arrow

बाउन्न नेपाली एसएसबीको नियन्त्रणमा

logo
प्रकाशित २०७२ मंसिर २२ मंगलबार
इटहरी । पूर्वी नेपालका विभिन्न जिल्लाबाट रोजगारका लागि भारत जाने क्रममा सुनसरीको भन्टाबारी नाका हुँदै भारतको वीरपुर पुगेका ५२ नेपालीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ । 

उदयपुर, सप्तरी र दोलखा जिल्लाबाट वीरपुरस्थित भीमनगर पुगेका १९ महिला र ३३ पुरुषलाई एसएसबीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ । सो विषयमा सूचना प्राप्त भइसकेको जानकारी दिँदै सुनसरीका प्रजिअ रविलाल पन्थले एसएसबीले नेपालको प्रहरीलाई जिम्मा लगाएर यथार्थ बुझ्ने काम भइरहेको र ती नेपाली भारतीय भूमिमा नै रहेको बताए । 

सुनसरीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाको टोली वीरपुरतर्फ प्रस्थान गरिसकेको छ । उनीहरु के कति कारणले भारतको भूमिमा पुगेका हुन् भन्ने कुराको सत्यतथ्य बुझेर उनीहरुलाई नेपाल ल्याउने वा छाडिदिने भन्ने कुराको छिनोफानो हुने बताइएको छ । 

एसएसबीले भने उनीहरुलाई मानव तस्करी गर्ने गिरोहले प्रलोभनमा पारेर बेचबिखनका लागि भारतीय भूमि ल्याएको हो कि भन्ने आशङ्कामा नियन्त्रणमा लिएको बताएको प्रजिअ पन्थले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ