arrow

दाउमा राजनीति

उपनिर्वाचनमा मंसिर ४ मा पराजित भएका अनुहार नै बढी

तीनका लागि ६९ उम्मेदवार, बारामा मधेस प्रतिष्ठा, ३६ उम्मेदवार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
upanirwachan-2080-election.jpg

काठमाडौं । मंसिर ४ को निर्वाचनमा पराजित भएका उम्मेदवारहरुले उपनिर्वाचनमार्फत संसदमा प्रवेश गर्ने चोर बाटो पहिल्याएका छन् । बैशाख १० गते तीन निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदै गर्दा मंसिर ४ मा पराजित नेताहरुले उपनिर्वाचनको चोर बाटो अपनाएर संसद छिर्न खोजेका हुन् । 

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको तनहुँ–१, रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको बारा–२ र रवि लामिछानेको सांसद पद खारेज भएपछि खाली भएको चितवन–२ मा उपनिर्वाचन हुने भएपछि सोमबार यसअघि पराजित भएका उम्मेदवारले पुनः उम्मेदवारी दिएका हुन् । 

बारा–२ मा मंसिर ४ को निर्वाचनमा पराजित नेताहरुबीचमा नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रमेश खरेल पराजित उम्मेदवार हुन् । 

यादवलाई नेपाली कांग्रेस, माओवादी, नेकपा एस र लोसपाको समर्थन रहेको छ ।  यादव मंसिर ४ को निर्वाचनमा सप्तरी–२ बाट पराजित भएका थिए । त्यस्तै शिवचन्द्र मंसिर ४ मै सोही निर्वाचन क्षेत्रमा पराजित भएका थिए । 

कुशवाह मंसिर ४ मा माओवादी केन्द्रबाट उम्मेदवार थिए । तर यसपटक पार्टी परिवर्तन गरेर जनमतबाट उम्मेदवार बनेका हुन् । यस्तै, काठमाडौं–१ बाट पराजित रमेश खरेल पनि बारा–२ मै उपनिर्वाचनका उम्मेदवार बनेका छन् । 

नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले शनिबार रास्वपामा समाहित हुँदै उम्मेदवार बनेका थिए । खरेल नेपाल सरकारका पूर्व कर्मचारी अर्थात् नेपाल प्रहरीका पूर्व डीआईजीसमेत हुन् । 

त्यसैगरी, तनहुँ–१ मा पनि मंसिर ४ का पराजित उम्मेदवार नै उपनिर्वाचनमा उम्मेदवार बनेका छन् । मंसिर ४ मा काठमाडौंं–६ बाट पराजित सर्वेन्द्र खनालले उम्मेदवारी दिएका छन् । 

पूर्वआईजीपी खनाल एमालेबाट फेरि उम्मेदवार बनेका हुन् । खनाल र खरेल व्याचमेट हुन् । खनाललाई आईजीपी बनाएपछि खरेलले आफूलाई अन्याय भएको भन्दै राजीनामा दिएर सुुसान नामको पार्टी खोलेका थिए भने खनालले केपी शर्मा ओली भन्दा अरु व्यक्ति कोही पनि राष्ट्रवादी नभएको भन्दै एमाले प्रवेश गरेर काठमाडौ क्षेत्र नं ६ मा उम्मेदवारी दिएका थिए । 

तनहँु १ मा भर्खरै कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका अर्थविद् डा. स्वर्णिम वाग्ले र नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई प्रतिस्पर्धामा छन् । 

भट्टराई र वाग्ले भने पहिलोपटक चुनावी प्रतिस्पर्धामा छन् । यस्तै चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः उम्मेदवार भएका छन् । लामिछाने मंसिर ४ मा निर्वाचित भएर उपप्रधानसहित गृहमन्त्रीसमेत बनेका थिए । तर नागरिकता कसुरमा दोषी ठहर हुँदा सांसद पद गुमाएका थिए । 

नागरिकता दुरुपयोग कसुरमा सर्वोच्चमा मुद्दा परेकै बेला निर्वाचित भएका रविले चितवन–२ का जनतालाई झुक्याएका थिए । 

अहिले पनि उनी भावनात्मक भाषण दिएर जनतालाई गुमराहमा राख्ने खोज्दै छन् । नागरिकता दुरुपयोग जस्तो गम्भीर मुद्धामा दोषी ठहर भएका रवि नैतिकताको आधारमा केही महिनामै उम्मेदवार बन्नुलाई उचित मानिएको छैन । 

यो निर्वाचन क्षेत्रमा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् । न्यौपाने र श्रेष्ठ पनि पहिलोपटक चुनावी प्रतिस्पर्धामा छन् । 

चितवन निर्वाचन क्षेत्र नं. २ मा बैशाख १० मा हुने उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी दिएका छन् । १२ जना दलका उम्मेदवार छन् भने बाँकी १२ जना स्वतन्त्र उम्मेदवार हुन् । 

१ लाख २४ हजार ६९५ मतदाता रहेको चितवन २ मा मतदानका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र तोकिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गत बारा क्षेत्र नम्बर २ बाट विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरेर ३६ जनाले उम्मेदवारी दिएका छन् । जसमा दलका मात्र २४ जना छन् । 

उम्मेदवारी फिर्ताको समय आउँदै गर्दा तीन क्षेत्रबाट उम्मेदवारी दिएका सबैको उम्मेदवारी कायम हुनेमा भने शंका छ । यद्यपि चासो भने तीव्र देखिएको छ । 

त्यस्तै तनहुँमा भने दलीय उम्मेदवारीमात्र परेको छ । नौ दलका नौ जनाको मात्र तनहुँ १ मा उम्मेदवारी परेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ