काठमाडौं । अख्तियार दुरुपयो अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएको सर्वोच्च अदालतको टोली फेरि त्यसै फर्किएको छ ।
सर्वोच्चका कर्मचारीलाई त्यहाँ रहेका युवाको समूहले म्याद टाँस्न दिएन । सोमबार कार्कीको मध्य बानेश्वरस्थित घरमा म्याद टाँस्न गएका सर्वोच्च अदालतका दुई तामेलदार म्याद नटाँसी फर्किएका हुन् ।
दशैँको घटस्थापना पछि सर्वोच्चको टोली दुई पटक म्याद टाँस्न कार्कीको घर पुगेपनि म्याद बुझाउन सकेन । त्यो प्रयासको पहिलो दिन वडा सचिव सम्पर्कमा आइनन् भने । दोस्रो दिन म्यादको कागजात बोकेका तामेलदार नै हराए । यसरी समय लम्बिँदै जाँदा अख्तिरयार प्रमुख कार्कीले विदेशमै रहेर भ्रमणको थप समय स्वीकृत गराइसकेका छन् ।
सोमबार आफूलाई सामसङ कम्पनीको कर्मचारी बताउने समूहले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न रोकेको हो । सामसङ कम्पनीको कर्मचारी बताउने युवा र तन्नेरी समूहले म्याद टास्न रोके ।
उनीहरुले आफूहरुले घर भाडामा लिएको बताउँदै म्याद टाँस्न नपाइने भने । अघिल्लो पटक भने त्यँही रहेका युवाले निन्याउरो अनुहारमा आफुहरुलाई केही थाहा नभएको बताएका थिए । सोमबार तिनै युवा कड्किए । केहीबेर वाद विवाद गरेपछि तामेलदारको टोली म्याद टाँस्न नसकी फर्कियो । म्याद टाँस्न नपाएपछि टोलीले सर्वोच्च प्रशासनमा सम्पर्क गरेको प्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।
म्याद टास्न जानुअघि सर्वोच्चको टोली महानगरको वडा कार्यालय पुगेको थियो । साक्षीका लागि बानेश्वर आउने बताएकी वडा सचिव सरिता राईले समेत अन्तिम समयमा आउन नसक्ने भन्दै पञ्छिइन् । अघिल्लो पकटक वडा कार्यालयका कर्मचारीले आफुहरुलाई महानगर प्रमुखले नजानु भनेको भनेका थिए ।
म्याद बुझाँउदा गाविस वा नगरको वडा सचिवको रोहभर रहनु पर्ने कानूनी प्रावधानकै कारण महानगरका कर्मचारीबाट समेत सर्वोच्च टोलीलाई धोका भएको छ ।
कार्कीको नियुक्तिसम्बन्धि मुद्दामा बहसका लागि बोलाउँदा आउन अस्वीकार गरेका कारण बेञ्चकै आदेश अनुसार घरैमा म्याद टाँस्ने पटक–पटकको प्रयास विफल भएको छ । कार्कीको परिवार अख्तियारको आवासगृहमा बस्दै आएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त हुन कार्कीको वैधानिकता नपुगेको भन्दै अदालतमा दर्ता भएको पुरानो मुद्दाको पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि कार्कीलाई अदालतमा उपस्थित हुन भनिएको थियो ।
अधिवक्ता ओममप्रकाश अर्यालले दर्ता गरेको रिट सर्वोच्च अदालतले पहिले खारेज गरेको थियो । एक महिनाअघि प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलाशले लोकमानको मुद्दा पुनरावलोकन गर्ने निष्कर्ष निकालेपछि सोही अनुसार आदेश भएको थियो ।
पुनरावलोकनको निर्णय आएलगत्तै अख्तियार प्रमुख कार्की क्यानाडा गएका थिए । सरकारी भ्रमण सकिएपछि विदा लिएर पछिल्लो एक महिनादेखि क्यानडामै छन् । भारत पुगिसकेका कार्की फेरि भ्रमणको थप अवधि स्वीकृत गराई उतै हराएका छन् ।