काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान अजय जडेजाले अब नेपाललाई क्रिकेट कसरी खेल्नुपर्छ भन्नेबारे कसैले सिकाउनु नपर्ने बताएका छन् । एभरेष्ट प्रिमियर लिग ईपीएलको फाइनल खेलपछि जडेजाले यसो बताएका हुन् ।
विजेता टोलीलाई बधाईं दिँदै जडेजाले यो एउटा मात्र टोलीको जित नभएर सबै टोली र सम्पूर्ण नेपालीको जित भएको बताए । जडेजाले प्रतियोगितामा खेलाडीहरुले गरेको प्रदर्शनको समेत प्रशंसा गरे ।
जडेजाले नेपाली दर्शकले क्रिकेटप्रति देखाएको प्रेम प्रशंसनीय रहेको उल्लेख गरे । उनले प्रतियोगितामा पाहुनाको रुपमा सहभागि हुन पाएकामा खुशी प्रकट गरे । जडेजाले अन्तिममा ‘जय नेपाल’ भन्दै दर्शक र खेलाडी सबैलाई खुसी पारे ।
जडेजा ईपीएलको फाइनलमा प्रमुख अतिथिको रुपमा सहभागि हुन नेपाल आएका हुन् । शनिबार नेपाल आएका जडेजाले कीर्तिपुर क्रिकेट मैदानको भ्रमण गरेपछि प्राकृतिक मैदान हुँदा हुँदै मैदानबारे नेपालले टाउको दुखाउन नहुने बताएका थिए ।