arrow

नेतृत्वसँग रावलको टसल, पार्टीबाटै हटाउनेसम्मको तयारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
kp-oli-bhim-rawal-uml.jpg
तस्बिर – फाइल ।

काठमाडौं । विगत लामो समयदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टसल गर्दै आएका डा. भीमबहादुर रावललाई  पार्टीमा उचित जिम्मेवारी दिने कि पार्टीबाटै हटाउने भन्ने दोधार रहेको छ । पार्टी नछाडेको तर पार्टीको विधि विधानसमेत नमानेको र विगतमा संसदमा रहँदा पार्टीको ह्विपसमेत उल्लंघन गरेको भन्दै अहिलेसम्म जिम्मेवारीविहीन बनाइएका रावलसँग पार्टी नेतृत्वको निरन्तर टसल परेपछि उनलाई जिम्मेवारी दिने वा हटाउने भन्ने अझै दोधार रहेको छ । 

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँग अछाममा आयोजित ‘ग्रास रुट’ कार्यक्रममा विवाद भएपछि यसले झन् उग्र रुप लियो । शनिबार बसेको पार्टी सचिवालय बैठकमा पनि यो विषयले प्राथमिकताका साथ उठ्यो । 

नेताहरुले जिम्मेवारी लिएर काम गर्ने हो जिम्मेवारी दिने होइन भने उनीसँग कुरा गरेरै बिदा गर्ने धारणा राखेपछि नेता रावलसँग संवाद गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको  सो टोलीसँग वार्ता गर्न रावल पनि तयार भएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले रावल पार्टीको विधि र विधानविपरीत चलेको निष्कर्ष निकालेको छ । 

पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा गठित वार्ता टोलीमा पार्टीका सचिव एवं सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा सदस्य छन् । 

हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समेत रावलले पार्टीलाई सहयोग नगरेको भन्दै एमालेले त्यसबारे वार्ता गर्न उच्चस्तरीय टोली गठन गरेको हो । चितवनको सौराहामा भएको दशौँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी दिएयता केपी शर्मा ओली र भीम रावलको सम्बन्ध थप चिसिएको थियो । 

ओलीलाई सर्वसम्मत बनाउने कसरतमा रावल बाधक बनेपछि ओली चिढिएका थिए । रावलले अहिले विहान कुराकानी गर्दै आफू पार्टीमा नीति सिद्धान्तमा र आफूले उठाएको राष्ट्रियताको सवालमा छलफल गर्न र उचित जिम्मेवारीकै पक्षमा रहेको बताएका छन् । 

रावलले मानेमा एमाले अध्यक्ष पनि कुनै न कुनै जिम्मेवारी दिएर पार्टीमा राख्ने पक्षमा रहेका छन् । ‘पार्टीबाट बाहिर रहेका साथीहरु त फर्कने क्रममा हुनुहुन्छ भने रावललाई पार्टीबाट बाहिर राख्ने मनशाय होइन तर विधि विधान र थितिमा नरहने हो अराजग हुने छुट कोही कसैलाई छैन त्यसकारण पनि उहाँसँग छलफल गर्न जिम्मेवारी दिन संवाद गर्नुपरेको हो’, एमालेका एक सचिवालय सदस्यले भने । 

रावललाई के जिम्मेवारी दिने भन्ने बारेमा एमालेभित्र कुनै तय भएको छैन । विगतमा एमालेभित्र उपाध्यक्ष हुँदा सुदुरपश्चिम इन्चार्ज थिए । तर ओलीले माओवादीबाट आएका लेखराज भट्टलाई इन्चार्ज दिएपछि रावल चिढिएका थिए । 

एमालेभित्रै १० बुँदे सहमति गरेर बसेका रावललाई सुदूरपश्चिम इन्चार्जबाट बञ्चित गरेपछि ओलीसँग उनी चिँढिएका थिए । त्यसको असर १० औँ महाधिवेशनमासमेत पर्यो । १० औँ महाधिवेशनमा अध्यक्ष आलीसँग प्रतिस्पर्धा गरेका रावल र उपाध्यक्षमा प्रतिस्पर्धा गरेका घनश्याम भुसालमध्ये भुसाललाई स्थायी कमिटी सदस्य बनाइएको थियो । 

तर रावलले भने केन्द्रीय सदस्यसमेत हुन मानेका थिएनन् । ओलीले केन्द्रीय सदस्य त रहनुस् भन्दा उनले नमानेकाले ओली झन् चिँढिएका हुन् । त्यसयता रावल पार्टीको कुनै पनि बैठकमा सहभागी छैनन् । 

पार्टीले खोजी पनि गरेको छैन । मंसिर ४ को निर्वाचनमा उनलाई अछामबाट टिकटसमेत नदिइ माओवादीबाट एमालेमा आएका झपट बोहोरालाई टिकट दिइएको थियो । 

टिकटमा विवाद भएपछि रावल चुनाव प्रचारप्रसारमा समेत गएनन् । टिकट नपाएको झ्वाँक अर्का स्थायी कमिटी सदस्य भुसालले भने पार्टी नै परित्याग गरे । उनी अहिले समाजवादी पार्टीका महासचिव रहेका छन् । 

रावल भने अन्तिम समयसम्म एमालेमै रहने भन्दै त्यही सिंगौरी खेलिरहेका छन् । ६ दिनअघि अछामको साँफेमा आयोजित पार्टीको ग्रासरुट कार्यक्रममा उपाध्यक्ष पौडेल, प्रदेश इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारीलगायत उपस्थित थिए । 

सो कार्यक्रममा उपाध्यक्ष पौडेलले आपत्तिजनक अभिव्यक्ति राखेपछि इमानदार कार्यकर्ताले प्रतिकार गरेको रावलले आरोप लगाएका थिए । 

पौडेलले पार्टीको नीति विपरीतका गतिविधि गरेकोसमेत रावलको दुखेसो थियो । रावलले निर्वाचनताका आफूले कसैलाई हराउन कुनै भूमिका नखेलेको स्पष्ट पार्दै आफू ५० वर्षसम्म हिँडेको गन्तव्य परिवर्तन गर्ने पक्षमा नरहेको स्पष्ट पारेपछि पौडेलले अछाम जानका लागि रावलको भिषा नचाहिने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ