कोलुन । हङकङमा जारी विश्वकप छनोट एसियाली क्षेत्रको महिला क्रिकेट छनोटको दोस्रो चरणको खेलमा नेपालले आयोजक हङकङलाई ७६ रनको चुनौती दिएको छ ।
खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गरेको नेपालले खराव ब्याटिङलाई निरन्तरता दिँदै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७५ रनमात्र बनाउन सकेको हो ।
नेपालले लगातार टस जितेर पहिले ब्याटिङ गरे पनि उच्च योगफल भने बनाउन सकेको छैन ।
नेपालका लागि करुणा भण्डारीले २७ बलमा अविजित रहँदै सर्वाधिक १९ रन जोडिन् ।
त्यस्तै इन्दु बर्माले १५ तथा ज्योति पाण्डेले ११ र नेरी थापाले १० रन जोडिन् ।
९ रन जोड्ने क्रममा ३ विकेट गुमाएर नेपालले फेरि पनि ठोस ब्याटिङ गर्न सकेन । ६ खेलाडीले दोहोरो अंक नै जोड्न सकेनन् ।
सुरुका दुई खेलमा सर्वाधिक स्कोर बनाउन सफल निर्मलाकुमारी शाहीले त्यसपछि भने रन जोड्न भुलेकी छिन् ।
पहिलो चरणमा नेपालले चीनलाई हराउँदा हङकङ र थाइल्याण्डसंग भने हार बेहोरेको थियो ।
पहिलो चरणका तीन वटै खेलमा पराजित भएको चीनले बिहीबार यसअघिका तीन वटै खेल जितेको थाइल्याण्डमाथि ३ विकेटको जित निकाल्दै अप्रत्याशित नतिजा निकालेको छ ।
खेलमा पहिले ब्याटिङ गरेको थाइल्याण्डले ७ विकेटको क्षतिमा ८६ रन बनायो ।
जवाफमा चीनले ४ बल खेल्न बाँकी छँदै ७ विकेटको क्षतिमा जित हासिल गर्यो ।
यो समीकरण अनुसार नेपालले हङकङलाई पराजित गर्ने हो भने अर्को चरण प्रवेशको सम्भावना कायमै रहने छ ।