arrow

बज्जिका संस्कृति

logo
शीतल गिरी,
प्रकाशित २०८० माघ १३ शनिबार
shital-giri-2080-10-13.jpg

विश्वको इतिहासमा बज्जि गणराज्य प्राचीन कालदेखि नै प्रतिष्ठित रहेको थियो । सबैभन्दा पहिले गणतन्त्रको स्थापना वैशालीमा भएको थियो । संसारको प्रजातान्त्रिक व्यवस्थाको लागि बज्जि गणराज्य धरै नाम चलेको थियो । बज्जि गणराज्यको राजधानी वैशालीको सन्दर्भमा थुपै दन्तकथाहरू प्रचलित थिए ।

केही मानिसहरूका भनाइमा इक्ष्वाकु वंशका नौ जना राजाहरूले सासन गरेको र तिनीहरूकै नाममा यसको नाम विशालापुरी या विशालगढ अर्थात् वैशाली भनिएको हो । केही मानिसको भनाइमा तथागतको समयमा यहाँ बौद्ध सङ्घको स्थापना भएको थियो । जैन धर्मको चौतीसौँ तीर्थकर वर्धमान महावीरको जन्म यसै वैशालीको कुण्डग्राममा भएको थियो ।

बौद्धधर्मको त्रिपिटकअनुसार, तथागत जब बैशालीबाट यात्रा गरिरहेका थिए, तब उहाँले आफ्ना शिष्य आनन्दलाई भन्नुभयो—  आनन्दः वैशाली बडो रमणीय स्थान छ ।

बाल्मीकि रामायणमा चर्चित विशालपुरी र बुद्ध महावीरकालीन वैशालीमा भौगोलिक दृष्टिले भिन्नता हुँदाहुँदै पनि विशालता सन्निहित छ ।

आज पनि जब कहिल्यै वर्धमान महावीर, बुद्ध, पिंगलकीर्ति, अम्बपाली, गयाधर, रत्नाकर आदिको कर्मभूमिको चर्चा हुने गर्दछ तब बज्जि भूमिको गौरब अझ बढ्ने गर्दछ । बज्जि गणराज्यभन्दा पहिलेका राजा विशालले विशालपुरीको स्थापना गरेका थिए ।

बाल्मीकि रामायणअनुसार वैशालीको तेत्तीसौँ राजा सुमतिले रामलक्ष्मणको राजकीय सत्कार गरेका थिए, जतिखेर उनीहरू मुनि विश्वामित्रको साथमा सीता स्वयंवरको लागि जनकपुर जाँदै थिए । इतिहासकारहरूको मान्यतामा वैशाली गणराज्यको स्थापनापछि दोस्रो पुस्तामा विदेह राज्यको स्थापना भएको थियो । 

लामो समयसम्म विदेह राज्य लथालिङ्गको अवस्थामा रहेको थियो । जतिखेर संसार राजतन्त्रको पन्जामा जकडिएको थियो, त्यतिखेर हामी बज्जिहरू बज्जि, लिच्छवि, ज्ञातृक, विदेह, उग्र, भोग, इक्ष्वाकु र कुसको प्रथम गणराज्यको स्थापनाको २४ वर्ष पूरा भएर लोकतान्त्रिक शासनको सफल संचालनको एउटा आदर्श कायम गरिसकेका पाउँछौँ, जुन सर्वविदित नै छ । यी आठ ओटा राज्यहरूमा लिच्छवि, विदेह, ज्ञातृक र बज्जि गणराज्य प्रमुख थिए ।

प्राचीन कालमा यो धेरै शक्तिशाली प्रजातन्त्रिक गणराज्य थियो । सुरक्षाको दृष्टिकोणले यो तीन ओटा पर्खालले घेरिएको थियो, जसको बीचमा विशाल महल थियो । त्यसको बीचमा एउटा पोखरी थियो । त्यो मङ्गल अभिषेक पुष्करणी को जलको उपयोग राज्याभिषेकको समयमा गर्ने गरिन्थ्यो । यो पोखरीलाई फलामे तारको जालीले छोपिएको थियो । बज्जि सङ्घको स्थापना राज्य चलाउनको लागि गरिएको थियो ।

गङ्गा नदीको आधा भाग बज्जि संघ र आधा भाग मगध गणराज्यमा थियो । बज्जिहरूको एकदम ठूलो संसद भवन थियो, जसमा ७७७७ मानिस एकसाथ बसेर भाग लिन सक्दथे । यहाँ ७७७७ महल, ७७७७ घर, ७७७७ फूलबारी र ७७७७ पोखरी थिए । 

प्राचीन अर्थशास्त्री कौटिल्यको साहित्यमा वृजि र लिच्छवि सङ्घको उल्लेख पाइन्छ । ह्वेनसाङ्गले पनि यसको चर्चा आफ्नो पस्ुतकमा गरेका छन् । बज्जिका सोही बैशालीजनपदको भाषा हो, जसको नामाकरण महापण्डित राहुल सास्कृत्यायनले गरेका हुन् । जैन धर्मका चौबीसौँ तीर्थङ्कर वर्धमानको जन्म पनि वैशाली नगरीमा भएको हो र उनले सम्पूर्ण विश्वमा अहिंसाको सन्देश दिए । 

डा. ग्रियर्सनले आफ्नो प्रामाणिक ग्रन्थ लिंग्विस्टिक सर्वे आँफ इंडियामा बज्जिका भाषालाई पश्चिमी मैथिली नाम दिएका छन्, अर्थात् मैथिलीको बिग्रिएको रुप भनेका छन् । वास्तवमा त्यही रुप वास्तविक बज्जिका भाषा हो । महापण्डित राहुल सांस्कृत्यायनले बज्जिका भाषाको चर्चा गरेको निबन्ध उनको पुस्तक आज की समस्यामा संकलित लेख मातृभाषा की समस्या अन्तर्गत सङ्गृहीत छ । 

बज्जिका नेपालको सर्लाही, रौतहट र बारामा बोलिने प्राचीनतम जनभाषा हो, यसको मैथिलीसँग कुनै सम्बन्ध छैन । यो जनभाषा भारतमा उत्तर बिहारको पूर्वी चम्पारण, पूर्वी सारण, सम्पूर्ण मुजफ्फरपुर, सितामढी तथा पश्चिमी दरभङ्गा क्षेत्रमा बोल्ने गरिन्छ । गुप्तकालीन बज्जि गणराज्यको चर्चा फाह्यानको यात्रावृतान्तमा पनि पाइन्छ ।  
                      
बज्जिका बज्जि गणराज्यको भाषा हो । यस भाषाको आफ्नो लिपि छ, जसलाई कैथी लिपि भन्ने गरिन्छ । आज यो लिपि प्रायः लुप्त हुँदैछ । यस कैथी लिपिको कुनै पनि किसिमको प्रकाशन र पुस्तक पाइएको छैन, लिपिको बारेमा कुरोमात्र चल्ने गरेको छ । हस्तलिखित पुस्तक केही प्राचीन मठहरूमा अझ पनि उपलब्ध छ । सर्लाहीदेखि बारासम्मका मानिस बज्जिका भाषा नै बोल्दछन् । 

भारतीय विद्वान डा. व्रजनन्दन वर्माका अनुसार नेपाल के दक्षिणी तराई भाग में रौतहट से महोतरी तक धडल्ले से (=बज्जिका मातृभाषा ) बोलीं जाती है । कालचक्रको कुटिल गतिविधिहरूको कारण बज्जिकाको लोकसाहित्य लिखित रूपमा उपलब्ध छैन । तर पनि लोकको जिब्रोमा परम्परागत साहित्य सुरक्षित छ । यद्यपि बज्जिकाको थुप्रै लोककविहरूका रचना कालचक्रले साहित्य जागृतिको अभावमा समाप्त भैसकेको छ । तब पनि रचनाहरू खोज्दाखेरी नपाइने होइन । 

सन्त कवि हलधर दासको सुदामा चरित्रको मुद्रण भै सकेको छ तर शिव स्तोत्र र भागवत् भाषा आदि अप्रकाशित ग्रन्थहरूमा उनको मातृभाषा बज्जिकाको संकेतसूत्र विद्यमान छ, यसको बृहत् खोजी गरिनु पर्दछ । विद्यापतिले पनि बज्जिका भाषामा रचना गरेका छन् । “देसिल बयना सब जन मीट्ठा, तैसन जम्पओ अबह्टा (कीर्तिलता)” उनको प्रसिद्ध रचना हो । 

बज्जिका भाषाको यो दुर्भाग्य हो कि यसको प्राचीन साहित्यरचना उपलब्ध छैन । यसको कारण अजातशत्रुले यसको प्राचीन साहित्यलाई नष्ट पारिदियो । यस भाषामा कवि गयाधर दासले १०४५ ई मा बज्जिकामा रचना गरेका थिए । यिनी वैशालीका थिए । बौद्धधर्मको प्रचारको लागि तिब्बतसम्म यात्रा गरेका यिनको कुनै ठोस रचना पाइएको छैन । 

यिनी जनजिब्रोमा मात्र सीमित भएर बसे । मुजफ्फरपुरका पदमौल निवासी श्री हलधर दासले १५६५ ई मा सुदामा चरित्र खण्डकाव्य लेखेका थिए, जसको भाषा बज्जिका हो । सन्त कवि मँगनीरामले १८१५ इ.को वरपर उषाहरण रचना गरेका थिए र अरु तीन ओटा पुस्तक पनि लेखेका थिए (१) मँगनीराम की साखी, (२) राम सागर पोथी, (३) अनमोल रतन यी तीन किताब आज पनि उपलब्ध छन् । यस बाहेक यिनले धेरै भजन र साखी लेखे, जो लोकको जिब्रोमा झुण्डिएकै छ । यिनको कुनै संग्रह पाइएको छैन । नन्दराम दास तथा रघुनाथ दासले शब्दसंहिता प्रमोदबाजीको रचना गरेका थिए । यी सबै रचना बज्जिका भाषामा लेखिएका छन् । 

सन्तकवि कबीर दास १४५६ ई आफ्नो पन्थको प्रचारको लागि यस क्षेत्रको भाषा बज्जिकामा पनि रचना गरेका थिए । लोककवि घाघले कृषिसँग सम्बन्धित थुप्रै रचनाहरू गरेका थिए, जुन आज पनि लोकजीवनमा प्रयोग गरिदै छ । बौद्धग्रन्थ थेरी गाथामा वैशालीकी नगरबधू अम्वपालीले लेखेका थुप्रै रचनाहरू बज्जिका भाषामा पाइन्छ । श्री सहजराम बनियाले सात काण्डको रामायण रचना गरेका थिए । सन्तकवि मोदलता जो १८९० ई मा जन्मेकी थिइन्, यिनले १९२० ईमा (१) मोदलता विवाह पदावली, (२) मोद पदावली, (३) राम–सिय विवाह गीत, (४) मोदलता कविता कुंञ्जको प्रकाशन यिनका छोरा जानकी शरणले गराएका थिए । 

यी सवै बज्जिका भाषाका उत्कृष्ट कृतिहरूमा पर्दछन् । बज्जिका साहित्यका थुप्रै रचनाहरू पुस्तकको रूपमा प्रकाशित भएका छन् तर पनि थोरै हो । नेपालमा हिन्दू, मुस्लिम, बौद्ध, सिख, जैन र ईसाई सबै धर्मका मानिस बस्दछन् । जसको रहन–सहन, खानपिन, भेषभूषा, बोलचाल एकअर्कासँग एकदम फरक छ, यिनीहरूका फरक फरक मातृभाषा छन्, त्यसै गरी नेपालको तराईमा पनि थुप्रै क्षेत्रीय भाषा बोल्ने गरिएको छ, जसमा बज्जिका, मैथिली, भोजपुरी, थारु र अबधी प्रमुख छन् । यहाँ बज्जिका भाषाको लोक संस्कृतीको सन्दर्भमा चर्चा गरिन्छ । स्थानैपिच्छे संस्कृतिमा पनि परिवर्तन पाइन्छ यो सत्य हो । 

कुनै पनि देशको संस्कृति त्यस देशको रीतिरिवाज र त्यस अनुरुप नै लोकगीतको प्रचलन भएको छ, यिनै लोकगीतको आधारमा हामी त्यहाँको लोकसंस्कृतिको स्वरुप आकलन गर्न सक्दछौँ ।

लोकव्यवहार रीतिमा परिणत भएर परिपक्व बन्दछ, तब एउटा प्रथा र परम्पराले जन्म लिने गर्दछ । जिज्ञासा मानवको एउटा ठूलो शक्ति हो । मानव स्वयं आफ्ना लागि पनि जिज्ञासाको विषय बनेको छ, र यस्तो स्व–केन्दित जिज्ञासाको कारण उसले थुप्रै मानवीय अध्ययनहरूको विकास गरेको छ ।

सामान्य रुपमा मानवविज्ञानलाई हामी मानव र उसको कामको अध्ययन भन्न सक्दछौँ । मानव समूहको शरीर–रचना तथा उनीहरूका संस्कृतिहरूका समानताहरू र विभिन्नताहरूको अध्ययन नै मानव–विज्ञानको उदेश्य हो । समाज विज्ञानले मनुष्य र उसको समूहको पारस्परिक सम्बन्धको अध्ययन गर्दछ । इतिहास विशिष्ट घटनाहरूको वर्णन गर्दछ, तिथिमितिको हिसाबले उनीहरूका कार्यकारण सम्बन्धहरूको विश्लेषण गर्दछ । 

समाजको परिधिमा मानवका ती व्यवहारहरू, जुन आवश्यकताको पूर्तिको लागि कार्य, आर्जन र उपभोगसँग सम्बन्धित हुन्छ, अर्थशास्त्रको विषयक्षेत्रमा पर्दछ । सत्ताको प्राप्ति तथा त्यसको विभाजन र उपभोगको विभिन्न पक्षहरूको अध्ययन राजनीति विज्ञान अन्तर्गत राख्ने गरिन्छ । मानव र उसको संस्कृतिको अध्ययनको रूपमा मानवविज्ञान यी विषयहरूको अत्यन्त नजिक भएर पनि यसभन्दा फरक अस्तित्व राख्दछ । 

अन्य सामाजिक अध्ययन आफ्नो दृष्टि मानवको विशिष्ट पक्षहरूमा केन्द्रित गर्दछ, मानवविज्ञान सीमित समाजलाई आफ्नो अध्ययनको विषय वनाएर जीवनलाई त्यसको समग्रतामा हेर्ने प्रयत्न गर्दछ । सांस्कृतिक–सामाजिक अध्ययनको रूपमा यसले विभिन्न संस्कृतिहरू र समाजको संरचना तथा प्रक्रियाहरूको अध्ययन गराउँदछ । 

उन्नाइसौँ शताब्दीभन्दा पहिले यो विषय सामान्यतः भूगोल अथवा इतिहासको एउटा भाग ठान्ने गरिएको थियो । प्राणी जगतका अन्य सदस्यहरूसँग मनुष्य जातिको अलग अलग समूहको वैज्ञानिक वर्गीकरणको प्रथम प्रयत्न यसै युगमा भयो । 

मनुष्य विज्ञानका कतिपय प्रारम्भिक अध्येताहरूको अनुमान थियो, मानव समूहको भाषा तथा संस्कृति उनीहरूका प्रजातीय गुणहरूमा आश्रित हुने गर्दथे । यस विषयको वैज्ञानिक अध्ययनले प्रजातीय गुणहरू भाषा एवम् संस्कृतिसँग सम्बन्ध नभएको मान्यतालाई स्वीकार्ने बित्तिकै मनुष्यको अध्ययन थुप्रै शाखाहरू र उपशाखाहरूमा विभाजित हुन गयो । विशाल प्राणीवर्गको थुप्रै प्राणीहरूमा मनुष्यको मात्र अध्ययनको दृष्टिकोण तथा उसको प्रणाली दुवै पूर्णरूपले प्राकृतिक विज्ञानको अन्य अङ्गहरूको प्रवृत्तिहरूबाट प्रभावित थियो । यस दिसामा मानवविज्ञानले इतिहास एवं समाज विज्ञानको अध्ययन शैलीलाई अँगाल्यो ।

तथ्यको अभावमा ऐतिहासिक अनुमानद्घारा प्राचीन संस्कृतिहरूको पुनःसंरचनाको प्रयत्न नभएको होइन । यसको विपरीत वर्तमानमा समाज शास्त्रीय प्रणाली हिजो आज प्रायः अपनाउने गरिएको छ । शारीरिक मानव विज्ञान तथा सांस्कृतिक मानव विज्ञानमा प्रत्येकको थुप्रै उपभाग छन् । शारीरिक मानव विज्ञानको एक भाग मानवको आदिकालदेखि लिएर वर्तमान कालसम्मका शारीरिक विकासको अध्ययन गराउँदछ र अर्को भाग मानवलाई वर्तमान प्रजातिहरू उनीहरूको शारीरिक विशेषताहरूको वर्गीकरण गर्ने प्रयत्न गर्दछ । देश एवम् कालका सीमारेखाहरूमा नबाँधिएर मानव जातिको प्रत्येक अंशको संस्कृतिको अध्ययन गराउनु यस विज्ञानको उद्धेश्य हो । 

प्रागैतिहासिक कालको अध्ययनद्वारा हामी मानव इतिहासको त्यो अन्धकारमय युगसम्म लैजान सक्छौँ जसको सम्बन्धमा हामीलाई कुनै लिपिबद्ध प्रमाण उपलब्ध छैन । उपयुक्त परिस्थितिहरूमा भूगर्भशास्त्रको वैज्ञानिक अध्ययन प्रणालीबाट हामी प्रागैतिहासिक कालको स्मृतिचिह्नको आयुको अनुमान गर्न सक्दछौँ र यसको आधारमा मानवीय संस्कृतिको क्रमिक विकास एवम् प्रगतिको सम्वन्धमा धारणाहरू पनि निश्चित गर्न सक्दछौँ । 

मानवको यन्त्र र उपकरण तथा भौतिक संस्कृति र कलाको अवशेष उसको जीवन कथाको कतिपय पक्षमात्र हाम्रो सम्मुख उपस्थित गराउँदछ र यसैको आधारमा हामी उसको सम्पर्ण जीवन बुझ्ने प्रयत्न थाल्दछौँ । यसबाट हामी सम्भवतः यो पनि थाहा पाउँदछौँ कि तिनीहरू कस्तो घरमा बस्दथे, कुन अस्त्र–शस्त्रको उपयोग गर्दथे, तिनीहरूमा कस्तो आभूषण प्रचलित थियो अथवा तिनीहरूका खाद्य कुन किसिमका हुने गर्थे ? यस्ता अध्ययनहरूका आधारमा हामी प्राचीन मानवका मनोविकारहरूका सम्बन्धमा केही पनि भन्न सक्दैनौ । न त्यस गएको युगको समाज व्यवस्था, नियम, जीवनदृष्टि तथा विश्वास आदिमा प्रकाश पार्न सक्दछौँ ।

नेपालमा बसोबास गर्ने विभिन्न जातिहरू आ–आफ्नो धर्म, संस्कृति, रीतिथिति, भाषा, वेशवुषामा आस्थावान हुँदाहुँदै पनि समष्टिमा यिनीहरू राष्ट्रिय र नेपाली संस्कृतिमा एकबद्ध रुपले निष्ठा राख्दछन् । यसैले नेपालको राष्ट्रियताको जगेर्ना गर्ने विविध भाषा र जातिहरूको अध्ययन, मनन, अनुसन्धान र खोजी गरी तिनीहरूको उचित संरक्षण हुनु अति आवश्यक भइसकेको छ । 

यहाँका जनताले बोल्ने भाषालाई परम्पराको रूपमा नेपाली समाजले आत्मसात् गरेको छ । यहाँको भाषा नेपालको धरोहर हो । यिनै भाषाहरूमा नै नेपाली लोकसंस्कृति जोगिएको छ । मानव सभ्यताको शुरुदेखि नै मानिसहरूले अभिव्यक्तिको माध्यम भाषा बनाइ आएको र वर्तमान समयमा यसको महत्व झनै बढेको छ । 

नेपालको जाति, तिनीहरूको भाषा र संस्कृतिको प्रागैतिहासिक अध्ययन गर्ने हो भने धक फुकाएर लेख्न सक्ने अवस्था छैन । ईसापूर्वको समयमा वर्तमान बारा, रौतहट र सर्लाहीको भौगोलिक सीमा आजको जस्तो नभए पनि यहाँ बसोबास गर्ने जातिमा अहिर राउतहरूको बाहुल्य हिजोदेखि आजसम्म छँदैछ । नेपाली भूगोलभित्र पूर्व सर्लाहीदेखि पश्चिममा बाराको लगभग गढीमाई ( बरियारपुर ) सम्म बोलिने बज्जिका भाषाको पनि यसो भनौँ बज्जिहरूको आफ्नै समृद्ध लोकसंस्कृति रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ