arrow

प्रशासन सुधार कार्यदलले प्रतिवेदन बुझायो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १४ बिहिबार
jail.jpg

कोशी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष प्रदेश सरकारले चार महिनाअघि गठन गरेको प्रशासन सुधार कार्यदलले एक समारोहका बीच बुधबार प्रतिवेदन बुझाएको छ ।
 
कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले कार्यदलले प्रतिवेदनमार्फत दिएका राय सुझावलाई आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । 

उनले कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने सवालमा प्रदेश सरकारका मन्त्री तथा सचिवको महत्त्वपूर्ण भूमिका हुने जानकारी गराउँदै प्रतिवेदनलाई राम्रोसँग अध्ययन गरेर कार्यान्वयनमा लैजान पनि मन्त्री तथा सचिवलाई निर्देशन गरे । 

मुख्यमन्त्री कार्कीले सङ्घीयताको महत्त्वपूर्ण हिस्साका रूपमा प्रदेश सरकार रहेको स्मरण गराउँदै प्रदेश सरकारले सकारात्मक काम गर्दा पनि जनस्तरबाट नकारात्मक टिप्पणी हुनु दुःखद् भएको बताए । 

उनले प्रदेश संरचनाप्रति जनस्तरबाट विभिन्न प्रश्न उठिरहेका बेला कार्यदलमार्फत आएका सुझावले त्यसको समाधान दिने विश्वास व्यक्त गरे । 

कोशी प्रदेश सरकारले चार महिनाअघि २०७९ माघ ६ गते पूर्वसचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको थियो । 

कार्यदलका अन्य सदस्यमा पूर्वप्रशासक बाबुराम पौडेल र मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालका शासकीय सुधार महाशाखाका सचिव रहेका थिए । 

कार्यदलले चार महिना लगाएर तयार पारेको दुई सय २८ पृष्ठ लामो प्रतिवेदनमा एक सय ५२ सुझाव रहेका छन् । 

कार्यदलले बुझाएको प्रतिवेदन बुधबार नै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेलाई कार्यान्वयनका लागि हस्तान्तरण गरेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ