इन्डोर । न्यूजिल्याण्ड र भारतबीचको तेस्रो तथा अन्तिम टेष्ट क्रिकेटमा भारतले गतिलो सुरुवात गरेको छ ।
इन्डोरमा शनिबारदेखि सुरु भएको खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको भारतले पहिलो दिनको समाप्तिसम्म ३ विकेटको क्षतिमा २६७ रन बनाएको छ ।
भारतका लागि कप्तान विराट कोहली र अजिन्क्या रहानेले चौथो विकेटका लागि १६७ रनको साझेदारी गरिसकेका छन् ।
कोहलीले करियरको १३ औं सतक प्रहार गर्ने क्रममा १०३ रन बनाइसकेका छन् । रहाने ७९ रनमा अविजित छन् ।
चेतेश्वर पुजाराले ४१ तथा मुरली विजयले १० रन जोडे ।
दुई वर्षपछि टिममा फर्किएका गौतम गम्भीरले भने ५३ बलको सामना गर्दै २९ रनमात्र जोड्न सके ।
यसअघि भएका दुवै खेल जितेको भारत टेष्ट श्रृंखलामा क्लिनस्वीप नजिक पुगेको छ । पहिलो खेल १९७ तथा दोस्रो खेल भारतले १७८ रनले जितेको थियो ।