काठमाडौं । नेपालले हङकङमा भएको विश्वकप महिला एसियाली क्षेत्रको छनोट क्रिकेटमा चीनमाथि ४ विकेटको रवाफपूर्ण जित हासिल गर्दै प्रतियोगिता सकेको छ ।
अन्तिम खेलमा मोङकक मैदानमा विजयका लागि पाएको ८६ रनको चुनौती नेपालले ६ विकेटको क्षतिमा १५ बल खेल्न बाँकी छँदै १७.३ ओभरमा पूरा गरेको हो ।
नेपालका लागि नेरी थापाले सर्वाधिक २२ रन जोडिन् । त्यस्तै सीता राना मगरले २०, कप्तान रुबिना क्षेत्रीले ९ बलमा अविजित रहँदै १३ तथा ईन्दु बर्माले १० रन जोडिन् ।
यसअघि जारी प्रतियोगितामा पहिलो पटक नेपालले टस हारेर फिल्डिङ गरेको थियो । सो क्रममा चीनले ६ विकेटको क्षतिमा ८५ रन बनायो ।
चीनकी फेङफेङ सोङले सर्वाधिक ३४ रन जोडिन् ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २ तथा निर्मलाकुमारी शाही र करुणा भण्डारीले १÷१ विकेट लिए ।
पहिलो चरणका सबै खेल हारेको चीनले दोस्रो चरणमा भने थाइल्याण्ड र हङकङलाई पराजित गरेको थियो ।
शुक्रबारको खेलमा थाइल्याण्डसंग पराजित भएसंगै अर्को चरण प्रवेशको सम्भावनाबाट बाहिरिएको नेपाल सान्त्वना विजयको खोजीमा थियो ।
पहिलो चरणको खेलमा नेपालले चीनलाई २० रनले हराएको थियो ।
चार टोली सहभागी प्रतियोगिताको पहिलो चरणमा नेपालले चीनलाई र दोस्रो चरणमा हङकङलाई हराएको थियो ।
यो प्रतियोगिताबाट शीर्ष स्थानमा रहँदै थाइल्याण्ड विश्वकप छनोटको अर्को चरणमा पुगेको छ । नेपाल भने तीन खेल जिते पनि वञ्चित भएको छ ।