- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतको बेंगलुरुमा जारी साफ च्याम्पियनशिप फुटबलको दोस्रो खेलमा नेपालले आज आयोजक भारतसँग खेल्दैछ । सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राख्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ ।
नेपालका लागि यो खेल गर या मरको खेल हुनेछ । यो खेलमा हार बेहोर्दा नेपालको अर्को चरण सम्भावना लगभग समाप्त हुनेछ ।
नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले यो फाइनल जस्तै भएको प्रतिक्रिया दिएका छन् । नेपालले भारतलाई हराउन सकेमात्र अन्तिम खेलमा पाकिस्तानसँग खेल्दा जितको अर्थ रहने छ ।
समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन भारत र आमन्त्रित कुवेत समान ३ अंक बटुल्दै शीर्ष दुई स्थानमा छन् । नेपाल र पाकिस्तान अंकविहीन छन् ।
पाकिस्तान भारतसँग पराजित भएको थियो । नेपाल पहिलो खेलमा कुवेतसँग पराजित भएको थियो । आजको अर्को खेलमा कुवेतले पाकिस्तानसँग खेल्दैछ ।
नेपाल कुवेतसँग ३–१ ले पराजित हुँदा भारतले पाकिस्तानलाई ४–० ले हराएको थियो ।
नेपाल र भारतबीचको खेल बेलुकी ७ः४५ बजे शुरु हुनेछ । त्यसअघि पौने ४ बजे कुवेत र पाकिस्तान खेल्नेछन् ।
नेपाल भारत भिडन्त हेड टु हेड
नेपालले अहिलेसम्म समग्रमा २४ पटक भारतको सामना गरेको छ । त्यसमध्ये नेपाल तीन पटकमात्र जित हासिल गरेको छ । चार खेल बराबरीमा सकिएको छ ।
बाँकी १७ खेलमा नेपाल पराजित छ । साफ च्याम्पियनशिपमा भने नेपाल र भारतबीच आठ पटक भिडन्त भएको छ । जसमा नेपाल एकपटक मात्र विजयी भएको छ ।
बाँकी सात खेलमा नेपाल पराजित भएको छ । नेपाल भारतसँग उसकै भूमिमा अहिलेसम्म जितविहीन छ । यस्तो नेपाल र भारतबीचको खेल पनि ८ छ । त्यसमा २ बराबरी र ६ हार छन् । नेपालले आजको खेलमा भारतलाई हराउने हो भने इतिहास रच्नेछ ।
आजको खेलका दुई आकर्षण खेलाडी
आजको खेलमा भारतको तर्फबाट कप्तान सुनील क्षेत्री र नेपालको तर्फबाट अञ्जन विष्ट सबैको नजरमा रहने छन् ।
नेपालीभाषीसमेत रहेका सुनील खुवै लयमा छन् । पाकिस्तानविरुद्धको खेलमा उनले ह्याट्रिक गरेका थिए ।
त्यस्तै भारत पनि लयमा छ । उसले पछिल्ला सात खेल जितेको छ । एक गोल पनि खाएको छैन ।
यता अञ्जनले कुवेतविरुद्ध गोल गरेका थिए । उनले गरेको गोल १२ औँ अन्तर्राष्ट्रिय गोल हो ।
उनी नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा दोस्रो स्थानमा छन् । उनले भन्दा बढी गोल दुई खेलाडीमा हरि खड्का र नीराजन रायमाझी छन् । दुवैले समान १३ गोल गरेका छन् ।
नेपालले जारी साफ च्याम्पियनशिपमा दुई खेल खेल्न बाँकी रहँदा अञ्जनले नेपालका तर्फबाट कीर्तिमान राख्न सक्छन् ।
१४ औँ संस्करणको लेखाजोखा
यो संस्करणमा आठ टोली सहभागी रहेका छन् । नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।
कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन् । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।
इतिहास
३० वर्षअघि अर्थात् सन् १९९३ देखि शुरु भएको साफ च्याम्पियनशिपमा भारतले सबैभन्दा बढी ८ पटक उपाधि जितेको छ ।
माल्दिभ्सले २ तथा बंगलादेश, अफगानिस्तान र श्रीलंकाले १–१ पटक उपाधि जितेका छन् ।
नेपाल, पाकिस्तान र भुटानले भने अहिलेसम्म उपाधि जितेका छैनन् ।
भारत चार पटकको उपविजेता हो । माल्दिभ्स ३, बंगलादेश र अफगानिस्तान २–२ तथा श्रीलंका र नेपाल १–१ पटकका उपविजेता हुन् ।
नेपाल एक पटक तेस्रो भएको छ भने दुई पटक चौथो भएको छ ।