arrow

ईपीएल क्रिकेटको उपाधि पञ्चकन्यालाई, कलर्स उपविजेता

सतक वर्षाउने आसिफ बने हिरो

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
EPL-winer-FNL.jpeg
काठमाडौं । एभरेष्ट प्रिमियर लिग त्रिकेट ईपीएलको उपाधि पञ्चकन्या तेजले जितेको छ । फाइनलसम्म अपराजित रहेको कीर्तिमान रच्दै पञ्चकन्याले उपाधि कब्जा गरेको हो । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा कलर्स एक्स फ्याक्टर्सलाई ४० रनले हराउँदै पञ्चकन्याले उपाधि चुमेको हो । विजेता  पञ्चकन्याले ५ लाख  र ट्रफि पायो । 
 
पञ्चकन्यालाई उपाधि दिलाउन आसिफ सेख नायक सिद्ध भए । फाइनल खेलमा आसिफले व्याटिङको जादु देखाए । विष्फोटक व्याटिङ गरेका आसिफले अविजित १ सय ११ रनको योगदान गरे । जम्मा ६४ बल सामना गरेका आसिफले ८ छक्का र ७ चौका प्रहार गरे । आसिफको यो सतक प्रतियोगिताकै पहिलो सतक हो भने सर्वाधिक स्कोर पनि हो । 
 
टस जितेर व्याटिङ रोजेको पञ्चकन्याले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७१ रनको योगफल तयार पार्‍यो ।
 
पञ्चकन्याले कप्तान शरद भेषावकरलाई सस्तैमा गुमायो । शरद २ रनमै पवेलियन फर्किएपछि पञ्चकन्या संकटमा पर्‍यो । तर, संकटलाई आसिफले सम्हाल्दै खेललाई गति दिए । यस्तै अरिफ सेखले २३ रन जोड्दा सोनु तामाङले पनि अवजित १० रन जोडे । 
 
कलर्सका लागि अमर रौतेलाको बलिङ निकै खर्चिलो रह्यो । २ ओभर बलिङ गरेका अमरले ४० रन खर्चेर १ विकेट लिए । यस्तै अविनाश कर्ण, संगम रेग्मी र योगेन्द्र सिंह कार्कीले समान एक–एक विकेट लिए । 
 
१ सय ७२ रनको चुनौती पछ्याएको कलर्स १ सय ३१ रनमै समेटियो । उसका लागि टोलीका कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रनको योगदान गरे । राजेश पुलामीले ३७ रन जोड्दा हरिशंकर शाहले १४ रन जोडे । अन्य व्याट्सम्याने भने दोहोरो अंक जोड्न सकेनन् । 
 
पञ्चकन्याका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । सुशील कँडेल र शरद भेषावकरले समान २ विकेट हात पार्दा भुवन कार्की र दीपेन्द्र सिंह एरीले पनि समान एक–एक विकेट लिए । यस प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो । साथै हरेक टिमको नेतृत्व राष्ट्रिय टोलीका खेलाडीले गरेका थिए ।



नयाँ