arrow

भ्रष्टाचार मुद्दा प्रभावित गर्ने गरी केपीले बयान दिएको भन्दै विश्वप्रकाशको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १३ शनिबार
bishwaprakash-sharma-parliament-2080-02-13.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको बेलामा रोष्टमबाट अनुसन्धान प्रभावित गर्ने बयान दिनु नहुने बताएका छन् । 

शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाए । 

उनले दोषीलाई उम्क्याउन खोजिँदैछ भन्दै गरेको कुरामा आफूले समर्थन गर्न सके पनि निर्दोषलाई फसाइँदैछ भन्ने अभिव्यक्तिले अनुसन्धान प्रभावित बन्न सक्ने बताए । उनले कांग्रेसका नेताहरु यसअघि पनि भ्रष्टाचारको मुद्दामा जेल परेको र अहिले पनि मुद्दाको सामना गरिरहेको भन्दै कांग्रेस दोषीलाई बचाउने प्रयासमा नरहेको जिकिर गरे । उनले मुद्दामा परेका कसैलाई पनि कांग्रेसले रोष्टममा उभिएर निर्दोष नभनेको दाबी गरे ।

उनले भने, ‘केही दिनअघि सम्माननीय पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता केपी शर्मा ओलीले यो रोष्टममा उभिएर नक्कली भूटानी शरणार्थीको प्रकरणमा उभिएर बोल्दै गर्दा राख्नुभएका अन्य विषयमा म सम्मानपूर्वक समर्थन गर्दछु । दोषीलाई उम्क्याउन खोजिँदैछ भन्दै गरेको कुरामा पनि त्यो आशंकामा पनि राज्यले गम्भीरतापूर्वक ध्यान देला नै । सँगै म निर्दोष फसाउने प्रयास भइरहेको भन्ने वाक्य उल्लेख गर्नुभयो । अन्यत्र कहीँ भन्नुभयो रे होइन, यही रोष्टममा उभिएर भन्नुभयो । को दोषी को निर्दोषी नेपाल प्रहरीले छानबिन गरिरहेको छ । हामी न्यायाधीश होइनौँ सभामुख महोदय, यहाँबाट फैसला सुनाउनका लागि । यो समय हामीले निर्दोष कोही नफसुन्, दोषी कोही नछुट्न् । यो बेला सरकारलाई साथ दिने समय हो, यो बेला सरकार बाहिरको दलले पनि सरकारलाई साथ दिने समय हो, समर्थन फिर्ता लिने बेला होइन । नेपाली काँग्रेसका नेताहरु यो भन्दा पहिला पनि भ्रष्टाचारमा जेल पर्नुभएको छ, अहिले पनि सामना गर्दै हुनुहुन्छ । तर रोष्टममा उभिएर मुद्दामा परेका कसैलाई पनि न विगतमा हामीले निर्दोष भन्यौँ, न आज भन्छौँ, केवल यति भन्छौँ, अनुसन्धान र न्यायिक प्रक्रियामा कसैले प्रभावित गर्नेगरी बोल्नु हुँदैन, देश हेरिरहेको छ ।’

महामन्त्री शर्माले समुन्नतिको केन्द्रमा नागरिकलाई राखेर अघि बढ्ने हो भने देश विकास हुन समय नलाग्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ