मोङकक । हङकङमा जारी विश्वकप छनोट महिला क्रिकेटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । पहिलो खेलमा हङकङसंग ६ विकेटले पराजित भएको नपालले सोमबार थाइल्याण्डसंग ३ विकेटको हार बेहोरेको हो ।
हङकङको मोङकक मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा ७६ रनमात्र जोड्न सक्यो ।
निर्मला कुमारी शाहीले सर्वाधिक ३६ रन जोडिन् । यसअघि हङकङ विरुद्धको खेलमा पनि निर्मलाले सर्वाधिक १८ रन जोडेकी थिइन् । तर उनलाई बाँकी कुनै पनि खेलाडीले साथ दिन नसक्दा नेपाल सस्तैमा समेटियो ।
लज्जास्पद ब्याटिङ गर्ने क्रममा नेपालले अतिरिक्तका रुपमा पाएको ८ रन सर्वाधिक दोस्रो ठूलो योगफल थियो ।
जवाफमा थाइल्याण्डले १८.४ ओभरमा ७ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा ग¥यो ।
निर्मलामात्र नेपालबाट चम्कने क्रममा ४ ओभरमा २ मेडन राख्दै ७ रन खर्चेर ३ विकेट लिन सफल भइन् । त्यस्तै सरिता मगरले २ तथा कप्तान रुबिना क्षेत्रीले १ विकेट झारिन् ।
यो हारले भने नेपालको विश्वकप छनोट यात्रा कठिन बनेको छ । यता सोमबारको अर्को खेलमा हङकङले चीनलाई ४० रनले हरायो ।
एसियाली समूहमा यी चार राष्ट्रबीच आपसमा दुई दुई भिडन्त हुनेछ । अहिलेसम्म सबैले दुई खेल खेल्दा हङकङ र थाइल्याण्डले दुवै खेल जित्दा नेपाल र चीन अंकविहीन छन् ।
तेस्रो खेलमा नेपालले मंगलबार कमजोर प्रतिद्धन्द्धी चीनसंग खेल्नेछ । खेल नेपाली समयअनुसार बिहान ७.१५ मा सुरु हुनेछ ।