arrow

अर्थमन्त्री महराले आफ्नो गाउँको पोलिटेक्निकलाई बजेट अभाव हुन नदिने

logo
प्रकाशित २०७३ असोज ३० आइतबार
krishna-bdr-mahara-new.jpeg
रोल्पा । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले रोल्पाको लिवाङमा निर्माणाधीन पोलिटेक्निकका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।  
 
आफ्नै गृहगाउँ मेवाङमा निर्माणाधीन पोलिटेक्निक अवलोकनका क्रममा महराले सो प्रतिबद्धता जनाएका हुन् । पोलिटेक्निक सञ्चालनका लागि थप जग्गा र बाटोको समस्या रहेको भन्ने स्थानीयवासीेको मागमा महराले भने,‘बाटो कहाँबाट निर्माण गर्ने तथा जग्गा कसरी व्यवस्थापन गर्ने भन्ने जिम्मेवारी तपार्इंहरुको र बजेट व्यवस्थापन गरिदिने जिम्मा मेरो हो ।’
 
एकमतका साथ तपाईंहरु आउनुभयो भने बाटो र जग्गाका लागि बजेटको कमी हुन दिन्न–महराले भने । आफ्नै पैतृक सम्पत्तिबाट महराले पोलिटेक्निकका लागि ३२ रोपनी जग्गा निःशुल्क दान गरेका थिए । सोही जग्गामा सरकारबाट अघिल्लो वर्ष चार करोड २४ लाख र चालु वर्ष थप १० करोड ६० लाख बजेट विनियोजन भएपछि भवन निर्माण कार्य भइरहेको पोलिटेक्निक सञ्चालक समितिका अध्यक्ष हरिबहादुर मल्लले जानकारी दिए । 
 
पहिलो वर्ष प्राप्त बजेटबाट कक्षाकोठा, ब्लक, ल्याब ब्लक, प्रशासनिक भवन, प्रिन्सिपल क्वार्टर, गार्ड हाउस, शौचालय, रिजरवायर टङ्कीसहित खानेपानी, तार, जाली र रिटेनिङ वाल निर्माण भएको र चालु आवको बजेटबाट बहुउद्देश्यीय प्राविधिक शिक्षालयका लागि क्यान्टिन, सिनियर स्टाप क्वार्टर, जुनियर स्टाफ क्वार्टर, भाइस प्रिन्सिपल क्वार्टर, ट्वाइलेट, गार्ड हाउस, एकेडमिक ब्लक, होस्टेल, एनिमल सिड, भेटेरिनरी क्लिनिक, जेनेरेटर हाउस निर्माण गर्न लागिएको अध्यक्ष मल्लले जानकारी दिए । 
 
अनुगमनमा अर्थसचिव शान्तराज सुवेदी, पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका सचिव वर्षमान पुन, माओवादी नेत्री जयपुरी घर्ती लगायत सहभागि थिए । स्थानीयवासीले सो पोलिटेक्निकमा यस वर्षदेखि कक्षा आरम्भ गर्न सिटिभिटीलाई आग्रह गरेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ