काठमाडौं । शरद भेषावकर व्याटिङका सौखिन मात्रै होइनन् । उनी आफुलाई व्याट्म्यानमा मात्र सीमित राख्न चाहँदैनन् । बलिङमा पनि अब्बल देखाउन चाहन्छन् । सो लय शरदले जारी एभरेष्ट प्रिमियर लिग ईपीएलमा समेत दोहोर्याएका छन् ।
त्रिवि क्रिकेट मैदानमा विहिबार भएको दोस्रो खेलमा शरदले व्याटिङमा ३० रन जोडे भने बलिङमा ३ विकेट हात पारे । जसले गर्दा प्रतियोगितामा अपराजित रहेको पञ्चकन्या तेजले सगरमाथा लिजेण्ड्समाथि ४९ रनको शानदार जित निकालेको छ ।
जितसँगै पञ्चाकन्या जारी प्रतियोगितामा हाल सम्म शतप्रतिशत नतिजा निकाल्ने एकमात्र टोली बनेको छ । टस जितेर व्याटिङ रोजेको पञ्चकन्याले निर्धारित २० ओभरमा मात्र ५ विकेटको क्षतिमा १ सय ८५ रनको गतिलो योगफल तयार पार्याे ।
उसका लागि करण केसीले अर्धसतकीय पारी खेले । ५२ बल सामना गरेका केसीले ४ छक्का र ४ चौकाको मद्दतमा ५२ रन जोडे । यस्तै, पृथु बास्कोटाले अवजित रहँदै ३८ रनको योगदान गरे । खेलमा अलराउण्ड प्रदर्शन गरेका कप्तान शरद भेषावकरले ३० रन जोड्दा कुशल भुर्तेलले पनि २२ रन जोडे ।
१ सय ८६ रनको चुनौती पछ्याएको सगरमाथा लिजेण्ड्स १७ दशमलव ४ ओभर खेल्दै मात्र १ सय ३६ रनमा समेटियो । उसका लागि मेहबुव अलामले सर्वाधिक २३ रन जोडे । यस्तै, राहुल विश्वकर्मा र चन्द्र साउदले समान २२ रनको योगदान गरे ।
सगरमाथाले आफ्ना दुई भरपर्दा व्याट्सम्यान अनिल मण्डल र विनोद भण्डारीलाई सस्तैमा गुमायो । अनिल मण्डल डक आउट भए भने टोली कप्तान समेत रहेका भण्डारी समेत १ रनमै पवेलियन फर्किए ।
कसिलो बलिङ गरेको पञ्चकन्याका लागि शरद भेषावकर र सुशील कँडेलले समान ३ विकेट लिए । यस्तै आरिफ सेख र दिपेन्द्र सिंह एेरीले पनि एक–एक विकेट लिए ।
पुष्प थापा र कुशल भूर्तेलले पनि टोलीलाई एक–एक विकेट दिलाए । जितपछि पञ्चकन्या चार खेलबाट शतप्रतिशत नतिजाका साथ ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । प्रतियोगितामा एक खेल पनि जित्न नसकेको सगरमाथा भने अंकविहिन रहँदै तालिकाको पुछारमा छ ।