हानोभर । विश्वकप छनोट फुटबलको युएफा समूहमा जर्मनीको जित कायमै छ ।
मंगलबार राति भएको खेलमा जर्मनीले नर्दन आयरल्याण्डलाई २–० ले हरायो । १३ औं मिनेटमा जुलियन ड्राक्सियरले पहिलो गोल गरे ।
त्यसको चार मिनेटमै सामी केदिराले एक गोल थपे । त्यसपछि भने कुनै गोल भएन ।
निकै संयमित खेलमा रेफ्रीले नर्दन आयरल्याण्डका एक खेलाडीलाईमात्र पहेंलो कार्ड देखाएका थिए ।
समूहका तीन खेलमा लगातार जित हासिल गर्ने क्रममा जर्मनीले अहिलेसम्म एक गोल खाएको छैन ।
जोआचिमको प्रशिक्षणमा रहेको जर्मनीले ९४ औं खेल जितिसकेको छ ।
समूहको शीर्ष स्थानमा रहेको जर्मनीको ९ अंक हुँदा अजरबैजानले ७ अंकसहित आफूलाई दोस्रो स्थानमा राखेको छ ।
मंगलबार रातिका खेलमा नर्वेले सान मारिनोलाई ४–१ ले हराउँदा अजरबैजान र चेक रिपब्लिकले गोलरहित बराबरी खेले ।
समूह इ को खेलमा पोल्याण्डले अर्मेनियालाई २–१ ले हरायो ।