काठमाडौ । एकाविहानै झिसमिसे नै थियो । एउटा अपरिचित नम्बरबाट फोन आयो । ठेगाना थियो नेपाल ।उही नेपाल जहाँबाट ५ वर्ष अघि मात्रै एकैपटक धेरै पैसा कमाउने इच्छा राखेर विदेशिएकी थिईन् शीला । नेपालमा पनि काम नराम्रै त होईन खै किन हो किन आफूलाई एकैपटक सम्पन्न देख्न चाहेर नै पो हो कि घर परिवारले पनि नजान कत्ति आग्रह गरे । तर पटक्कै मानेकी होईन ।
नेपालमा जसोतसो राजनीतिमा लागेका बुबाको चिनजानको आधारमा निमाविसम्म पढाउनको लागि करारमा नाम निस्किएको थियो । खासै क्षमतावान नभएपनि नेपालको अव्यवस्थाको फाईदा उनले उठाउन पाएकी नै थिईन् । तर उनलाई त्यतिमा चित्त नबुझेरै पनि हुनसक्छ उनमो विदेश मोहले उनलाई सधैं सताईरह्यो ।
‘आज घटस्थापनाको दिन परदेशिएकी छोरीलाई एसो सम्झिएको नि’ उताबाट एक्कासी घटस्थापनाको कुरा आएपछि जशोतसो सम्हालिएर एकैक्षण कुरा त गरिन् तर फोन राख्ने वित्तितै शीलाले मन थाम्न सकिनन् । मन थाम्नु पनि कसरी परिवारले स्वीकृति नदिँदा नदिँदै इजरायलतिर हानिएकी उनले पाएको पीडा अहिलेसम्म पनि आफूले आफैंलाई भन्दा बाहेक अरू कसैलाई पनि भनेकी थिईनन् ।
जति पनि फोन आउँथ्यो नेपालबाट उनी आफू एकदमै सुख सुविधामा बसिरहेको बताउँथिन् त फोनको लाईन काटिएसँगै डाको छाडेर रूने गर्थिन् । घरमा भएको भए नपुग्दो नै के थियो र ? घटस्थापनाको कुरा गरेर आमाले फोन राखेसँगै उनले सम्झिन थालिन् ‘घटस्थापनाको दिनदेखि विद्यालय बन्द भएपछि दशैं बोलाउन भन्दै घरको लिपपोत, बजार झरेर दशैंको लागि सरसामानको किनमेल, दशैंकै लागि भनेर पनि नयाँ कपडाको जोहो लगायत... ।’ यस्तै यस्ता यावत वितेका पल सम्झँदै उनी अझैसम्म पनि सुँक्क सुँक्क रूँदैथिईन् ।
यत्तिकैमा कतैबाट आएको कडा आवाजले उनको रोदन त्यत्तिकैमा रोकिदियो । रूनु पनि कति नै थियो र कसैले देख्यो भने आफ्नै देशका चिनेजानेकाले त कठै भन्दैनन् । यताको को हो को मान्छेले के को बुझ्थ्यो पीडा ।
शीला अझैपनि अविबाहित नारी हुन् । रूपमा स्वर्गका गणिकाहरूसमेत पछि पर्नै रूप भएकी शीलाको नेपालमै हुँदा पनि धेरै किशोरदेखि अधबैंसे र उस्तैखालका त बृद्धसमेत पछि लाग्ने गरेका थिए । तर आफ्नो जवानीलाई उनले नेपालमा त सहजै जोगाएकी थिईन् । कारण पनि एउटै थियो । गाउँको मास्टरकी छोरी कसैले आँखा लगाएपनि त्यो भन्दा बढीमा आँटै पुग्दैनथ्यो । शीला आफैंपनि त्यस्तै मात्तिएर हिँडेकी थिईनन् । तर इजरायल आईसकेपछि भने उननलाई आफ्नो जवानी जोगाउन धेरै कठिन भईरहेको थियो ।
अर्काको देशमा कुदृष्टिराख्नेहरूसँग बच्नको लागि धेरै संघर्ष गर्नुपरिरहेको थियो ।
घरधन्दाको लागि विहानै नउठेको भनेर घरबेटीले कराएपछि आफ्नो सबै पीडा विर्सिएर उनी लागिन् घरधन्दामा । विहान ६ बजे उठेदेखि बेलुकी ९ बजेसम्मको थियो ड्यूटी । तलब बच्थ्यो बल्लतल्ल नेपाली ४५ हजार । नेपाल फर्किन पनि मन नलागेको होईन । ३ वर्ष पूरा नगरी नेपाल फर्किन एकातिर आफूले कामगरेको ठाउँको नै समस्या त अर्काेतिर नेपालमा हुने सम्भावित नकारात्मक चर्चाको कारणले पनि उनी नेपाल फिर्ता हुन सकेकी थिईनन् ।
दशैं उनको लागि हर्ष भन्दा पनि पीडा बढाउने चार्ड बनेको छ । दशैंको एकदिन पनि विदा नपाउने र सधैंभरी रोजगारदाताको झर्काेलाग्दो चिच्याहटले उनलाई दशैंमा आफ्नी आमाले माया गरेर पकाएर दिएको मासुको याद आउने गरेकोछ । एकातिर दशैंको दिन पनि अर्काको घरमा कामगर्नुको पीडा माथि घरपरिवारसँगको विछोड अर्काे पीडाको कारण बनेर तेर्सिन्छ शीलाको मनमा ।
यस्ता पीडाका पात्र शीलाजस्तै लाखौं प्रवासी नेपालीहरु बनेका छन् । जो रहर र बाध्यताले पनि आफ्नो जन्मभूमि छाडेर विदेश पलायनहुन पुगेका छन् । त्यस्ता प्रवासी नेपालीहरूको लागि पनि नेपालीहरूको महान पर्व विजयादशमीको शुभकामना ।