arrow

पाप धुरीबाट कराउँछ 

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०८० जेठ ६ शनिबार
article-rajendra-panthi-65.jpg

नेपाली राजनीतिमा भित्रिएको अपराधीकरण र व्यवसायीकरणको चरमोत्कर्ष र पराकाष्ठा भनेकै अहिले गृह मन्त्रालयकै संलग्नतामा देशका नागरिकलाई अनागरिक बनाएर बेच्नेसम्मको अमानवीय घटनालाई लिन सकिन्छ । राजनीतिमा देखिएको यस्तो किसिमको चरम विकृति र विसंगतिले गर्दा आज नेपाल विश्वका अगाडि मान्छे बेच्ने देश भनेर चिनिने अवस्थामा पुगेको छ ।

संसारका अगाडि मुख देखाइ हिँड्न नसक्ने अवस्था भएको छ । नेपालमा कुनै व्यक्ति विशेषले भ्रष्टाचार गरेको भन्ने त बारम्बार सुनिएकै थियो । तर राज्यको जिम्मेवार निकाय नै संगठित रुपमा आपराधिक क्रियाकलापमा लागेको सायद यो नै पहिलो घटना होला । 

देशको उपप्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, गृहमन्त्रीको सुरक्षा सल्लाहकारहरू नै मानव तस्कर जस्तो अत्यन्तै दुःखदायी र घृणित कार्यमा लागेको देखियो । नेपाली जनताले अभाव, पीडा, कुशासनको बारेमा आगो बारम्बार ओकल्दासमेत जिम्मेवार राजनीतिक दल र नेताहरू सुनेको नसुनै गरी लुटिरहेका थिए । राजनीतिलाई नितान्त पेशा बनाई भ्रष्टाचारमा लिप्त भएका नेताहरूले यस घटनाबाट केही शवक सिक्लान् कि !

साँच्चै नै नेपालमा राजनीतिक विकृति र विसंगति चरम अवस्था पुगेको थियोे । अहिलेको घटना भनेको अचाक्ली नै हो भन्दा हुन्छ । पूर्वीय अध्यात्म दर्शनमा भनिए झैँ जब मान्छेले अरुको सित्तैमा खान खोज्छ वा अनाहकमा दुःख दिन्छ, कुनैदिन त्यही् कारणले ऊ सकिन्छ वा उसले झन ठूलो दुःखद घटना भोग्नुपर्छ । 

नेपालको राजनीतिक इतिहासमा यस्ता थुप्रै घटनाहरू भएका पनि छन् । सित्तैमा खाएकाले पोल्छ भनेकै यस्तै नै हुनु हो । आज कानूनले नदेख्ला । एकछिन उम्किएला तर समय र परिस्थितिले देखाउँछ र सजाय भोग्न बाध्य हुनैपर्छ । उम्लेपछि पोखिन्छ वा पाप धुरीबाट कराउँछ भनेझैँ अहिले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका बेच्ने गिरोहलाई लामो समयको अनुसन्धानबाट नेपाल प्रहरीले नियन्त्रणमा लिन सफल भयो ।

हिजो जनताका अगाडि हाइहाइ भएका ती तथाकथित नेता र प्रशासक आज तिनै जनताका अगाडि छिछी र दूरदूर हुनु पर्ने भयो । अहिलेको अनुसन्धानलाई हेर्दा लहरो तान्दा पहरो जान्छ भने झैँ अझै धेरै जना यस घटनामा संलग्न भएको सम्भावना देखिन्छ । दुई चार दिन लुके पनि सोझासाझा जनतालाई लुटेर र देशको अर्थतन्त्र खोक्रो बनाएका र काण्डैकाण्ड मच्चाएका ती सबै किसिमका भ्रष्टाचारीको अपराध र पाप कुनै दिन उनकै धुरीबाट कुर्लिनेछ । 

आशा छ, कानूनले एकदिन पक्कै देख्नेछ र कठघरामा उभ्याउनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेजस्तै अहिले ट्रेलर हेरिएको छ । सम्पूर्ण सिनेमा हेर्न नेपाली जनता अग्रिम टिकट काँटी बसिरहेका छन् । यस्तो अवस्थामा नेपाल प्रहरीलाई नेपाली जनताले हौसला, मनोबल, स्वाबासी दिनुपर्छ । अब नेपाल प्रहरीले यस्ता भ्रष्टाचारी र अपराधीलाई कानूनअनुसार हदैसम्मको सजाय दिनको लागि अदालतमा मुद्दा पेश गरोस् ।

यस्तै किसिमका भ्रष्टाचारले नेपालमा बहुदलीय प्रजातन्त्रको पुनः प्राप्ति भएको तीन दशक बित्दा पनि आशा अनुकूल विकास र समृद्धि हुन सकेन । बहुदल आएपछि त सुशासन आउने भयो भन्ने ठूलो आशा थियोे तर ती आशाहरू तीन दशक कुर्दा पनि आशामै सीमित हुन पुगेका छन् । प्रजातन्त्रमा विकासै भएन भन्न चाहिँ खोजिएको होइन । तर जुन रफ्तारमा हुनु पर्ने हो त्यो हुन सकेन र भएका उपलब्धिहरू पनि उल्लेख गर्न योग्य हुन सकेनन् । 

हिजो नेपाली जनताका जुन समस्याहरू थिए आज पनि तिनै गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र सुशासनकै समस्या छन् । जनताको जीवनस्तरमा गुणात्मक प्रगति हुन सकेन । देशको समृद्धिको लागि नेपालका राजनीतिक दलहरू नै पूर्ण रुपमा असफल भए र भ्रष्टाचारमा झन्पछि झन चुर्लुम्म डुबे र देशलाई खोक्रो बनाए । 

राजनीतिक दलहरूले राजनीतिलाई व्यवसाय र पेशा बनाए । दलहरूमा इमान्दारिता र नैतिकता भन्ने कुरा हरायो । राजनीतिक दलका नेतृत्वनै कमिशन र भ्रष्टाचारमा चुर्लुम्म डुबेर आफ्नो सिद्धान्त, नीति, निष्ठा, आचरण सब बिर्सिए । नेपालको राजनीतिलाई आज लाजनीतिमा पुर्याए । अहिलेसम्मको ३३ वर्षमा आउँदा नेता र कार्यकर्ता मोटाउँदै गए भने जनता दुब्लाउँदै गए । जनतालाई आश्वासनका पोकामात्र फालेर राजनीतिलाई चुनावदेखि चुनावसम्म पुर्याए ।

२०४६ सालपछि प्रजातन्त्रका नाममा ठूल्ठूला भ्रष्टाचारका काण्ड मात्रै होइनन् महाकाण्ड घटाइए र आजसम्म आउँदा त झन् नेपाली  नागरिकलाईसमेत बेचियो । ती महाकाण्डहरूमा करोडदेखि अर्बसम्मका भ्रष्टाचार भएका छन् । २०४६ को प्रजातन्त्रको पुनः बहाली पछिका केही प्रमुख महाकाण्डहरूमा सुडान घोटाला काण्ड, लाउडा काण्ड, धमिजा काण्ड, चेज एयर काण्ड, चाइना साउथ वेष्ट काण्ड, क्यान्टोनमेन्ट काण्ड, वाइडबडी खरिद काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्ड, ओम्नी र यति काण्ड, ललिता निवास जग्गा काण्ड, तेत्तीस किलो सुन काण्ड, बुढीगण्डकी जलविद्युत परियोजना काण्ड आदि थुप्रै रहेका छन् । 

करोडका भ्रष्टाचारका काण्डहरू त सयौँ छन् । यस्तै किसिमका मानव अपराध र भ्रष्टाचारका काण्ड र महाकाण्डले नेपालको प्रगति र उन्नति हुन नसकेको हो । भ्रष्टाचार र काण्डहरूको अचाक्ली हुँदै जाँदा आज नागरिकलाई बेचेर अपराधी बन्नेसम्मको अत्यन्तै लाजमर्दो घृणित नक्कली भुटानी शरणार्थी काण्ड हुन पुगेको छ ।

हिजो हवाइ चप्पल लगाउँदै राजधानी काठमाडौं छिरेका नेताका आज आलिसान महल छन् । हिजो बिहान बेलुका खान नपुग्ने नेताहरूका आज ठूल्ठूला कम्पनी र करोडौंका शेयर छन् । हिजो तिनका साथी जनता थिए भने आज तिनका साथी अर्बपति र ठेकेदार छन् । नेता मात्र होइन तिनका परिवार, आफन्तले समेत देशलाई लुटे । संघीयताको नाम भजाइ छोटे राजाहरू बने । 

हिजोका नेता स्वयं आजका ठूला ठेकेदार बनेका छन् । हिजो जनताको अगाडि  समाजवाद  र साम्यवादका भाषण हाँक्नेहरू नै आज मानव तस्कर र अपराधी गिरोहका नाइके भएका छन् । नेपाली जनतालाई ठगेर राजनीतिलाई पेशा र व्यवसाय बनाइ भ्रष्टाचार गरी कमाइएको यिनीहरू अकुत सम्पत्तिको तुरुन्त छानबिन गरिनुपर्छ र कानूनको कठघरामा उभ्याई पाता कस्नुपर्छ ।

विश्वमा भ्रष्टाचार गर्ने मुलुकहरू मध्येमा नेपाल अग्रपङ्तिमा नै पर्छ भनेर चिनिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) द्वारा जनवरी २०२३ मा प्रकाशित भ्रष्टाचार अवधारणा सूचकांकमा (सीपीआई, २२) नेपालले सयमा चौँतीस अङ्क प्राप्त गरेको थियो भने १८० देशमध्ये नेपाल ११० औँ स्थानमा परेको थियोे । यो सूचकांकमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा नब्बे अङ्क प्राप्त गरी डेनमार्क रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार गर्ने मुलुकमा १२ अङ्क प्राप्त गरी सोमालिया रहेको छ । 

नेपाल देश अहिले आउँदा त स्वयं सरकारले नै नागरिकलाई बेच्ने मुलुक भनेर चिनिने भएको छ । संसारका प्रसिद्ध मिडियामा राज्यद्वारा नागरिक बेचिने मुलुक भनेर नेपाललाई  प्रसारित गरिएको छ । यस घटनाले गर्दा नेपालीको स्वाभिमानमा आँच आएको छ । नेपालीका पासपोर्टहरू शंकाको सूचीमा पर्न थालेका छन् । वास्तविक नेपाली नागरिकलाई नै सक्कली हो कि नक्कली भन्ने अवस्थामा पुर्याइएको छ ।

विकासको बाधा राजा भनेर २०६२–०६३  जनआन्दोलनको परिणामबाट नेपालमा संघीय गणतन्त्र आयो । सात वर्ष लगाएर नयाँ संविधान बनाइयो । नेपालको संविधान २०७२ मा भनिए अनुसार नेपाललाई समाजवादउन्मुख देश बनाउने भनेर लेखिए पनि व्यवहारिक र कार्यान्वयनको तहमा त्यो हुन सकेन । देशमा विभिन्न काण्डहरू निम्त्याउने र राजनीतिक अस्थिरता सिर्जना गरी देशलाई लुट्ने खेल मात्र भए । 

आज देशमा भ्रष्टाचार र अनियमितताको जालो यत्रतत्र सर्वत्र फैलिएको छ । राज्यका भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्रहरू गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्र, राजस्व अनुसन्धान विभाग नै कि त राजनीतिक हस्तक्षेपबाट आक्रान्त छन् कि आफैँ भ्रष्टाचारको जालोमा फसेका छन् । कानूनको परिपालन गराउने निकाय नै सांगठनिक रुपमा भ्रष्टाचार, अनियमितता र काण्डमा संलग्न भएका थुप्रै घटनाहरू बाहिरिएका छन् ।

अहिलेको यो विकृतिको मुख्य कारक भनेकै मूलधारका राजनीतिक दलहरू र तिनका शीर्षस्थ नेताहरू नै हुन् । राजनीतिलाई अराजनीति बनाइ राज्यका हरेक अङ्गमा भित्र्याई भ्रष्टाचारमा लिप्त बनाइयो । स्थानीय तहदेखि केन्द्रीय निकायसम्मका सबै किसिमका संरचना र निकायहरूमा विचौलियाको प्रवेश गराई बेथिति, भ्रष्टाचार र अनियमितता निम्त्याइयो । 

देश कानूनले नचलेर विचौलिया र तस्करबाट संचालन हुन थाल्यो । देशको बजेट निर्माण र करका दररेट हेरफेरमासमेत विचौलियाको अहम् भूमिका देखा पर्यो । यतिसम्म कि प्रशासनिक क्षेत्रको केन्द्रीय प्रशासक गृहसचिव नै अपराधमा संलग्न भइ मान्छे बेच्ने जस्तो कुकृत्य गरेको पाइयो । 

अब दलका नेता वा तिनका आफन्तले मैले भ्रष्टाचार गरेको छैन भनी बाउ वा छोराको कसम खाए पनि नेपाली जनताले पत्याउने पक्षमा नै छैनन् । तत्काल कानूनले नदेखे पनि कुनैदिन उसकै आत्माले वा कसैले देख्नेछ र कुनै न कुनै रुपमा त्यो अपराध मनोवृत्ति धुरीबाट पक्कै निस्कनेछ । अनि सजायको भागिदार हुनेछ । 

आज मूलधारका पार्टीका तीनतिर फर्केका तीन मुखियाहरू एक्कासी चोचोमोचो मिलाउन पुग्नुले सिंहदरबारमा केही पकाइँदै छ भनेर आशंका पनि उत्तिकै जन्मिएको छ । अनुसन्धानका क्रममा कसैलाई काखा र पाखा गरियो भने समयक्रममा यी नेता र नेतृत्वले अझै ठूलो मूल्य चुकाउनु पर्नेछ र सदाका लागि यी नेताहरूले राजनीतिक, सामाजिक, नैतिक मूल्य र मान्यताबाट अलग हुनुपर्नेछ र सामाजिक बहिस्कृत हुनुपर्नेछ । महापापको पीडा भोग्नु पर्नेछ । 

समय सधैंभरि एकनाश हुँदैन । समयक्रममा राणा, पञ्चायत, राजाका शासन व्यवस्था गएकै हुन् । आज नेपाली जनतामा चेतनाको स्तर तीव्र गतिमा वृद्धि भइरहेको छ । हिजो नजान्ने र नबुझ्ने जनताहरू बुझ्ने भएका छन् । ठीक र बेठीक छुट्याउन सक्छन् । 

प्रजातन्त्रको ३३ वर्षको अनुभवले धेरै कुरा सिकाएको छ । आज प्रविधिले गर्दा  संसार एउटा गाउँमा सीमित भएको छ । संसारको कुनै एउटा कुनामा भएको घटना, जानकारी वा सूचना सेकेन्डमा नै अर्को कुनामा थाहा पाउन सकिन्छ । अब अस्ति वा हिजोको कुरा गरेर आज जनताले पत्याउनेवाला छैनन् । 

अस्ति र हिजो सत्ता सम्हालेका र बारम्बार प्रयोगबाट असक्षम भएको नेतृत्वलाई जनता विश्वास गर्दैनन् । अहिलेको नयाँ पुस्तामा सामाजिक, राजनीतिक, शैक्षिक, नैतिक चेतना समयक्रममा बढ्दै गएको छ । अबको पुस्ताले कसैले भनेको आधारमा वा सुनाइएको आधारमा हो मा हो भन्नेवाला छैनन् र विश्वास गर्दैनन् । 

जनतामा सत्य र तथ्य के हो आफै खोज्ने र जाँच्ने क्षमता देखिएको छ । आज नेपाली जनता सामाजिक संजाल, मिडिया र सूचनाको पहुँचमा छन् । राजनीतिक दलहरूले गर्ने भ्रमको खेतीलाई अहिलेको युवापुस्ता र आम नेपाली जनताले विश्वास गर्दैनन् ।

नेपाली राजनीतिमा अब आदर्श र आश्वासनका पोकाहरू मात्र बाँडेर राजनीति गर्ने दिन गए । पुराना राजनीतिक दलहरूलाई बारम्बार सचेत गराउँदा पनि उनीहरूमा अहंकार र दम्भ अझै यथावत् नै देखिन्छ । जनताले निराशा र विद्रोहको परिणाम स्वरुप आज वैकल्पिक दललाई पनि रोजिसकेका छन् । वैकल्पिक दलको उपस्थिति र सशक्तता पनि तीव्र रुपमा देखिएको छ ।

अब कुनै पनि राजनीतिक दलले राजनीति नै गर्ने हो भने निष्ठा र इमान्दारका साथ राजनीतिलाई सेवा बनाइ देश र जनताको समृद्धिको लागि अगाडि बढ्नुपर्छ । अब नेपालको आमूल परिवर्तनको लागि गफ वा भाषण गरेर हैन काम गरेर देखाउनु पर्छ । अबको नेपाली समाजले इतिहासका आधारमा वा कुनै सिद्धान्तका नाममा दल वा व्यक्तिलाई रोज्दैनन् । अब काम र परिणामका आधारमा दल र नेताहरू रोजिनेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ