काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवा पुगेका छन् । ब्रिक्स सम्मेलनमा सहभागी हुन नेपाल एयरलाइन्सको बिमानबाट भारत पुगेका प्रधानमन्त्रीलाई एयर इण्डियाको ए थ्री ट्वेन्टी बिमानले विशेष उडानबाट शनिबार दिउँसो गोवा अवतरण गरायो ।
गोवा बिमानस्थलमा प्रधामन्त्रीलाई भारतीय विदेश राज्यमन्त्री एमजे अकोवर, नेपालका लागि भारतीय राजदूत रणजित राय, भारतका लागि नेपालका कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल लगायतका विशिष्ट व्यक्तिले स्वागत गरे ।
यसअघि भारतको राजकीय भ्रमणमा जाँदा दाहाललाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् । नेपालले कुटनीतिक मर्यादालाई ख्याल नगर्दा भारतले आफु अनुकुल राष्ट्र तथा सरकार प्रमुखको स्वागत गर्ने गरेको छ ।
शनिबारै प्रधानमन्त्री दाहालले भुटानका प्रधानमन्त्री ल्वोञ्चन टिसेरिङ, दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोव जुमा र चीनियाँ राष्ट्रपति सिजिङ पिङसँग अलग अलग भेटबार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्रीकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत लगायत सम्मिलित छन् । १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत पुगेका प्रधानमन्त्री दाहालले आइतबार मात्रै भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने छन् ।
प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र÷सरकार प्रमुखको बैठक एवम् ‘ब्रिक्स विमस्टेक आउटरिच सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम समेत छ ।
सम्मेलनबाट ब्रिक्सलाई संस्थागत गर्ने, विगतका समझदारी कार्यान्वयनमा लैजाने, ब्रिक्स संयन्त्रलाई एकताबद्ध गराउने, सहकार्यका लागि नयाँ अध्यायको खोजी गर्ने र संस्थागत क्रियाकलापलाई निरन्तरता दिने जस्ता निर्णय हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी प्रधानमन्त्री दाहालले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, श्रीलङ्काका राष्ट्रपति मैथ्रीपाला सिरिसेना, दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोव जुमा, ब्राजिलका राष्ट्रपति मिसेल टेमर र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग द्विपक्षीय भेटघाट गर्ने बताइएको छ ।