार्यालयमा आर्थिक प्रशासन शाखा प्रमुखको जिम्मेवारीमा थिएँ । 

उहाँले कार्यसम्पादन गरी पेश गरेका प्रतिवेदनहरू उदाहरणीय हुन्थे । जिल्ला शिक्षा अधिकारीलगायत सबै सहकर्मी साथीहरूले उहाँको व्यवहार र कार्यसम्पादनको प्रशंसा गर्दथे । कार्यालयमा रहेको समयमा हाम्रो डेरा एउटै घरमा भएकाले साँझको खाना खाएपछि मेरै कोठामा उहाँ, नरहरिजी, हामी जम्मा भई हाम्रा ब्यवहार, समसमयिक विषय र धर्मशास्त्र सम्बन्धी कुराहरू गर्ने गर्दथ्यौँ । 

गोविन्दप्रसाद पोखरेल खाना आफैँ बनाएर सात्विक भोजन गर्नुहुन्थ्यो । डेरामा वा फिल्डमा गएको समयमा पनि उहाँ खाना आफैँ पकाएर खानुहुन्थ्यो । उहाँले धर्मशास्त्रले निर्देशित गरेको आचरण पालन गर्नुपर्दछ भन्नेमा दृढ हुनुहुन्थ्यो । जिल्लामा उहाँलाई गोविन्द गुरु भनेर आदर गर्ने हुँदा उहाँलाई आफ्नो आचरणमा रहन सहज थियो । 

२०४६ चैतमा प्रजातन्त्रको पुनर्वहाली भएको अवस्थामा सबैलाई राजनीतिक चासो थियो । उहाँ नेपाली कांग्रेससँग निकट हुनुहुन्थ्यो भने म वामपन्थी विचाधारासँग नजिक भए पनि हामीले कहिल्यै आपसमा राजनीतिक कुरा गरेनौँ । अनावश्यक कुरामा चासो राख्ने कसैको टिकाटिप्पणी गर्ने र आफूले जानेको विषयमा पनि कसैले नसोधेसम्म यसो हो भनेर भन्ने उहाँको स्वभाव थिएन । 

कार्यालयमा पनि उहाँले मलाई भानिज भनेर सम्बोधन गर्नुहुन्थ्यो म उहाँलाई मामा भनेर सम्बोधन गर्दथेँ । आपसमा सल्लाह लिने दिने विषयमा हामी राय लिने दिने गर्दथ्यौँ । हामी दुई बीचमा न्यानो सम्बन्ध थियो । म उहाँको ब्यवहारबाट प्रभावित थिएँ र छु पनि । त्यसले मैले गोविन्दप्रसाद पोखरेललाई एक आदर्श अविभावक मानेको छु ।
     
हामी दुई वर्ष एउटै कार्यालयमा कार्यरत रह्यौँ । २०४९ कार्तिकमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको नेपाली कांग्रेसको प्रजातान्त्रिक सरकारले हठात् निजामती सेवा नियमावलीमा कर्मचारीको उमेर हद ६० बाट घटाएर ५८ र सेवा अवधि ३० वर्ष कायम गरी संशोधन गर्यो । 

गोविन्दप्रसाद पोखरेलको सेवा अवधि ३० वर्ष पूरा भएकाले उहाँ अनिवार्य अवकाशमा सेवा निवृत्त हुनुभयो । सेवा निवृत्त भएपछि उहाँ आफ्नै घर अरौँदीमा परिवारसँग बस्नुभयो । २०४९ फागुनमा म पनि परिवारसहित गुल्मीबाट बसाइ सराई गरी कपिलवस्तुको सदरमुकाम तौलिहवा गएँ ।  

२०५० बैशाखमा मेरो सरुवा पनि कपिलवस्तुमा भयो । गोविन्दप्रसाद पोखरेलको जग्गा कपिलवस्तुमा भएकोले उहाँ काम विशेषमा तौलिहवा जाँदा हाम्रो घरमा जाने बस्ने गर्नहुन्थ्यो । उहाँले बिहानमा वलिवैश्यदेव र पाञ्चायन देवताको पूजा गर्न हाम्रो घरमा आमाले पूजाको तयारी गरिदिनुहुन्थ्यो । 

उहाँलाई हाम्रो घरमा स्वागत गर्न पाउँदा हामी सपरिवार खुशी हुन्थ्यौँ । आमासँग उहाँले मीठा मीठा कुरा गर्दा सुनिरहुँ जस्तो लाग्दथ्यो । बुटवल शंकरनगरमा हाम्रो ठूलोबुबा र ठूलीआमालाई भेट गर्न आउँदा हाम्रो त्यहाँ पनि भेट भइरह्यो ।
           
पछिल्लो समयमा उहाँ काठमाडौँ पेप्सीकोलामा परिवारसहित बसोबास गर्नुभयो । सरकारी सेवाबाट सेवा निवृत्त भएपछि म पनि परिवारसहित काठमाडौँमा बसोबास गर्न शुरू गरेँ  । काठमाडौँमा म उहाँलाई भेट गर्न उहाँको घरमा जान्थेँ । 

बिरामी भएको थाहा हुँदा अस्पतालमा गई भेट गर्ने गर्दथेँ । गत वर्ष उहाँ बिरामी भएर वीर अस्पतालमा उपचार गराइरहनु भएको थाहा पाएर म उहाँलाई भेट्न अस्पताल जाँदा उहाँलाई अक्सिजन दिएर राखेको अवस्थामा भेट्दा मैले मामा भन्दा उहाँले इसाराले चिनेको संकेत गर्नुभयो । 

परिवारका सदस्यहरूसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिँदा उहाँको स्वास्थ्य अवस्था नाजुक रहेको जानकारी भयो । निराश हुँदै म घर फर्किएँ । भोलिपल्ट २०७९ माघ १ गते माघ कृष्ण नवमीका दिन साँझ भाइ ईश्वरीले मामा अब हामीबीच रहनुभएन भनेर खबर गर्दा हामी सपरिवार स्तब्ध भयौँ । 

परमेश्वरको खटन यस संसारमा जन्म लिएपछि सबैले एक दिन संसारबाट बिदा हुनैपर्ने यो सास्वत सत्य हो तर यो मनले मान्दो रहेनछ । 

मामा गोविन्दप्रसाद पोखरेलको आचरण र ब्यवहारलाई सिको गरी हामीले व्यवहारमा उतार्न सक्यौँ भने उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । उहाँको वार्षिक पुण्यतिथिमा उहाँ प्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दछु । मलमासका कारण उहाँको वार्षिक पुण्यतिथि २० दिन पर सरेर माघ २१ गते आइतबार परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ