काठमाडौ।समृद्ध सिन्धुली नागरिक अभियानले ‘स्टोरी साइकल’ सँगको सहकार्यमा आगामी कात्तिक २३ र २४ गते काठमाडौंबाट ऐतिहासिक स्थल सिन्धुलीगढीसम्म साइकल यात्रा गर्ने भएको छ ।
‘राइड टु सिन्धुली गढी’ नाम दिइएको साइकल यात्रा काठमाडौं–धुलिखेलहुँदै जाने रमणीय वीपी राजमार्गमा हुनेछ ।
सिन्धुलीगढी वीर गोर्खालीले तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको ऐतिहासिक स्थल हो । त्यहाँ हरेक बर्षको कात्तिक २४ गते गोर्खालीले विजय हासिल गरेको सम्झनामा विजयोत्सव मनाउने गरिएको छ ।
नेपाल पत्रकार महासंघ सिन्धुली शाखा, जिल्ला विकास समिति सिन्धुली र स्थानीय सेनाको गणले संयुक्त रुपमा आयोजना गर्ने उक्त विजयोत्सवले सरकारी उत्सवको रुप लिइसकेको छ ।
आगामी बर्ष सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुग्दैछ । समृद्ध सिन्धुली नागरिक अभियानले त्यस उत्सवलाई बर्षैभरि विशेष कार्यक्रमहरु गरेर मनाउने योजना बनाएको कार्यक्रमका संयोजक सौरभ ढकालले बताए ।
उनले भने, ‘साइकल यात्रा त्यसैको सुरुआत हो । साइकल यात्राको माध्यमबाट सिन्धुलीगढीलाई विश्वसामु परिचित गराउने हाम्रो उद्देश्य रहेको छ’।
साइकल यात्रा हरेक बर्ष गर्ने योजना रहेको र ‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकल यात्रीलाई यस यात्रामा सहभागी गराउने आफ्नो प्रयत्न रहने ढकालले बताए ।
यस बर्षको साइकल यात्राको कार्यक्रम प्रव्धनमा पर्यटन बोर्डले सघाउने भएको छ । स्थानीय रुपमा सिन्धुलीगढी संरक्षण समितिले कार्यक्रमको प्रबन्ध मिलाउने छ ।
‘राइड टु सिन्धुलीगढी’ मा यात्रा गर्न इच्छुक साइकल यात्रीका लागि आवेदन खुल्ला गरिएको छ । प्रतिब्यक्ति १ हजार रुपैयाँ तिरेर यात्रीले आफूलाई दर्ता गर्न सक्नेछन् । यात्रीका लागि आयोजकले खाने, बस्ने, टिसर्ट, बीमा, फर्कँदा सवारी साधन लगायतको ब्यवस्था गर्ने छ।
साइकल यात्रामा विश्व साइकल यात्री पुस्कर शाह विशेष आकर्षण हुनेछन् । राइड टु सिन्धुलीगढीको नेतृत्व भने ब्यवसायिक साइकल यात्री देवेन्द्र बस्नेतले गर्नेछन् ।