arrow

कार्तिक ४ र ५ गते उपत्यकामा पठन–पाठन ठप्प पार्ने अस्थायी शिक्षकहरुको चेतावनी

अस्थायीलाई स्वतः स्थायी बनाउने प्रयत्न सफल हुनै सक्दैन : निरौला

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
asthai-teachers--news.jpeg
काठमाडौं । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले वर्तमान शिक्षा ऐन २०७३ को विरोध गर्दै सो ऐनमा आफूहरुले भने बमोजिम बुँदाहरु संशोधन नगरे दशैंतिहार लगत्तै सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । आईतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै समितिले पाँच बुँदे मागसहित आन्दोलन घोषणा गरेको छ । 
 
आगामी कार्तिक २ गते प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजेदेखि धर्ना दिने समितिले जनाएको छ । त्यस्तै, कार्तिक ३, ४ र ५ गते रिले अनसनमा बस्ने र कार्तिक ४ र ५ गते उपत्यकाभित्रका सम्पूर्ण सामूदायिक विद्यालयमा पठन पाठन बन्द गर्ने समेत चेतावनी दिएको छ । 
 
समितिका केन्द्रीय अध्यक्ष निरेन्द्र कुँवरले आफूहरुले यसअघि पनि विभिन्न आन्दोलन तथा संघर्षका कार्यक्रमहरु गरिसकेकाले यसपटक राज्यले आफ्ना मागहरु सम्बोधन नगरे कडा रुपमा प्रस्तुत हुने र देशव्यापी शैक्षिक संस्थामा पठन–पाठन ठप्प पार्ने चेतावनी दिए ।
 
शिक्षा ऐन २०७२ अनुसार ०७२ असोज २ गतेसम्मका सम्पूर्ण अस्थायी शिक्षकलाई स्थायी प्रक्रियामा लैजानुपर्ने, उमेरहदका कारण अवकाशमा परेका स्थायीको प्रक्रियामा पर्न नसकेका शिक्षकलाई औषधि उपचार र उपदानको सुविधान दिनुपर्ने, द्धन्द्धपीडित तथा विस्थापित शिक्षकलाई निश्काशित सेवा अवधि गणना हुने गरी पुनःवहाली तथा स्थायी गर्नुपर्ने लगायतका ५ बुँदे मागहरु समितिले अघि सारेको छ । 
 
नेपाल शिक्षक महासंघका अध्यक्ष केशव निरौलाले अस्थायी शिक्षकहरुलाई स्वतः स्थायी बनाउने प्रयत्न अब सफल हुनै नसक्ने स्पष्ट पारे । उनले महासंघ शतप्रतिशत शिक्षकहरुको हकहितको पक्षमा रहेकाले उनीहरुको जायज माग पूरा गर्न दबाब दिन तयार रहेको बताए ।  
 
अध्यक्ष निरौलाले विद्यालयमा पठन–पाठन नै ठप्प पार्ने गरी आन्दोलन गर्नुको अब कुनै औचित्यता नै नभएको जिकिर गरे । उनले अघि थपे,‘हामी अब असफल हुने आन्दोलमा किन होमिने ? सफल हुनेगरी होमिनुपर्छ ।’ उनले आन्तरिक प्रतिष्पर्धामा सहभागी हुने र गोल्डेन ह्याण्डसेक लिएर औषधि उपचार उपदान लिने दुईवटा विकल्प रहेको समेत बताए । 
 
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले अस्थायी शिक्षकहरुको समस्या समाधान गर्नेगरी सबै सरोकारवालाहरुसँग विशेष अन्र्तक्रिया भए समाधानको उपाय निस्कने विश्वास दिलाए । 
 
थापाले अघि थपे,‘हाम्रो प्रयत्न भनेको अब निकास दिने हो, अस्थायी शिक्षकहरुको समस्या हामी सबैको समस्या हो, अब खण्डित आन्दोलन गरेर हुँदैन, एकिकृत आन्दोलन गर्नुपर्छ ।’ यद्यपि, थापाले माग पूरा गराउन गरिने दबाबमूलक कार्यक्रममा विद्यालयको पठन–पाठन नै ठप्प पार्ने घोषणामा भने सहमत हुन नसक्ने स्पष्ट पारे । 
 
कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष भोला सापकोटा र अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लालबहादुर बिसीले अस्थायी शिक्षकहरुको माग पूरा गराउने कुरामा सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ