arrow

वायु प्रदूषणले शहरमा रोग बढाउँदै, छैन सरकारी योजना

logo
सोम, 
प्रकाशित २०८० वैशाख ५ मंगलबार
dust-kathmandu-2080.jpg

काठमाडौं । वायु प्रदूषणले देशलाई अस्तव्यस्त पारेको छ । अहिले बिरामी पनि बढेका छन् । प्रदूषणका कारण नाक चिलाउने, आँखा चिलाउने, आँखा रातो हुने, छाला सुख्खा हुने, चिलाउने, रिंगटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने जस्ता समस्या देखिन थालिसकेका छन् । 

वर्षा नहुँदा प्रदूषण झन् बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन मौसम फेरबदल नहुने भएकाले यो अवस्था झन् बढ्न सक्ने बताएको छ । 

प्रदूषण बढेका कारणले गर्दा यसलाई कम गर्नेतर्फ सरकारले कुनै योजना नै चालेको छैन । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव मेघनाथ काफ्लेले सरकारले कुनै पनि कार्यक्रम नल्याएको बताए । 

उनका अनुसार वन विभागले डढेलो सम्बन्धी कार्यक्रम ल्याएको छ । डढेलो नियन्त्रणमा जोड दिइएको छ । अर्थात् अहिले सरकारको बुझाइमा नेपालको वातावरण प्रदूषण हुनुमा डढेलो नै प्रमुख कारण हो । 

अवस्था गम्भीर बन्दै जाँदासमेत केही दिनका लागि भए पनि प्रदूषण बढाउने उद्योग कलकारखाना र सवारी साधनको चाप कम गराउनेतर्फ सरकारले सोचेकै छैन । 

प्रवक्ता काफ्लेले भने, ‘तत्कालका लागि सोर्सको डिटेल स्टडी नगरीकन यही कारणले नै भन्ने देखिएको छैन । एउटा डढेलो हो कि भन्ने छ । त्यसैले हामीले कुनै पनि कार्यक्रम ल्याएका छैनौं ।’

विगतका वर्षमा पनि नेपालको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) निकै बढेको थियो । 

त्यतिबेला पनि सरकारले कुनै योजना ल्याएको थिएन । त्यसबारेमा विगत सम्झदै काफ्ले भन्छन्, ‘यसअघि अघिल्लो वर्ष यातायातबाट हो कि भनेर अल्टरनेट गर्ने कि भन्ने थियो । तर गरिएन । अहिले त त्यो पनि छैन ।’ 

कस्तो छ नेपालका मूख्य शहरहरुको वायु प्रदूषणको अवस्था ? 
एक्यूएयर डट कमका अनुसार मंगलबार मध्यान्ह सबैभन्दा बढी एयर क्वालिटी इन्डेक्स (एक्यूआई) दाङको तुलसीपुरमा २४७ मापन गरिएको छ । त्यस्तै भक्तपुरमा २०८, काठमाडौंमा १८३, मध्यपुर थिमीमा १७५, पाटनमा १६५, धनकुटामा १५७, कीर्तिपुरमा १५३, जुम्लामा १४६ तथा वीरेन्द्रनगरमा १०४ रहेको छ । 

गत शनिबारदेखि नै काठमाडौंसहितका शहरहरुको अवस्था अस्तव्यस्त रहेको छ । शनिबार काठमाडौंमा १८९, आइतबार १७७, सोमबार १७८ रहेको थियो । 

आईक्यूएयरले बुधबारदेखि सुधार हुने अनुमान गरेको छ । तर उसले आगामी सोमबार फेरि बढ्ने जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ