ओखलढुङगा। लिखु किनारका बस्तीलाई चिराचिरा बनाइ हरेक बस्तीमा सडक पुर्याएर सुगमताको पगरी भिराएको भए पनि वर्षाको पानी पर्न सुरु हुनु लगत्तै यहाँका स्थानीयहरु यातायात सेवाबाट बञ्चित हुन बाध्य हुनु परेको छ । लिखु किनारमा ओखलढुंगाका १८, सोलुखुम्बुका ४ र रामेछापका १८ गाविसमा सडक निर्माणकार्य गरेर बस्तीलाई चिराचिरा पारेको भए पनि यहाँका जनताको नियती भने सधैं उस्तै रहने गरेको छ ।
रामेछापको बाम्ती भण्डार हुँदै सोलुखुम्बुको चौलाखर्क, गोली भकान्जे जानेसडक, खिम्ती देखि भुजी, पिर्ती, गुप्तेश्वर सडक, सैपु सिरिसेबाट ओखलढुंगाका खिजिफलाटे, गाम्नाङ्गटार सडक, साँघुटारदेखि घोराखोरी हुँदै ओखलढुंगा, साँघुटार यसम गाम्नाङ्गटारका सडकहरू र लिखु किनारका सबै सडकहरु हिउँदे सडकमा मात्र सिमित भएका छन् ।
सडकहरुमा ट्रयाक्टर जथाभावि चलाउने गरेकाले पनि यसरि सडकहरु बिग्रेको स्थानीयवासीको गुनासो रहेको छ । दर्जनौ पहिरोका कारण र अविरल बर्षाका कारण खाल्डाखुल्डी भई जिर्ण भएका सडकहरुमा यात्रुबहाक सवारी साधनहरु चल्दा समेत तीनवटै जिल्लाका प्रशासकहरु मौन भएको यात्रुहरूको गुनासो छ । व्यबसायीले पैसाको निम्ति सवारीसाधनमा बढी यात्रु र सामानहरु बोक्ने गरेको आरोप टारकेराबरिका बेदबहादुर पौडेलको छ ।
क्षमताभन्दा बढी यात्रु र यात्रुहरूको सामान बोक्न बाध्यता भएको वस ब्यवसायिहरु बताउँछन् । सबैलाई जानैपर्ने बाध्यताका कारण जोखिम यात्रा गर्नुपर्ने लिखु किनारका स्थानीयहरुको बाध्यता छ । यसरी यात्रा गरिरहँदा कुनै दिन ठुलो धनजनको क्षति हुने होकी भन्ने चिन्ता हुँदा समेत यात्रुहरु यात्रा गर्न भने वाध्य छन् । लिखु किनारका यी सडकहरूमा सम्वन्धित निकायको ध्यान भने बेलैमा जान जरुरी छ ।