arrow

ब्रिक्स बिमिस्टेक सम्मेलन : पाकिस्तानलाई एक्ल्याउने प्रयासमा भारत

logo
प्रकाशित २०७३ असोज २९ शनिबार
BT-new.jpeg
काठमाडौं। भारतको गोवामा हुन लागेको ‘ब्रिक्स बिमिस्टेक विस्तारित सम्मेलन’को चहल पहल शुरु भएको छ। दुई दिन चल्ने उक्त सम्मेलनका विभिन्न एजेण्डाहरुमा भारतको ध्यान आतंकवाद नियन्त्रणमै रहने देखिएको छ। 
 
भारतको पाकिस्तानसँगको तीतो सम्बन्धकै कारण उसलाई आतंकवादी राज्य घोषणा गर्न लागि पर्ने छ। पाकिस्तानलाई विश्व समुदायबाटै एक्ल्याउनु भारतको मुख्य एजेण्डा रहेको विश्लेषण हुन थालेको छ । 
 
पछिल्लो समय रुसले पाकिस्तानसँग एकिकृत सैनिक अभ्यास गरेर भारतलाई झस्काएको छ भने चीनले निर्माणका क्षेत्रमा पाकिस्तानसँग सहकार्य शुरु गरिसकेको छ। 
 
बलुचिस्तान क्षेत्रको पृथकतावादी मुद्दालाई मलजल गर्ने कार्य भारतले गरिरहेको पाकिस्तानको आरोप छ भने भारतले पाकिस्तानलाई काश्मिर क्षेत्रमा आतंकवादलाई प्रोत्साहित गर्ने कार्य गरेको आरोप लगाइरहेको छ।
 
भारतको उरीमा आतंकवादीले आक्रमण गर्दा १८ सैनिकको मृत्यु भएपछि भारत पाकिस्तानप्रति झन् संशकित भएको छ । काश्मिरमा फेरि पनि आतंकवादी हमला भएको छ । शुक्रबार मात्रै काश्मिरको जकुरामा सीमा सुरक्षा बललाई लक्षित गरी आक्रमण हुँदा एक जवानको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । 
 
उरी घटनापछि भारत र पाकिस्तानको द्वन्द्व झन् चुलिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग हुने वार्तामा पाकिस्तानले आतंकवादलाई सहयोग गरिरहेको कुरा उठाउने तथा पाकिस्तानलाई अलग्याउन सहयोग माग्ने छन्। 
 
मोदीले सोही विषय चिनियाँ राष्ट्रपति सी जिनपिङ्गसँग समेत राख्ने समाचार भारतीय संचारमाध्यमले लेख्न थालेका छन् । संभवतः रुस र चीनले आतंकवादविरुद्ध लड्ने प्रतिवद्धता त गर्ने छन् । यद्यपि, पाकिस्तानलाई आतंकवादी राज्य भनेर किटान नगर्ने निश्चित रहेको छ। पाकिस्तानको रुस र चीनसँग व्यापारिक र सामरिक सम्बन्ध रहेको छ। आफ्नो यस्तो सम्बन्धलाई दुवै देशले नजरअन्दाज गर्ने छैनन्। 
 
भारतको पाकिस्तानविरुद्धको आवाजलाई ब्रिक्स राष्ट्रहरुले सामूहिक रुपमा कुनै प्रतिकृया नदिने चीनको पत्रिका ग्लोबल टाइम्सले लेखेको छ। दुई देशको समस्या दुई देशले सम्बोधन गर्नु पर्ने सबै राष्ट्रहरुको बुझाई छ । 
 
पाकिस्तानलाई एक्लै पार्ने प्रयास भारतको निरर्थक हुनेछ। सितयुद्ध पछि बलियो हुँदै आएको रुसलाई भारत र पाकिस्तानको नयाँ सम्बन्ध चित्त बुझेको छैन भने चीनसँग भारतको आफ्नै पुरानो सीमा एवं सामरिक समस्या छ। 
 
दक्षिण एसियाबाट नेपाल, भारत, भुटान र श्रीलङ्का सम्मेलनमा सहभागि हुने छन् । बिमिस्टेक सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा आतङ्कवाद नियन्त्रण गर्ने र जलवायु परिवर्तनकाे असरलाई सम्बोधन गर्ने, प्राकृतिक प्रकोप व्यवस्थापन गर्ने, सदस्य राष्ट्रबीच सम्पर्क सञ्जाल विस्तार गर्ने, कृषि, ऊर्जा, व्यापार, प्रविधि, पर्यटन एवम् गरिबी निवारणजस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने र जनस्तरको सम्बन्ध प्रगाढ गर्ने सम्बन्धमा छलफल हुनेछ । 
 
ब्रिक्स ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य राष्ट्र रहेको अन्तर्राष्ट्रिय मञ्च हो भने बिमिस्टेक दक्षिण र दक्षिण पूर्वी एसियाली मुलुकबीच साझा सरोकारका विषयमा छलफल गर्न खडा गरिएको समूह हो । जसमा बङ्गलादेश, भुटान, भारत, म्यान्मार, श्रीलङ्का र थाइल्याण्ड सदस्य छन् । 
 
ब्रिक्सले निर्माण, उत्तरदायित्व, समावेशीता, सामूहिकता र समाधानका विषय मुख्य एजेण्डा बनाई पारस्परिक हितका विषयमा सामूहिक तवरले सम्बोधन गर्ने लक्ष्य लिएको छ । यस वर्षको ब्रिक्स सम्मेलनको नारा ‘जिम्मेवारीपूर्ण निर्माण र समावेशी तथा सामूहिक समाधान’रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ