arrow

पार्टीमा के हैसियत हुन्छ भीम रावलको ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
bhim-rawal-uml-2078-kartik.jpg
तस्बिर – फाइल ।

काठमाडौं । एमालेको दशौँ महाधिवेशनपछि एकाध समय बाहेक एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेकै पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावलको बीचमा संवादहिनता रहेको छ । 

दुवैले एक अर्कालाई नाम लिएर वा नलिइकन सार्वजनिक रुपमा सामान्य ढंगको आलोचना गर्दै आएका छन् । दशौं महाधिवेशनपछि नै पार्टीको जिम्मेवारी बाहिर रहेका पूर्वउपाध्यक्ष डा‍ रावलले मिसन ग्रास रुटको बेला अछाममा निषेधको घटना भएपछि सम्बन्धमा निकै उत्तारचढाव नै आएको थियो । 

तर त्यसपछि राववलाई पार्टीबाट बाहिर नराख्न पार्टीका अधिकांश नेता कार्यकर्ताहरुले दबाब दिए । त्यसकै परिणमा स्वरुप एमालेले पार्टी काममा फर्काउने गरी संवाद प्रक्रिया अगाडि बढाएको छ । 

दशौँ महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा पराजित भएपछि जिम्मेवारी बाहिर रहेका रावललाई काममा फर्काउने गरी आइतबार एमालेको वार्ता टोलीले छलफल अगाडि बढाएको छ ।  

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलस्थित ललितपुरमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको वार्ता टोलीले रावलसँग डेढ घन्टा संवाद गरेको थियो  । रावललाई पार्टी काममा फर्काउने गरी संवाद गर्न १८ चैतमा एमालेको केन्द्रीय सचिवालय बैठकले पौडेलको नेतृत्वमा सचिव लेखराज भट्ट र स्थायी समिति सदस्य कर्णबहादुर थापा रहेको तीन सदस्यीय टोली गठन गरेपछि अनौपचारिक संवाद रहेका नेताहरु आइतबार च्यासलमा जुटेका हुन् । 

दुवै पक्ष आफ्ना कमजोरी स्वीकार गर्ने र पार्टी हितमा लाग्नेगरी अघि बढ्ने विषयमा छलफल गरेका छन् । साथै उपाध्यक्ष पौडेलले रावललाई केही दिनभित्रै एमाले अध्यक्ष ओलीसँग भेटघाट गराई जिम्मेवारीमा फर्काउने तयारी समेत थालेका छन् । 

रावलले अध्यक्ष ओली, उपाध्यक्ष पौडेल वा महासचिव शंकर पोखरेलले औपचारिक रूपमा बोलाएर छलफल गरेको अवस्थामा मात्र आफ्ना असन्तुष्टि र पार्टी कामका विषयमा कुराकानी गर्ने अडान राख्दै आएका थिए । 

रावलको त्यही अडानलाई ध्यानमा राख्दै एमालेले संवादका लागि पौडेलको नेतृत्वमा अलग्गै कमिटी बनाएर जिम्मेवारीमा फर्काउने भएको हो । रावलले छलफलमा सकारात्मक परिणाम निकाल्ने गरी खुलस्त कुराकानी भएको बताए ।

 ‘आइतबार बिहान ९ देखि साढे ११ बजेसम्म उपाध्यक्ष विष्णु पौडेल, सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापाजी र मेरोबीचमा पार्टी केन्द्रीय कार्यालयमा खुलस्त वार्ता भयो,’ रावलले भने, ‘छलफलमा सकारात्मक परिणाम निकाल्ने गरी फेरि बस्ने सहमति गरियो ।’ 

पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको सुदूरपश्चिमको अनुगमनकर्ता तोकिएका उपाध्यक्ष पौडेल सुदूरपश्चिममा जाँदा रावलसँग टकराव उत्पन्न भएको थियो । त्यसपछि एमालेले उनलाई पार्टीको जिम्मेवारी ल्याउने उद्देश्यले संवाद शुरु गर्ने निर्णय गरेको थियो । 

स्थायी कमिटी सदस्य थापाले कुराकानी सकारात्मक दिशामा अगाडि बढेको जानकारी दिँदै पार्टीको बैठकले जिम्मेवारीबारे निर्णय लिने बताए । ‘उहाँसँग संवाद सकारात्मक रूपमा अगाडि बढेको छ, के जिम्मेवारी दिने, पार्टीले निर्णय गर्नेछ, तर अहिलेलाई पार्टीको विविध विषयमा छलफल भएको छ, उहाँ पार्टीकै पक्षमा सकारात्मक हुनुहुन्छ’, थापाले भने । 

रावललाई दशौँ महाधिवेशनलगत्तै अघिल्लो वर्षको २६ मंसिरमा बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले केन्द्रीय सल्लाहकार कमिटी सदस्य मनोनित गरेको थियो । 

तर आफूलाई सोध्दै–नसोधी टिके प्रथाबाट मनोनित गरिएको भन्दै रावलले जिम्मेवारीसम्बन्धी पार्टीको निर्णयलाई अस्वीकार गर्दै आएका थिए । महाधिवेशनमा दुई सय २३ मत ल्याएर अध्यक्षमा ओलीसँग पराजित रावलले पदाधिकारीमा उठ्ने स्वतः केन्द्रीय सदस्य बन्ने विधानको व्यवस्था पनि अस्वीकार गरी आफ्नो उम्मेदवारी खारेज गराएका थिए । 

त्यसयता लामो समयदेखि जिम्मेवार बाहिर रहेका रावलमाथि संसदीय दलको बैठकमा अनुपस्थित हुने गरेको, संसदमा  संसदीय मूल्य–मान्यताविपरीत निरन्तर ह्विप उल्लंघन गरेको एमालेको आरोप छ । सोही कारण अछामबाट सर्वसम्मत सिफारिस भए पनि अध्यक्ष ओलीले रावललाई टिकट दिन अस्वीकार गरेका थिए । 

सुदूरपश्चिममा राम्रो प्रभाव राख्ने रावललाई जिम्मेवारीविहीन बनाउँदा र टिकट नदिँदा ४ मंसिरको चुनावमा पार्टीले क्षति व्यहोरेको भन्दै कार्यकर्ता तहले प्रश्न उठाइरहेपछि नेतृत्वमाथि उनलाई उपयुक्त जिम्मेवारी दिनुपर्ने दबाब पर्दै आएको छ । 

रावल ०४८ देखि लगातार संसदीय चुनाव लड्दै आएका थिए । ०४८ मा पराजित भएका रावल ०५१ मा भने निर्वाचित भए । ०५१ मा निर्वाचित भएका उनी स्वर्गीय मनमोहन अधिकारी नेतृत्वको तत्कालीन सरकारमा पर्यटन राज्यमन्त्री बने । 

०५५ मा पर्यटनमन्त्री बने । ०५६ मा भने पराजित भए । ०६४ को संविधान सभा निर्वाचनमा शेरबहादुर कुँवरलाई प्रत्यक्ष उम्मेदवार बनाएर रावल समानुपातिकतर्फका सदस्य भए । 

०६६ देखि ०६८ सालसम्म गृहमन्त्री बने । त्यसपछि ०७२ मा उपप्रधान तथा रक्षामन्त्री बने । एमालेभित्र सुदूरपश्चिममा पकड कायम राखेका रावललाई पार्टीले नै उनलाई टाढा राखेको रावल पक्षका नेताहरुको आरोप लागेको छ । ‘अब उहाँ जिम्मेवारीमा फर्कनुहुन्छ’, संवादमा सहभागी स्थायी कमिटी सदस्य थापाले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ