काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप–कप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल नेतृत्वको टोली कलर्स एक्स फ्याक्टर्सलाई राहात मिलेको छ । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग ईपीएल अन्तर्गत वुधबार भएको पहिलो खेलमा कलर्सले कान्तिपुर गोर्खाजमाथि १५ रनको जित हासिल गरेको छ ।
टस हारेर पहिले व्याटिङ गरेको कलर्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतिमा १ सय २४ रनको योगफल तयार पारेको हो । उसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ३० रनको योगदान गरे ।
कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लले पनि २० रनको योगदान गरे । यस्तै, राजेश पुलामीले १७ रन जोड्दा अमर रौतेलाले नटआउट १६ रन जोडे । गोर्खाजका लागि बसन्त रेग्मी र ललित भण्डरीले समान २ विकेट हात पारे । यस्तै, ललित राजवंशी र आकाश विष्टले पनि समान एक–एक विकेट लिए ।
१ सय २५ रनको चुनौती पछ्याएको गोर्खाज निर्धारित २० ओभर क्रिजमा टिके पनि १ सय ९ रन मात्र जोड्न सक्यो । गोर्खाजका लागि प्रदीप एेरीले सर्वाधिक ३१ रनको योगदान गरे ।
यस्तै अन्तिम थापाले ३० रन जोड्दा टोलीका कप्तानी सम्हालेका बसन्त रेग्मीले पनि २५ रन जोडे । कलर्सका लागि अविजित १६ रन जोडेका अमर रौतेलाले बलिङमा पनि ३ विकेट लिए । यस्तै, अविनाश कर्णले २ विकेट लिँदा हरिशंकर शाह र योगेन्द्र सिंह कार्कीले पनि समान एक–एक विकेट लिए ।
जितसँगै ३ खेलबाट २ जितका सहित ४ अंक बटुलेको कलर्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कान्तिपुर गोर्खाज भने ३ अंकसहित तालिकाको चौथो स्थानमा छ ।