arrow

काँग्रेस सभापतिमा मेरो उम्मेदवारी सुनिश्चित छ : नेता पौडेल

logo
प्रकाशित २०७२ मंसिर २३ बुधबार
फलेवास (पर्वत) । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको आगामी महाधिवेशनमा सभापतिको लागि आफुले उम्मेदवारी दिने सुनिश्चित भैसकेको खुलासा गर्नुभएको छ । नेपाल प्रेस यूनियन पर्वत शाखाले आज बिहान कुश्माबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले पार्टीले के भन्छ भन्दा पनि आफ्नो निर्णय आफैँ गर्ने भएकाले मेरो उम्मेदवारी रोकिँदैन । उहाँले अहिलेसम्म आफुले सुशील कोइराला र शेरबहादुर देउवा पक्षबीच मध्यस्थता गरेको बताउँदै अब आफ्नो निर्णयबाट पछि नहट्नेसमेत ठोकुवा गर्नुभयो । 
 
उपसभापति पौडेलले समयको माग र पार्टीको आवश्यकतालाई हेरेर आफुले उम्मेदवारी दिने निर्णय गरिसकेको बताउँदै अहिलेसम्म पार्टीलाई गरेको योगदानका कारण आफ्नो जीतसमेत सुनिश्चित रहेको पनि दाबी गर्नुभयो । अर्को प्रसङ्गमा पौडेलले वर्तमान समस्याको निकासको बिन्दु भनेको नेपाली काँग्रेसले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावनै भएको बताउनुभयो । उहाँले उक्त प्रस्तावमाथि छलफल गरेर निर्णय लिने वित्तिकै मधेसको समस्या समाधान हुने पनि बताउनुभयो । 
 
‘संसदबाट त्यसलाई पारित गरौँ, समस्या तत्काल समाधान हुन्छ,’ उहाँले भन्नुभयो । उपसभापति पौडेलले मधेसवादी दललाई दशगजा छाडेर वार्ताको टेबुलमा आउन आग्रह गर्नुभयो । उहाँले दशगजामा बसेर नाका रोक्दैमा समस्याको समाधान हुनेवाला छैन, दशगजा छाडेर वार्तामा आउनुहोस् त्यहीँबाट निकास निस्कन्छ, उहाँले भन्नुभयो । पौडेलले मधेसमा गएर संविधानका अन्तरवस्तुबारे जानकारी गराउन नसक्दा समस्या भएको बताउनुभयो । उहाँले संविधानसभाले निर्माण गरेको अहिलेको संविधान दक्षिण एसियाकै उत्कृष्ट रहेको दाबी गर्दै एकदुई जनाको विचार नसमेटिँदैमा संविधान अपुरो र जनमुखी छैन भनेर भ्रम नछर्न मधेसवादी दललाई चेतावनी पनि दिनुभयो । 
 
पौडेलले वर्तमान समस्याको समाधान गर्न नेपाली काँग्रेसले नै अग्रसरता देखाएको बताउँदै समस्याको समाधानकै लागि आफ्नै नेतृत्वको सरकार हुँदा संशोधन प्रस्ताव दर्ता गरेको बताउनुभयो । उहाँले केपी ओलीसँग प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्न कोइरालाले उम्मेदवारी दिनुलाई लोकतान्त्रिक प्रकृया भएको बताउँदै उम्मेदवारी दिँदैमा काँग्रेस अराष्ट्रिय नहुने पनि बताउनुभयो । पौडेलले आम नेपालीलाई संविधानका बारेमा जानकारी गराउने उद्देश्यले ‘कस्तो बन्यो संविधान, अब सुरु गरौँ एकताको अभियान’ देशव्यापीरुपमा सञ्चालन गर्ने जानकारी दिँदै आपूm त्यसैको सिलसिलामा देश दौडाहामा निस्किएको पनि बताउनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ