arrow

सुशीलले गरे गगनलाई सम्मान

logo
प्रकाशित २०७२ मंसिर २२ मंगलबार
Nc President Koirala-2.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले कोशलराज रेग्मी–जयबहादुर राई स्मृति पुस्तकालयको भवनमा सहयोग  गरेको भन्दै  नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन थापालाई सम्मान गरेका छन् ।  नेपाली काँग्रेस खोटाङ क्षेत्र नं २ ले आज यहाँ आयोजना गरेको वर्तमान राष्ट्रिय राजनीतिक सङ्कट समाधानमा नेपाली काँग्रेसको भूमिका विषयक अन्तर्कृ्रयाका साथै कोशलराज रेग्मी–जयबहादुर राई स्मृति पुस्तकालयको भवनमा सहयोग गर्ने दातालाई सम्मान कार्यक्रममा सभापति कोइरालाले वार्ता र संवादका माध्यमबाट तराईको समस्या समाधान हुने धारणा राखेका हुन् । 
 
पूर्वप्रधानमन्त्री समेत रहेका कोइरालाले आफ्नो सरकारको पालामा बनेको संविधान कार्यान्वयन गर्न आफ्नो दल प्रतिबद्ध रहेको स्पष्ट पारे । राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताका लागि नेपाली काँग्रेसले कसैसँग सम्झौता नगर्ने  उल्लेख गर्दै उनले संविधानले लोकतान्त्रिक मूल्य मान्यतालाई स्थापित गरेको भन्दै समावेशी र जनसङ्ख्याका आधारमा क्षेत्र निर्धारण गरिने बताए । उनले पार्टीको आगामी महाधिवेशनले ६०/४० को भागबन्डा अन्त्य गर्नु आवश्यक रहेको औँल्याए । 
 
नेपाली काँग्रेसका कोषाध्यक्ष चित्रलेखा यादवले मधेसका मुद्दालाई समेट्न नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताइन् । संविधान कार्यान्वयनका लागि राजनीतिक एकता आवश्यक रहेको औँल्याउँदै उनले  “बिना राष्ट्रिय एकता संविधान कार्यान्वयन हुन सक्दैन, राष्ट्रिय एकताबिना कुनै पनि निर्वाचन सम्भव छैन, त्यसैले मुलुकलाई अहिले राष्ट्रिय एकता आवश्यक छ ।” 
 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले मुलुकमा भएका विभिन्न आन्दोलन नेपाली काँग्रेसको नेतृत्वमा भएकाले संविधान कार्यान्वयनका लागि पनि काँग्रेसको महत्वपूर्ण भूमिका हुने स्पष्ट पारे । उनले देशलाई अगाडि बढाउने प्रमुख जिम्मा नेपाली काँग्रेसको भएको बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले संविधान घोषणासँगै मुलुकमा चुनौती थपिएकाले ती चुनौतीको सामना गर्न नेपाली काँग्रेस अग्रसर हुनुपर्ने बताउँदै हिमाल, पहाड र तराईका जनताको समान हकअधिकार कायम हुनेगरी संविधान कार्यान्वयन हुनुपर्नेमा जोड दिए । 
 
काँग्रेसका खोटाङ क्षेत्र नं २ का क्षेत्रीय सभापति तीर्थ भट्टराईले नेपालको राष्ट्रियता हिमाल, पहाड र तराई भएकाले तराईको समस्या समाधान गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ