- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एमाले पार्टी सचिव, सांसद एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीबारे एमाले ‘पर्ख र हेर’ को अवस्थामा देखिएको छ । एमालेका नेता कार्यकर्ताहरुले देशविदेशबाटै रायमाझीलाई कारबाही गर्नुपर्ने आवाज उठाइरहेका बेला पार्टी भने पर्ख र हेरको अवस्थामा पुगेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय पदाधिकारी नै जोडिएपछि एमालेले तत्काल उनीमाथि कारबाही गर्ने मनस्थिति नदेखाएको भए पनि अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ ।
आसन्न केन्द्रीय कमिटी बैठकका एजेन्डामा छलफल गर्न मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले रायमाझीबारे आन्तरिक कारबाही वा अनुसन्धानबारे केही निर्णय नलिइ उनले कानूनी प्रक्रियामा सघाउनुपर्ने ठहर गरेको छ ।
‘जुन अनुसन्धानको प्रक्रियामा कमरेड टोपबहादुर रायमाझीको नाम आएको छ । कानून र विधिको शासन मान्ने पार्टी भएको हुनाले विधि र कानूनपूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ,’ बैठकपछि प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका एमाले सचिव रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न पार्टीले निर्देशन दिएर सचिवालय बैठक टुंग्याइएको छ ।
मंगलबार बसेको एमाले सचिवालय बैठकले रायमाझी फरार हुनुको साटो प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने निर्णय गरेको हो । रायमाझीलाई कारबाही गर्ने विषयमा भने छलफल भएको तर उनी आएर प्रहरीलाई सहयोग गरेमा सत्य तथ्य पत्ता लगाउन सहज हुने भएका उनी काठमााडौं आएर सहयोग गर्न निर्देशन दिएको प्रवक्ता गुरुङले बताए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गुरुङले एमाले विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक गरिने अनुसन्धानलाई सघाउनुपर्नेमा जोड दिइएको बताए । ‘अनुसन्धान निष्कर्षमा पुगिसकेको छैन, दोषी ठहर भइसकेको छैन अहिले त अनुसन्धानको प्रारम्भ मात्रै छ यस्तो विषयमा उहाँले प्रहरीलाई सहयोग गर्दा राम्रो हुन्छ’, पार्टीका उपमहासचिव एवं प्रचारविभाग प्रमुख गुरुङले भने ।
पार्टीभित्र उनलाई कारबाही गर्न, निलम्बन गर्न दबाब बढिरहेको बेला सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । एक पदाधिकारीका अनुसार पक्राउ पूर्जी जारी भएपछि फरार रहेका सांसद रायमाझीलाई निलम्बन गर्ने पार्टीभित्रबाटै दबाब बढेको थियो ।
एमालेले नै रायमाझीलाई लुकाएको आरोप चिर्न पनि पार्टीलाई निलम्बनको निर्णय लिनको लागि नेताहरूले दबाब दिएको ती पदाधिकारीको भनाई छ । ‘बैठकमा निलम्बन गरेर अघि बढ्नुपर्ने प्रस्ताव भएको थियो तर अनुसन्धान प्रकृया सकिएपछि मात्रै यस्तो गर्दा राम्रो होला भन्ने आवाज बढी भएकाले तत्कालै उनलाई निलम्बन गर्नतर्फ नलागी प्रहरीलाई सहयोग गर्न आग्रह गरिएको हो’, बैठकमा सहभागी एक पदाधिकारीले भने ।
उनका अनुसार भविष्यको सम्भावित सत्ता समीकरणमा एक–एक सांसदको महत्वपूर्ण भूमिका हुने भएकाले रायमाझी निलम्बनमा नपरून् भन्ने एमाले केही नेताहरुको इच्छा रहेकाले पनि तत्कालै निलम्बनको प्रकृया अघि नबढाइएको हो ।
गत बुधबार गृहजिल्ला अर्घाखाँचीमा रहेका रायमाझी बुटवल हुँदै काठमाडौं आउँदै गर्दा त्यहीबाट फरार भएका हुन् । उनी अहिले भारतको लखनउ, गोरखपुर भएको स्रोतले जनाएको छ ।
उनी फरार भएपछि प्रहरीले मंगलबार घरमा छापा मारेको छ । सातदोबाटोस्थित रायमाझीको घरमा काठमाडौं प्रहरी परिसरको टोलीले छापा मारे पनि आरोपी रायमाझी भने भेटिएका छैनन् ।