काठमाडौं । एशियाली फुटबल महासंघ एएफसीले मलेसियामा आउँदो कार्तिक १७ गतेदेखि हुने एएफसी सोलिडारिटी कप फुटबलको खेल तालिका सार्वजनिक गरेको छ ।
समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल कार्तिक २० गते टिमोर लिस्टेसँग खेल्ने भएको छ । नेपालले कात्तिक २३ गते ब्रुनाईसँग खेल्ने छ । नेपाल रहेका समूह ‘ए’ मा ब्रुनाई र टिमोर लिस्टे छन् । पाकिस्तान र बंगलादेशले भने नखेल्ने घोषणा गरेका छन् ।
उता, समूह ‘बी’मा श्रीलंका, मकाउ, मंगोलिया र लाओस छन् । समूह विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिताको फाइनल खेल कात्तिक ३० गते हुने छ । एएफसीले २०१८ को विश्वकप र २०१९ को एशिया कपबाट बाहिरिएका टोलिका लागि एएफसी सोलिडारिटी कप आयोजना गर्न लागेको हो ।
विश्वकप छनोटबाट बाहिरिएका एशियाली टोलीले लामो समयसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने देखिएपछि एएफसीले नयाँ प्रतियोगिताको रुपमा एएफसी सोलिडारिटी कप आयोजना गरेको हो । यो प्रतियोगितालाई खारेज भएको एएफसी च्यालेञ्जकपको विकल्पका रुपमा समेत लिने गरिन्छ ।
यो संगै नेपालले २०१७ अघि नै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने भएको छ । यो प्रतियोगिता नभएको भए नेपालले सन् २०१७ को १२औं साफ च्याम्पियनसिप अघि औपचारिक प्रतियोगिता खेल्ने कुनै कार्यक्रम थिएन ।