arrow

बहुचर्चित फाल्गुनन्द सडकको विस्तृत सर्भेक्षण प्रतिवेदन (डिपिआर) तयार

logo
प्रकाशित २०७२ मंसिर २४ बिहिबार
Phalgunanda-marga.jpg.jpeg
इलाम। बहुचर्चित फाल्गुनन्द सडकको २५ वर्षपछि विस्तृत सर्भेक्षण प्रतिवेदन (डिपिआर) तयार भएको छ । सतचालीस किलोमिटर दूरीको सडकखण्डमध्ये झापा दमकदेखि इलामको बाँझोस्थित चिसोपानीसम्मको ३५ किलोमिटर सडकको डिपिआर तयार भएको छ । पूर्वाञ्चल सडक डिभिजन कार्यालय, झापाका डिभिजन प्रमुख रामहरि पोखरेलका अनुसार उपभोक्ता तहबाट ट्र्याक खन्न सुरु भएर विस्तार हुँदै आएको फाल्गुनन्द सडकको विकासका लागि सबै क्षेत्रको सहयोग र चासो नरहँदा डिपिआर निर्माण कार्य ढिलो भएको हो । 
 
“वातावरण प्रभाव मूल्याङ्कनको काम अझै बाँकी छ” उहाँले भन्नुभयो । डिपिआरमा सडक स्तरोन्नतिका लागि रु एक अर्ब १७ करोड खर्च हुनेछ । नौ मिटर चौडाइमध्ये पाँच मिटरमा गाडीहरु गुड्ने छन् भने बाँकी नालीको भाग हुने छ । “नियमित रूपमा बजेट विनियोजन भए पाँच वर्षभित्र स्तरोन्नतिको काम सम्पन्न हुनेछ” पोखरेलले भन्नुभयो । गत वर्ष फाल्गुनन्द सडक निर्माणमा सरकारले विनियोजन गरेको रु आठ करोडमध्ये रु दुई लाख ८१ हजारमात्र खर्च भएको छ । न्यूनतम अङ्कमा ठेक्का लाग्नु, ठेकेदारको लापर्बाहीलगायतका कारणले काम हुन नसकेको दमक–चिसापानी–रवि सडक उपभोक्ता समितिका सदस्य केन्द्र प्रसाईंको भनाइ छ । 
 
चालु आवदेखि फाल्गुनन्द सडकलाई बहुवर्षे ठेक्का लगाउन मिल्ने गरी बजेट विनियोजन भएकाले निर्माण कार्य दु्रत गतिमा अघि बढ्ने सडक डिभिजन कार्यालयले जनाएको छ । उक्त सडक मेची पहाडलाई तराईसँग जोड्ने छोटो दूरीको सडक हो । विसं २०४८ देखि इलाम, पाँचथर र झापाका बासिन्दाको सक्रियता र पहलमा ट्र्याक खोल्न सुरु गरी यो अवस्थामा ल्याइएको उक्त सडक किरात धर्मगुरु आत्मानन्द लिङ्देनको आश्रम रहेको बाँझोको लारुम्बालाई समेत जोड्ने विश्वास गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ