arrow

बाईस वर्षमा जन्मस्थान, गाउँको विकास उथलपुथल

logo
तुलसी पन्थी, 
प्रकाशित २०८० असार १६ शनिबार
article-tulasi-panthi-2080-03-16.jpg

मेरो जन्म स्थान साविक भनभने गाउँ विकास समिति हाल मदाने गाउँ पालिका वडा नं ७ गुल्मीमा २०५८ सालदेखि जान पाएको थिइन । जाने इच्छा हुँदा हुँदै पनि आफ्नै कार्य ब्यस्तताले जान सकिएको थिएन । आफू जन्मे हुर्केर तीस बत्तीस वर्ष बिताएको ठाउँ कस्तो भए होला भन्ने लागिरहेको थियो ।
       
गत बैशाख २२ गते हाम्रो राँहिली सानिमाको चौरासी पूजा गर्ने कार्यक्रम भएकोले एक महिना पहिले नै सानिमाको छोरी बहिनी देवकलाले फोन गरेर आउन खबर गर्दा म जन्मस्थानमा जान उत्साहित भएँ । गत बैशाख १९ गते काठमाडौँबाट रात्रिबसमा बुटवल गई अर्घाखाँची सन्धिखर्क हुँदै २० गते बहिनी सुमित्राको घर अर्घा अँधेरी पुगेर बसियो । 

बहिनीसँग सल्लाह गरी त्यहाँबाट एउटा जिप बन्दोबस्त गरी दिदीलाई बामरुकबाट टिमुरे आउन खबर गरेँ । हाम्रो घरबारी किनेर बसोबास गरिरहेका निमबहादुर घर्तीलाई पनि हामी आउँदैछौँ भन्ने खबर गरियो । गाडीबाट पहिलो पटक जाने भएकाले बाटोको रुट थाहा नभए पनि पहिले पैदल हिँडेको बाटो हो अनुमानमा पनि गइन्छ भन्ने लागिरहेको थियो । 

२१ गते बिहान १०:३० बजे बहिनी र म जिप लिएर हिड्यौँ । टिमुरेमा दिदी पुगिसक्नु भएको थियो । दिदी बहिनीसँग गाडीमा पहिलो पटक रतनमारे लोहरी हुँदै हाडहाडे पुग्दा धुर्कोटको कोट भनभने र सेरोफेरो हेर्दा मन रमाइरहेको थियो । हाडहाडेबाट वडाचौर भनभने हुँदै १२:१५ बजे हामीहरु हामीले छाडेको निमबहादुर दाइको घर पुग्यौँ । घरको आगन मुनि गाडी रोकेर ठूल्दाइ सन्चै हुनुहुन्छ भन्दै घरमा गयौँ  । 

ठूल्दाइ र भाउजू हामी आउने खबरले घरमै हुनुहुन्थ्यो । हामी आएकोमा अत्यन्त खुशी हुनुभयो । ठूल्दाइ बाल्यकालदेखिकै अत्यन्त मिलनसार र सहयोगी हुनु भएकाले हामी पुराना कुराको संझना समसामयिक कुरा गरी गाउँमा बसोबास गर्ने सबैको हालखबर लियौँ । दुई घण्टा जति बसेर ठूल्दाइको घरमा खाजा खाएर दाइलाई लिएर मोटर बाटो घर हुनेहरुलाई बोलाई भेट गर्दै हामी सानिमाको घर पुग्दा सानिमा अत्यन्त खुशी हुनु भयो । 

सानिमाको घरमा पूजाको तयारीको लागि उपस्थित धेरै मानिसहरुस‌ँग भेट भयो । लामो समयपछि गएकाले नयाँपुस्तालाई हामीले चिन्न सकेनौँ र नयाँ पुस्ता र विवाह भई आएका बुहारीहरुले हामीलाई चिन्ने कुरै भएन । आपसमा परिचय आदान प्रदान गरियो । साँझसम्म टाढा टाढाबाट नातेदार दाजुभाइहरु आउने क्रम रहिरह्यो । 

दुःखद पक्ष त के भने पहिलेदेखि बिरामी रहेकी गहतेरा खिमानन्द दाइकी श्रीमती भाउजूको साँझ ७ बजे निधन भएकाले सानिमाको चौरासी पूजा रोकियो । जुन कामको लागि गएका थियौँ सो नहुने भएकाले हामी निराश भयौँ । अर्को दिन दिदीबहिनीहरु सन्धिखर्क जाने गाडीबाट फर्कनु भयो ।
      
२२ गते भाउजूको दाहसंस्कार गर्न म पनि घाट गएँ । घाटमा गाउँघरका धेरै मानिसहरुसँग भेट भयो । समकालीन साथीभाइहरुले लामो समयसम्म गाउँ नफर्केकोमा गुनासो गर्दा मलाई पनि समय समयमा आउनु पर्दो रहेछ भन्ने महसुस भयो । पछिल्लो पुस्तासँग चिनजान गरे पनि मसँग खासै कुरा भएन ।
       
पहिले पहिले तम्घास र सन्धिखर्कबाट पैदल हिँडी ६–७ घण्टामा पुगिने गाउँमा अहिले तम्घास सन्धिखर्क र प्यूठानबाट नियमित सार्वजनिक यातायातको सुबिधा रहेछ । काठमाडौँबाट रात्रिबस बिहान पुर्कोट दह पुग्दो रहेछ । तम्घास–बर्बोट–भनभने–अग्लुङ सडक र तम्घास– खाक्सेपानी–नयाँगाउँ–नादी–सुरेटारी–पुर्कोटदह कृषि सडकको रुपमा बन्दै गरेको देखियो । 

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट हाडहाडे हुँदै भनभनेसम्म नियमित जिप चल्ने रहेछ । बनेका सडकहरु कच्ची भएकाले वर्षातको समयमा पहिरोले गर्दा खहरेले धेरै क्षति पुराएको देखियो । मोटर बाटो बनाउँदा धनहर खेत र उब्जाउ बारीबाट बाटो बनेकाले कृषि उत्पादनमा क्षति भएको देखियो । मोटर बाटोको आवश्यकता भन्दा ब्यक्तिको चाहनाअनुसार डोजरे विकास गर्दा मसुरेखर्कबाट लामकाने घाटसम्म खनेको बाटो वर्षामा गएको पहिरोले लामकानेको सय मुरी भन्दा बढी धान फल्ने खेत बगरमा परिणत भएछ ।

पहिले मट्टीतेलको टुकी र दियालो बालेर निर्वाह गर्नु पर्ने अवस्थाबाट गाउँमा अहिले बिजुलीले झलमल्ल देखियो । प्रायः सबै घरमा खानेपानीको सुबिधा पुगेको छ । संचारको माध्यम सबैका खल्तीमा मोबाइल रहेको छ । शिक्षाको लागि श्री दीपक माध्यमिक विद्यालय भनभनेमा १२ कक्षासम्म पढाइ हुन्छ । स्वास्थ्य चौकी गाउँमै भएकोले प्राथमिक उपचार गाउँमै उपलब्ध छ । 

ईमरजेन्सी पर्दा गाउँ पालिकामा फोन गर्दा एम्बुलेन्स सेवा पनि उपलब्ध रहेछ । यी सबै सुबिधा उपलब्ध हुँदा पनि गाउँ सुनसान देखियो । पहिले जस्तो दुहुना भैँसी र हल गोरू पाल्ने मानिस गाउँमा बिरलै रहेछन् । गाउँमा पहिले जस्तो संयुक्त परिवार देखिँदैन । घरमा बूढा बूढी साना बच्चा स्थानीय विद्यालयमा अध्यापन गर्ने शिक्षक छन् । 

काम गर्ने उमेरका जनशक्ति पढाइ र रोजगारीको लागि शहरमा र विदेश जाँदा गाउँका खेतीयोग्य खेत बारी बाँझै देखिन्छन् । स्थानीय मानिसहरुसँग सोधपुछ गर्दा कृषिमा लगानी अनुसार उत्पादन हुँदैन कृषिमा लगानी गर्ने पैसाले खाद्य सामग्री गाडीले घरमै पुराइदिन्छ भन्ने जवाफ पाइयो । 

पहिले जस्तो पशु पालन नभएकोले जंगल बढ्दा बाँदर, दुम्सी, बनेल र हरिण जस्ता जंगली जनावरहरु पनि वृद्दि भई कृषि बाली नोक्सान गर्दा रहेछन् । मोटर बाटोले गर्दा पहिलेका मूलबाटाहरु हराएछन् । वल्लो गाउँबाट पल्लो गाउँ जाने बाटाहरु छैनन् । वनमा चराउन लैजाने गाई भैँसी र बाख्रा नहुँदा खुला चौरहरु बुट्यान र वनमाराले ढाकेर त्यही ठाउँ हो होइन जस्तो देखियो । 

पुराना पानीका पँधेराहरुको निसान भेटाउन मुस्किल देखियो । पुराना पिपल र चौतारीहरु उजाड भएछन् । गाउँका यी परिवर्तनले यो मेरै जन्म स्थान त हो ? जस्तो मलाई लाग्यो ।

शिक्षातर्फ विद्यालयहरुको अवस्थाको जानकारी लिँदा विद्यार्थी कम भएर वडाचौरको श्री गायत्री प्रावी र दीपक मावी मर्ज भएछ । दीपक मावी मैले आठ कक्षासम्म अध्ययन गरेको भनभनेको जेठो शैक्षिक संस्था हो । २०४८ सालमा म जिल्ला शिक्षा कार्यालय गुल्मीमा कार्यरत रहँदा मेरोसमेत सक्रियतामा मावी संचालनको स्वीकृति पाई हाल १२ कक्षासम्म संचालनमा रहेको दीपक मावीको बारेमा शिक्षकहरूसँग सोधपुछ गर्दा हाल १२ कक्षासम्म जम्मा १४५ विद्यार्थीहरू रहेका रहेछन् ।

किन विद्यार्थी कम भए भन्दा शिक्षकहरुले आफ्ना छोरा छोरीहरु बाहिर पढाउने र गाउँमा पढ्ने उमेरका केटाकेटीहरू पनि कम भएको तथा अन्य छिमेकी गाउँहरूमा पनि मावी स‌ंचालनमा रहेकाले बाहिरबाट पहिले पहिले जसरी विद्यार्थी नआउने रहेछन् । विद्यालयको सम्पत्ति भनेकै विद्यार्थीहरू भएकोले विद्यार्थी कम हुँदै जाँदा विद्यालयको भविश्य के हुने हो भन्ने लाग्यो ।
      
हामी गाउँमा बस्दाको अबस्था र अहिलेको अवस्था हेर्दा धेरै विकास भई परिवर्तन भएको देखियो । देशको सबै क्षेत्र कुना काप्चामा विकास हुनु स्वागत योग्य हो । विकास गर्दैजाँदा त्यहाँका बासिन्दा त्यसबाट लाभान्वित हुनु पर्ने हुन्छ ।

खासगरी स्थानीय कृषि उत्पादनमा वृद्दि र युवाहरूलाई रोजगारीको ब्यवस्था गरेमा मात्र गाउँको विकासको अर्थ हुनेछ । विकासको नाममा डोजरले पहाड भत्काई धनहर खेत र बारीलाई बगर बनाउने काम बन्द गर्नु पर्दछ । जननि जन्मभूमिश्च स्वर्गादपि गरियसि ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ