arrow

ओलीलाई साक्षी राखेर देउवाले भने–निर्वाचन हुन्छ, हुन्छ, हुन्छ’

ओलीसँग रिसाएका मधेसी नेता पनि चियापानमा सरिक

logo
प्रकाशित २०७३ असोज २९ शनिबार
oli-ko-chiyapanma-deuba.jpeg
काठमाडौं । ‘निर्वाचन समयमा हुन्छ त ?’ पत्रकारको प्रश्नलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवातिर देखाउँदै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी अाेलीले भने, ‘निर्वाचन त गर्नैपर्छ नि होइन र ? सरकारको के छ धारणा ?’’ 
 
छेउमै बसेका ओली र अन्य नेतालाई पनि साक्षी राखेर काँग्रेस सभापति देउवाले पनि रमाइलो शैलीमा उत्तर दिए, ‘निर्वाचन हुन्छ, हुन्छ, हुन्छ । गर्ने, गर्ने गर्ने ।’
 
त्यसपछि नेता र पत्रकारबीच हाँसोको फोहोरा छुट्यो । राजनीतिक सन्देश मिल्ने स्वष्ट जवाफ नआएपछि पत्रकारले पटक–पटक संविधान संशोधन र निर्वाचनबारे कोट्याएपछि दुई शीर्ष नेताले मुख खोले । 
 
सभापति देउवाले संविधान संशोधनको प्रस्ताव आवश्यक छैन भनेर एमालेले नभनेको बरु त्यसको औचित्य खोजिरहेको बताउँदै सहमति गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए । 
 
एमालेले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ लगायतका पर्वका अवसरमा शनिबार धुम्बाराहीस्थित शङ्खपार्कमा आयोजना गरेको चियापान कार्यक्रममा नेताबीच शुभकामना आदानप्रदानसहित सामान्य घोचपेच पनि चल्यो । 
 
‘‘शुभकामना आदानप्रदानको समयमा राजनीतिक पक्ष विपक्षको भाषा बोल्न चाहान्न, सबै दल र पक्षलाई स्वागत भन्न चाहन्छु’ एमाले अध्यक्ष ओलीको पत्रकारलाई जवाफ दिए । ब्रिक्स सम्मेलनका लागि भारतमा रहेकाले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने चियापानमा उपस्थित हुन सकेनन् । '
 
चीया पानमा मधेसी दलका नेताहरुले संविधान कार्यान्वयनका लागि संशोधनको विकल्प नभएको बताए । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभइ कार्यान्वनय हुनै नसक्ने जिकिर गरे । 
 
यस्तै, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले कांग्रेस, एमालेलगायत मधेसकेन्द्रित दलहरुबीचको सहमतिबाटमात्रै संविधान संशोधन हुनसक्ने बताए । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले दलहरुले चाहेमा संविधान संशोधन हुने धारणा राखे । 
 
चियापानमा सभामुख ओनसरी घर्ती, मन्त्रीगण, काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई– मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, एमाले महासचिव सिपी मैनानीलगायत नेता सहभागि भए । 
 
पार्टी कार्यालयको परिसर साँघुरो भएपछि शङ्खपार्कमा चियापान गरिएको एमालले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ