arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुरलाई छानबिनमा सहयोग गर्न एमालेले बोलाएको छ : पृथ्वीसुब्बा

भोलि बिहान सम्ममा आत्मसमर्पण गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
Prithivi_subba_intervew36582.jpg

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले सचिव टोपबहादुर रायमाझीलाई छानबिनमा सहयोग गर्न निर्देशन दिएको बताएका छन् । आजको प्रतिनिधि सभा बैठकमा उपमहासचिव गुरुङले सो कुरा खुलाएका हुन् । 

हिजो बसेको एमाले सचिवालय बैठकपछि रायमाझीलाई फोन गरेर नेपाल आउन भनिएको छ । सदनमा जानकारी दिँदै गुरुङले भने,' विधि पूर्वक र कानुन पूर्वक जुन प्रकारको अनुसन्धान र छानबिन भइरहेको छ यसमा हाम्रा पार्टीका टोपबहादुर रायमाझीलाई हामीले हिजो निर्देशन गरेका छौं । तपाई यो अनुसन्धानमा छानबिनमा सहयोग गर्नका लागि पुग्नुस् सहयोग गर्नुस् । हिजोको एमाले सचिवालय बैठकले निर्देशन गरेका छौं ।' 

सोसँगै पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझीले आत्मसमर्पण गर्ने तयारीमा छन् ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेसँगै एमाले नेता रायमाझीले आत्मसमर्पणको तयारी थालेको एमाले उच्च स्रोतले बताएको छ ।  प्रहरीलाई झुकाएर बच्न सफल रायमाझी हाल भारतमा छन् । भारतमा रहेका उनले आज अथवा भोलि बिहान सम्ममा आत्मसमर्पण गर्ने तयारीमा छन् । 

रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ । उनको नाममा डेढ करोडको चेकसमेत प्रहरीले फेला पारेको छ । बाबुको सहयोग बिना सन्दीपले यति ठूलो रकम हात पार्न नसक्ने निश्चित नै रहेको प्रहरी स्रोतको दाबी छ । 

अहिलेसम्म नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय रहेको आरोपमा गिरोहका आठ जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । 

उपमहासचिव गुरुङले सरकारले तलमाथि नगरीकन दोषीहरू कोही पनि छुट्न नहुने बताएका छन् । उनले भने,' कानुनको शासन मान्ने एक कटिबद्ध सांसदको हैसियतले यो छानबिन र अनुसन्धानलाई सरकारले तलमाथि नगरीकन दोषीहरू कुनै पनि नछुटुन् । निर्दोष व्यक्ति कोही पनि नपरून् भन्ने अभियानका साथ लागोस् । नेकपा एमाले सरकारको काममा सहयोग गर्न तयार छ ।' 



नयाँ