काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले नेपाली क्रिकेटको विवाद समाधानका लागि सल्लाहकार समिति (समूह) गठन गरेको छ । आइसीसीले मंगलबार राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गर्दै ६ सदस्यीय समिति गठन गरको जानकारी गराएको हो ।
आइसीसी प्रतिनिधी अमर शेखले हेर्ने गरी समितिमा समान हैसियतमा खेलकुद मन्त्रालयका सहसचिव चुडामणी पौडेल, नेपाल क्रिकेटसंघ क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे, व्यवसायी बसन्त चौधरी, राष्ट्रिय टिमका पूर्व कप्तान पवन अग्रवाल, पूर्व कार्यवाहक अध्यक्ष दीपक कोइराला र राष्ट्रिय खेलकुद परिषद्का एक जना प्रतिनिधीलाई समितिमा राखिएको छ । विवाद समाधान गर्न आएको आइसीसी कार्यकारी सहितको टोलीले गएको भदौ १९ गते पत्रकार सम्मलेन गरी दुई साताभित्र सात सदस्यीय टोली गठन गर्ने घोषणा गरेको थियो । यद्यपि, समिति ढिलो गरी गठन भएको हो ।
एक महिनामा मात्रै टोली गठन भएको जानकारी आएको हो । राष्ट्रिय खेलकुद परिषद्का प्रेस सल्लाहकार रोहित दाहालले आइसीसीले टोली गठन भएको जानकारी व्यक्तिगत रुपमा पठाएको बताए । उनले भने, ‘त्योसँगै समितिको कार्यविधि र क्षेत्राधिकार समेत उल्लेख गरेर पठाएको छ ।’ पत्रमा आगामी डिसेम्बर सम्म यो समितिले काम गर्ने र निर्वाचन गर्ने भनिएको छ ।
समितिले क्रिकेटसँग सम्बन्धित सबै पक्षसँग छलफल गरेर नयाँ बाटो अपनाउने काम गर्नेछ । गएको भदौमा आइसीसीका प्रमुख कार्यकारी सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर क्रिकेट बोर्डको अवधारणामा जाने सहमति जनाएको थियो ।
प्रधानमन्त्रीसंगको भेटमा खेलकुद मन्त्री दलजित श्रीपाइलीले स्वतन्त्र बोर्ड गठन गर्ने प्रस्ताव गरेपछि आइसीसी प्रमुख कार्यकारी अधिकृत डेभिड रिर्चडशन नेतृत्वको टोली सहमत हुँदै क्यानलाई लागेको प्रतिबन्ध फुकुवा गर्न सकारात्मक बनेको थियो । यद्यपि, क्यानको विवादकैबीच सर्वोच्चमा परेको रिटको अझै सुनुवाई भएको छैन ।