मोङकक । हङकङको मोङककमा जारी विश्वकप महिला छनोट क्रिकेटको एसियाली क्षेत्रको खेलमा नेपाल निकै दबाबमा परेको छ । पहिलो खेलमा आयोजक हङकङसंग ६ विकेटको, दोस्रो खेलमा थाइल्याण्डसंग ३ विकेटको हार बेहोरेको नेपालले तेस्रो खेलमा कमजोर चीनमाथि २० रनको संघर्षपूर्ण जित निकालेको थियो ।
मंगलबार नेपालले पूर्व कप्तान नेरी थापाको ३८ रनको मद्धतले ९ विकेटको क्षतिमा ९५ रन बनायो । जबाफमा चीनले ८ विकेटको क्षतिमा ७५ रन बनायो ।
सीता राना मगरले ३ तथा सबनम राईले २ विकेट लिइन् ।
अब बिहीबार नेपालले आयोजक हङकङसंग खेल्दैछ । खेल नेपाली समयअनुसार बिहान ११.४५ बजे सुरु हुनेछ ।
यो खेलमा पराजित भए नेपालको अर्को चरण प्रवेशको सम्भावना लगभग सकिने छ ।
सम्भावना जिवितै राख्न पनि नेपाललाई जित्नैपर्ने दबाब छ ।
चार टोलीले आपसमा दुई दुई खेल खेल्नेछन् । नेपालले एक जित हासिल गर्दा हङकङ र थाइल्याण्डले तीन जित हासिल गरेका छन् ।