काठमाडौं। राष्ट्रिय खेलकुद परिषद राखेपको इतिहासमा सबैभन्दा बढी विदेश जानेमा आफ्नो नाम लेखाउन सफल सदस्यसचिव केसवकुमार विष्ट अमेरिका गएका छन्।
११ औं इन्टरनेशनल ओपन फ्रेन्डशिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) मा सहभागी हुन विष्ट अमेरिकाको पोर्टल्यान्डतर्फ प्रस्थान गरेका छन्।
प्रतियोगिता १४ र १५ अक्टोबरमा हुँदै छ । सदस्यसचिव सो च्याम्पियनसिपको प्रमुख अतिथिका रुपमा सहभागी हुन लागेका हुन् ।
आइओएफटिसीको विशेष निमन्त्रणामा सदस्य सचिव भ्रमण गर्न लागेका हुन् । १२ औं इन्टरनेशलन ओपन फ्रेन्डशिप तेक्वान्दो च्याम्पियनसिप नेपालमा गर्ने विषयमा छलफलसमेत हुने बताइएको छ ।
विश्वभरि छरिएर रहेका नेपालीहरुसमेत सो च्याम्पिपनसिपमा सहभागी हुने भएकाले सदस्यसचिवले सो च्याम्पियनसिपलाई महत्वपूर्ण रुपमा हेरेका छन् ।
च्याम्पियनसिपमा नेपालकी ओलम्पियन निशा रावल पनि सहभागी हुँदैछिन् ।
त्यसैगरी अन्य रेफ्रीहरुसमेत सो च्याम्पियनसिपमा सहभागी हुने टुर्नामेन्ट डाइरेक्टर दीवाकर डान महर्जनले बताए ।
प्रथम आइओएफटिसी नेपालमा भएको थियो । त्यसको उद्घाटन तत्कालीन युवराज दीपेन्द्र शाहले गरेका थिए । च्याम्पियनसिप प्रत्येक दुई बर्षमा हुने गर्दछ ।
सदस्यसचिव विष्टले आफू सबैभन्दा बढी विदेशमा जाने सदस्यसचिवमा गनिए पनि कामैले र आफ्नै आवश्यकता हुने ठाउँमा मात्र गएको तर्क गरेका छन् ।