काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले कांग्रेसलाई सुतेको बाघ भन्नुको अर्थ खतरा निम्त्याउनु नरहेको प्रस्ट्याएका छन्। पार्टी कार्यालय बाहिर शंखपार्कमा एमालेले गरेको चियापान कार्यक्रममा प्रमुख सत्ता साझेदार एवं संसदको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुम टाँसेर बसेका अध्यक्ष ओलीले आफुले कांग्रेसलाई सुतेको बाघ ठूलै अर्थमा भन्न खोजेको बताए।
संचारकर्मीहरुसंगको संक्षिप्त साक्षात्कारमा अध्यक्ष ओलीले भने, ‘सुतेको बाघलाई विस्तारै उठाउँदै छु ।’ सुतेको बाघलाई उठाउँदा उल्टै खतरा हुँदैन र ? भन्ने संचारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले भने, ‘ठूलै कुरा गरौं भनेर बाघको कुरा गरेको हुँ । यसको अर्थ खतरा निम्त्याउनु हैन । सहकार्य गरेर अघि बढ्ने भनिएको हो ।’ यत्ति भनेपछि दुवै नेता हाँसे।
संविधान संशोधनका विषयमा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले खासै नबोले पनि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले अध्यक्ष ओलीले औचित्य पुष्टी भए संविधान संशोधन हुने बताइरहेको सुनाए।
संविधान संशोधनका विषयमा अहिले सम्म आफुहरुसंग छलफल नभएको अध्यक्ष ओलीले बताएका छन् । ओलीले भने, ‘उहाँहरुबीच आन्तरिक छलफल भएको भए थाहा छैन। हामीसँग भने छलफल भएकै छैन ।’ अब सबै दलहरु बसेर छलफल गरी संविधान कार्यान्वयन अघि बढाउनै पर्नेमा शीर्ष दुई नेताले जोड दिए।
कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन अहिलेको आवश्यकता रहेकाे बताए । देउवाले भने, ‘सबैको सहकार्यमा संविधान कार्यान्यन र संशोधन अघि बढ्छ। तीन तहको निर्वाचन गर्ने हो, गर्ने हो, गर्ने हो । हुनै पर्छ हुनै पर्छ ।’ चीया पानमा ओली, देउवा, पौडेल, झलनाथ खनाल लगायत नेताहरु उपस्थित थिए।