arrow

प्रथम वार्षिक पुण्य तिथि

सम्झनामा शैक्षिक क्षेत्रका अगुवा चन्द्रकान्त पन्थी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १७ बिहिबार
tulsi-panthi-80-11-17.jpg

गुल्मी जिल्ला, धुर्कोट डाँडाथोक, गैराखर्क, खहरेखोलामा वि.सं.२००० बैशाख २० गते टीकाराम पन्थीका नाति, लोकनाथ पन्थी र लिलादेवी पन्थीका प्रथम पुत्रको रूपमा चन्द्रकान्त पन्थीको जन्म भएको थियो । टीकारामका चार छोरा बुहारीहरू, छोरीहरूको संयुक्त परिवारमा चन्द्रकान्तले सबैको माया पाउनु भयो । हजुरबुबा टीकाराम र हजुरआमा हस्तादेवीको उहाँ अत्यन्त प्रिय नाति हुनुहुन्थ्यो ।
    
हजुरबुबाले चन्द्रकान्तलाई अक्षरारम्भ गराई अक्षर चिनाउनु भएको हो । २००५ फागुनमा टीकारामको स्वर्गारोहण भएपछि पिता लोकनाथले उहाँलाई पढाईको लागि नेटाखर्कका अन्धा पण्डितबाट प्रख्यात प्रज्ञा चक्षु पं.केशवराज पौडेलको जिम्मा लगाउनु भयो । 

२००६ सालदेखि २०१५ सालसम्म चन्द्रकान्तले उहाँसँग दुर्गा सप्तसती, रूद्री, काव्य, व्याकरण, लघुकौमुदी, मध्यकौमुदी र पुराणहरू अध्ययन गर्नुभयो । २०१५ सालमा चन्द्रकान्त आफ्ना सानो बुबा एवं भानिजदाजु नारायणप्रसाद शर्मा पौडेलको साथमा अध्ययन गर्न बनारस जानुभयो । 

२०२१ बैशाखसम्म वनारसमा रही उहाँले संस्कृत साहित्यमा सम्पूर्ण मध्यमा र अंग्रेजी विषय लिएर हाइ स्कूल पास गर्नुभयो । शास्त्री अध्ययन गर्दागर्दै उहाँ घरमा आउनु भयो । बिदामा घर आएको समयमा घरमा हजुरआमा, पिता र माताले काशीमा पढेर आएको छोराबाट चतुर्मासमा उहाँबाट श्रीमद्भागवत महापुराण सुन्ने इच्छा गर्नु भएकाले चन्द्रकान्तले उहाँका गुरू पं. केशवराजको सान्निध्यमा रहेर श्रीमद्भागवत सुनाउनु भयो । केही समय उहाँले श्री बालचक्षु प्राइमरी स्कूल भनभनेमा अध्यापन कार्य गर्नुभयो ।    

 २०२१ सालमा राजा महेन्द्रले देशमा भूमिसुधार योजना लागू गर्दा कर्मचारीहरूको आवश्यकता पर्दा पदपूर्तिको लागि दरखास्त आह्वान गर्यो । चन्द्रकान्त पन्थी पनि काठमाडौँ गई भूमिसुधार मन्त्रालय अन्तर्गत खरिदार पदमा नियुक्ति लिनुभयो । उहाँ नुवाकोट, रुपन्देही र गुल्मी जिल्लामा कार्यरत रही २०२५ सालसम्म सेवा गर्नुभयो । 

गुल्मीमा कार्यरत रहेको समयमा उहाँले सेवाबाट राजीनामा दिनुभयो । २०२६ सालको गाउँ पंचायतको निर्वाचनमा चन्द्रकान्त पन्थी प्रधानपञ्चको उम्मेदवार भई पराजित हुनुभयो ।  

तत्कालीन समयमा भनभनेलगायत हाडहाडे, वाग्ला र धुर्कोट रजस्थल पंचायतमा मिडिल स्कूल थिएनन् । प्राइमरी स्कूलबाट पाँच कक्षा पास गरेका साना बाल–बालिकाहरूको पढाई समाप्त हुने अवस्था थियो । 

यस्तो अवस्थालाई मनन गरी चन्द्रकान्त पन्थीले भनभनेमा मिडिल स्कूल संचालन गर्न सकेमा छिमेकी पंचायतबाटसमेत विद्यार्थी आउने अवस्था देख्नुभयो । भनभनेको श्री बालचक्षु प्राइमरी स्कूललाई मिडिल संचालन गर्नुपर्छ भनेर उहाँले निर्वाचित प्रधानपंच लगायत सबैलाई सहमतिमा ल्याई छिमेकी पंचायतलाईसमेत सहमत गराउन सफल हुनुभयो । 

चन्द्रकान्तको नेतृत्वमा तिहारमा भैलोबाट रकम जम्मा गरी स्कूलको नयाँ भवन निर्माण र फर्निचरहरू निर्माण भए । २०२७ सालको शैक्षिक सत्रदेखि बालचक्षु प्राइमरी स्कूलमा कक्षा छ संचालन गरियो । छिमेकी वाग्ला, धुर्कोट रजस्थल र हाडहाडेबाट पाँच कक्षा उत्तीर्ण विद्यार्थीहरू भनभनेमा छ कक्षामा आई भर्ना हुँदा विद्यार्थी संख्या पनि राम्रै हुन गयो । 

मिडिल स्कूलको स्वीकृति प्राप्त नहुँदासम्म उनले अवैतनिक शिक्षक भई अध्यापन गर्ने प्रण गर्नुभयो । सरकारबाट प्राइमरी स्कूलको आर्थिक सहायतामात्र प्राप्त हुन्थ्यो । परीक्षा शुल्क बाहेक विद्यार्थीसँग शुल्क नलिई जनसमुदायले आफूखुशी दिएको चन्दाबाट अन्य शिक्षकहरूको तलव दिने गरी शिक्षक भर्ना गरिएको थियो । 

२०२९ सालमा संचालक समितिले मिडिल स्कूलको नाम श्री दीपक मिडिल स्कूल राख्ने निर्णय गरी मिडिल स्कूलको प्रअको जिम्मेवारी चन्द्रकान्त पन्थीलाई दिने निर्णय गर्यो ।
           
२०३१  सालको शैक्षिक सत्रदेखि गुल्मी जिल्लामा नयाँ शिक्षा योजना लागू हुँदा सरकारबाट बालचक्षु प्राइमरी स्कूललाई गाभी श्री दीपक निम्न माध्यमिक विद्यालय भनभनेको नामबाट विद्यालयलाई स्वीकृति प्राप्त भयो । जिल्ला शिक्षा कार्यालयबाट चन्द्रकान्त पन्थीलाई प्रअको जिम्मेवारी दिइयो । सरकारबाट तलव–भत्ता निकासा भएपछि उहाँ वैतनिक शिक्षक हुनुभयो ।
          
भनभनेको वडा नं २ वडाचौर र वडा नं ५ गैराखर्कमा विद्यालय नहुँदा स–साना बाल–बालिकाहरुलाई भनभनेसम्म आउन असजिलो भइरहेको अवस्था थियो । सरकारको आधारभूत शिक्षा कार्यक्रम अन्तर्गत दुवै स्थानमा विद्यालय स्थापना गर्न जिल्ला शिक्षा कार्यालयमा माग गर्ने लगायतका कामको नेतृत्व चन्द्रकान्त पन्थीले गर्नु भएको थियो । २०४५ सालमा श्री गायत्री प्रावि वडाचौर र श्री बालबोध प्रावि गैराखर्कले स्वीकृति पाएका थिए ।
           
श्री दीपक निमाविलाई माविमा स्तरोन्नती गर्न चन्द्रकान्त पन्थीले समय समयमा विद्यालय सहयोग समिति र अविभावकहरूसँग छलफल चलाइरहँदा पनि मावि संचालन गर्न सबै पक्षको सहमति र सहयोग प्राप्त नहुँदा ढिला भइरहेको थियो । 

घरपायकमा मावि नहुँदा छोरीहरूलाई पढाउन मुस्किल भइरहेको अविभावकहरूले पनि महसुस गरिरहेका थिए । समय नआइ केही हुँदैन भने जस्तै भइरहेको अवस्था थियो । २०४६ सालमा प्रजातन्त्रको पुनर्वहाली पश्चात् जनतामा पनि नयाँ उत्साह जागरण भयो । 

भनभनेका जनताले पनि भनभनेमा मावि.संचालन गर्न ढिला भईसकेको महसुस गरी प्र.अ.चन्द्रकान्त पन्थीको नेतृत्वलाई साथ दिँदा २०४८ सालमा मा.वि.स्तरको कक्षा ८ संचालन गर्ने अनुमति प्राप्त गर्यो ।
         
चन्द्रकान्त पन्थीको दूरदृष्टिकोण र निस्वार्थ सेवाभावले गर्दा नै ५ कक्षासम्म पढाई हुने विद्यालयलाई माध्यमिक विद्यालयको १० कक्षासम्मको स्वीकृति दिलाउन उहाँ सफल हुनुभयो । २०५४ सालसम्म उहाँ विद्यालयको प्रअ भई जिम्मेवारी सम्हाली २०५४ सालमा उहाँले स्वेच्छिक अवकाश लिनुभयो । 

२०२१ सालमा निजामती कर्मचारीको रूपमा सेवा प्रवेश गरी ५ वर्ष सेवा गरेको सरकारी सेवाबाट अवकाश लिई परिवारको समेत ख्याल नराखी गाउँको शिक्षा विकासमा उहाँले पुर्याउनु भएको योगदान अतुलनीय छ । यस विद्यालयमा पढेका विद्यार्थीहरू सरकारी सेवाको उच्च पदमा पुग्न सफल भएका छन् । 

डाक्टर, इञ्जिनियर, वकिल, प्राध्यापक भएका छन् । अहिले दीपक माविमा १२ कक्षासम्म पढाई भइरहेको छ । भनभनेमा शिक्षा क्षेत्रमा योगदान पुर्याएको उच्च मूल्यांकन गरी भनभने विकास समाज–गुल्मी काठमाडौँले २०७४ सालमा उहाँलाई सम्मान गरेको थियो ।
       
अध्ययन गर्दा बनारसमा रहेको समयमा बनारसमा रहेका विद्यार्थीहरू र प्रवासमा रहेका वामपन्थी नेताहरूसँगको सम्पर्कमा आउँदा चन्द्रकान्त पन्थी वामपन्थी विचारधाराबाट प्रभावित हुनुभयो । राजनीतिमा उहाँ नेकपा माले हुँदै एमालेको संगठित सदस्य हुनुभयो । 

२०५४ सालमा शिक्षकबाट अवकाश लिएर उहाँ स्थानीय तहको निर्वाचनमा भनभने गाविस वडा नं ३ को वडा अध्यक्षमा निर्वाचित हुनुभयो । माओवादी द्वन्द्वको समयमा गाउँमा बस्ने वातावरण असहज हुँदै गएपछि उहाँ बसाइ सराई गरी २०५९ सालमा कपिलवस्तुको सदरमुकाम तौलिहवामा बसोबास गर्नुभयो ।
         
संस्कृत साहित्यको अध्ययन गर्नु भएकाले उहाँलाई धर्मशास्त्रको राम्रो ज्ञान थियो । निर्णयसिन्धु र धर्मसिन्धुको अध्ययन गरी समाजमा मानिसले सोधेको प्रश्नको जवाफ शास्त्रीय निर्णयको आधारमा दिन सक्ने उहाँमा क्षमता थियो । 

तौलिहवाका स्थानीय पण्डितहरूसँग चन्द्रकान्त पन्थीको सम्पर्क हुँदैजाँदा उहाँ एक सम्मानित पण्डितमा गणना हुन सफल हुनुभयो । कपिलवस्तु र रुपन्देहीमा उहाँ पण्डित चन्द्रकान्त पन्थीबाट चिनिनु भयो । धर्मशास्त्रको अध्ययन र साहित्यमा पनि उहाँले कलम चलाउनु भयो ।
        
चन्द्रकान्त पन्थी २०६६ सालदेखि पन्थी वंशावली तयार गर्न गुल्मी, अर्घाखाँची, प्यूठान, दाङ, कपिलवस्तु र रुपन्देहीका पन्थीहरूको वंशावली संकलन गर्न निरन्तर खटेर विवरण संकलन गर्नुभयो । उहाँकै अध्यक्षतामा २०७० सालमा गौलि पन्थी अध्ययन अनुसन्धान सेवा समाज, नेपाल गठन भई सोही समितिबाट २०७३ सालमा पन्थी वंश ग्रन्थ प्रकाशित गर्न उहाँ सफल हुनुभयो ।
          
चन्द्रकान्त पन्थी २०७४ सालमा तौलिहवाबाट बसाइ सराई गरी बुटवल बेलवासमा बसोबास गर्नुभयो ।  त्यहाँ पनि उहाँ साहित्य श्रृजना, धार्मिक ग्रन्थ र साहित्यमा अध्ययनरत रहनु भयो । साहित्यतर्फ उहाँका वंश पथ, फर्केर सम्झँदा, लोक लिला स्मृति ग्रन्थ र फुटकर लेख र रचना प्रकाशित भएका छन् । 

पछिल्लो समयमा क्यान्सर रोगबाट दुई वर्ष भन्दा बढी समय ग्रसित हनुभई २०७९ माघ २७ गते फाल्गुण कृष्ण पञ्चमीका दिन ७९ वर्षको उमेरमा उहाँको स्वर्गारोहण भयो ।
         
मानिसले यस पृथ्वीमा जन्म लिएपछि एकदिन यस संसारलाई छाडेर जानै पर्दछ । मानिसले आफ्नो जीवनकालमा गरेका राम्रा कामले उसको नाम अमर रहने हो । चन्द्रकान्त पन्थीले शिक्षा क्षेत्रमा गर्नु भएको योगदान, पन्थी वंशावली तयार गर्ने जस्तो महान् कार्य र समाजमा उहाँले गरेका कामले उहाँ युगौँसम्म अमर रहनु हुनेछ ।
            
उहाँ ठूलोबुबाको छोरा मेरो आदरणीय दाजु, शिक्षकको रूपमा आदरणीय गुरु र व्यवहारमा अविभावक हुनुहुन्थ्यो । पन्थी कुलको कुल दीपक दाजुको प्रथम वार्षिक पुण्य तिथिमा उहाँको पाउमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । तिथि अनुसार उहाँको वार्षिकी फागुन १७ गते बिहीबार परेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ