arrow

कास्कीमा लागूऔषध दुर्व्यसनीको संख्या घट्यो : प्रहरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
Press club.jpg

पोखरा । कास्कीमा लागूऔषध दुर्व्यसनीको संख्या घटेको पाइएको छ । चालु आर्थिक वर्ष ०७९/०८० को पहिलो ९ महिनासम्ममा ५८ वटा मात्रै मुद्धा दर्ता भएका छन् । 

प्रेस क्लव गण्डकीले पोखरामा आयोजना गरेको ‘लागूऔषध दुर्व्यसनी विरुद्ध सञ्चारकर्मीको भूमिका’ विषयक सचेतनामूलक कार्यक्रममा आव ०७७/०७८ मा १४९ थान र ०७८/०७९ मा २४३ थान मुद्दा दर्ता भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

अघिल्लो वर्ष र चालु आवको ९ महिनाको तथ्याङ्क हेर्दा लागूऔषध प्रयोगकर्ताको संख्या घटेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए । 

पछिल्लो ९ महिनामा दर्ता भएको मुद्धालाई विश्लेषण गर्दा लागूऔषध दुर्व्यसनीको संख्या घटेको देखिएको उनले बताए । उनले भने, ‘अबको तीन महिनामा त्यति धेरै मुद्धा दर्ता हुने सम्भावना देखिँदैन ।’ 

प्रहरी निरीक्षक मानन्धरका अनुसार लागूऔषध दुर्व्यसनकर्ता सबैभन्दा धेरै १५ देखि २४ वर्ष उमेर समूहका छन् । उनका अनुसार दुर्व्यसनीमा १५ देखि २४ उमेर समूहका ५२ प्रतिशत, २५ देखि ३५ वर्षका ४२ प्रतिशत र ११ र १२ कक्षाका विद्यार्थी ३१ प्रतिशत छन् ।

उनले अभिभावकले आफ्ना बालबालिकाका बारेमा हरदम जानकारी राख्ने, बालबालिकाको हालसालैको फोटो सधैं साथमा राख्ने, बालबालिकाको पहिरन, हुलिया बारेमा जानकारी राख्ने गर्नुपर्दछ । साथै साथी-सँगीको बारेमा जानकारी राख्ने, फोन नम्बर राख्ने र स्कूल/कलेज तथा अन्य रुटका बारेमा अभिभावक सधैं चनाखो बन्नुपर्नेमा उनले जाड दिए । 

बालबालिकाको बद्लिदो व्यवहार र बालबालिका अपराधकर्मतर्फ प्रेरित हुन सक्ने बारेमा सजक रहन पनि उनले अभिभावकलाई सुझाव दिए । 

पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं सामाजिक विकास समितका सदस्य धनकुमारी पोखरेल तिमिल्सेनाले लागूऔषध दुर्व्यसनीबारे परिवारसम्मै सचेतना जगाउनुपर्नेमा जोड दिइन् । 

प्रेस क्लव गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजाराम पौडेल र सचिव गौरव त्रिपाठीले पनि बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ